Friday , July 28 2017

भ्रष्ट्राचारको पैसा कहाँ लुकाउने ? अब स्रोत नखुल्ने पैसा ‘बैंकले लिँदैन’    

July 15, 2017

चारपी पौडेल र अजय पंज्ञेनी / बैंकिङ खबर, सम्पत्ति सुद्धिकरणमा नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको छ । नयाँ आर्थिक बर्षसँगै बैंकिङ कारोबारमा कडा नीति कार्यान्वयन गर्दै राष्ट्र बैंक थप कडा भएको हो । सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचापिरक माध्यममा ल्याउने घोषणा नयाँ बजेटमा पनि गरेको थियो । सोही अनुसार नेपाल राष्ट्र बैंकले बैंकसम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार बैंकले खाता खोल्न अघि र खाता खोलीसकेपछि अब आफ्ना ग्राहकको पहिचान हुबहु राख्नुपर्ने छ । त्यससँगै सरकारी उच्च अधिकारीको बैंक खातामा कडाई गरिएको छ भने पैसाको स्रोत खुलाउनुपर्ने छ । उच्च पदाधिकारीले पैसा लुकाउने कार्य बढेका कारण उनीहरुको बेंकखातामा कडाई गरिएको हो । सम्पत्ति सुद्धिकरण सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यबस्था लागु गर्न बैंकहरुलाई निर्देशन दिएको छ । यस्तो कार्य नयाँ आर्थिक बर्षबाटै सुरु हुने छ । यस सम्बन्धिको यो नयाँ निर्देशिकासँगै यसबारेका अन्य पुराना निर्देशिकाहरु खारेजीमा परेका छन् ।

पैसाको स्रोत अनिवार्य खुलाइनुपर्ने 
कुनै ग्राहकले एकै दिनमा पटक पटक गरेर १० लाख रुपैयाँको कारोबार गरेमा त्यसको जानकारी राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइमा गराउन समेत बैंकहरुलाई निर्देशन छ । १० लाख रुपैयाँ वा सो भन्दा बढीको रकम जम्मा गर्दा सो को स्रोत अनिवार्य खुलाउनुपर्ने छ । त्यस्तो रकमको स्रोत खुल्न नसकेमा १० लाख रुपैयाँ देखि अपराधको गम्भिरताका आधारमा ५ करोडसम्म जरिवाना गरिने छ। नयाँ ब्यवस्था अनुसार बैंकहरुले उच्च पदस्थ ब्यक्तिको पहिचानमा कडाई गर्नुपर्ने भएको छ । बैंकहरुले उच्च पदस्थ व्यक्तिको पदीय हैसियत लगायतका कागजपत्र समेत पेश गर्नुपर्ने छ । यसबारेको व्यावसायिक तथ्यांकहरु पनि संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले अव ग्राहकको रेटिङ गर्ने छन् । जसअनुसार को व्यक्ति कस्तो हो भन्ने कुरा खुल्ने छ । भ्रष्ट्राचार, कर छलीलगायतका अपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेको मुलुकका रुपमा नेपाल भएकाले यस्तो गर्नुपरेको हो । पराधिक कार्यमा उच्च जोखिम भएका मुलुकहरुमा ग्राहकको रेटिङ गरिने गर्दछ । 

१० लाख माथिको रकम चेकमार्फत अनिवार्य 
साउन १ गतेदेखि एकैपटकमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नुपरेमा अनिवार्य रुपमा बैंकको प्रयोग गर्नुपर्ने व्यवस्था छ । । जसअनुसार, कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्नस वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्नस वित्तीय संस्थाहरुबीचमा नगद कारोबार गर्न तथा कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन बैंक तथा वित्तीय संख्था अथवा बैंकिङ उपकरण अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ ।

सम्पत्ति सुद्धिकरण के हो ? 
विभिन्न गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोवारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । 
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था वित्तीय कारवाही कार्यदल ९फाइनान्सियल एक्सन टास्कफोर्स, एफ।ए।टी।एफ।० ले सम्पत्ति शुद्धीकरणलाई अपराध जस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ । मतलब, गैरकानूनी वा आपराधिक धन्दाबाट प्राप्त आयलाई कानूनसम्मत सम्पत्तिमा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ति शुद्धीकरण हो । कुनै पनि व्यक्तिले गैरकानूनी आयलाई सम्पत्तिमा रुपान्तरण गरी सम्भाव्य कारबाहीबाट बच्न र त्यस्तो सम्पत्ति शुद्ध बनाई सोको मालिक बन्न गरिने प्रयासलाई नै अर्को शब्दमा सम्पत्ति शुद्धीकरण भनिन्छ । समग्रमा भन्नुपर्दा, गैर कानूनी एवं आपराधिक कार्यबाट कमाएको आयलाई समयको अन्तरालमा वैध सम्पत्ति वा “सेतो धन” मा रुपान्तरण गरी कानूनी एवं वैधानिक वनाई समाजमा सभ्य नागरिकको रुपमा स्थापित हुने प्रयास नै सम्पत्ति शुद्धीकरण हो ।
विश्वव्यापी क्रियालापलाई हेर्दा निम्न कुराहरुलाई सम्पत्ति शुद्धिकरणको स्रोत मान्न सकिन्छ । 

हेर्नुस् अबैधानिक सम्पत्तिका स्रोतहरु  :

  • आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,
  • लागू औषध कारोवार,
  • भ्रष्टाचार,
  • अवैध हातहतियारको कारोवार,
  • मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,
  • सीमा तस्करी,
  • चिठ्ठा ठगी,
  • माफिया सञ्चालन,
  • हुण्डी व्यापार,
  • क्यासिनो,
  • अपहरण र फिरौती,
  • चोरी र डकैति (पाइरेसी),
  • राजश्व छली
  • कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य ।
  • अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।
     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *