July 13th, 2017

ठुला आयोजना सम्पन्न गर्न आधुनिक उपकरण भित्रिँदै

अजय पंगेनी, बैंकिङ खबर । नेपालमा पहिलो पटक सुरुङ मार्ग निर्माण गर्ने उपकरणहरु भित्राइने भएको छ । सुरुङ खन्ने उपकरण टनेल बोरिङ मेसिन आगामी साउन महिनाभित्र नेपाल भित्राइने भएको हो । नेपाल भित्राउनका लागि टीबीएम मेसिन आजभन्दा करिब एक महिनाअघि नै चीनबाट हिडिसकेको सिँचाइ मन्त्रालयले जनाएको छ । सिँचाई मन्त्रालयले दिएको जानकारी अनुसार असार १३ गते चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको उक्त मेसिन असार ३१ गतेसम्ममा कोलकाता बन्दरगाह आइपुग्ने छ । कोलकत्ता बन्दगाहबाट स्थलमार्ग हुँदै साउन दोस्रो साता भित्रमा नेपाल आउने छ । 

मेसिन श्रावण दोस्रो साताभित्र नेपाल आइपुग्ने भए पनि असोजदेखि मात्रै टीबीएम मेसिनको प्रयोग गरिनेछ । मेसिन ल्याइसकेपछि जडान गर्नका लागि केहि समय लाग्ने हुँदा असोजबाट मेसिनले सुरुङ खन्ने काम गर्नेछ । टिबिएम जडान गर्न दुई सय ५० मिटर सुरुङ भने जनशक्ति प्रयोगबाटै तयार गर्नुपर्ने छ । र त्यो टिबिएम जडान गर्न दुई सय ५० मिटर सुरुङमध्ये एक सय ५० मिटर भने अहिलेसम्म सरकारले तयार गरिसकेको छ । 

विद्युत उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालमै नमुना हुने विज्ञहरुले बताएका छन् । तराईको ८० हजार बिघा जमिनमा किसानलाई चाहिएको बेला सिँचाइका लागि पानीको सुविधा उपलब्ध गराउने आयोजना नेपालका लागि नमूना हुने धेरैको विश्वास छ । करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा हालसम्म एक अर्ब २५ करोड रुपैयाँ जति खर्च भइसकेको छ । भेरी बबई डाइभर्सनमा १२ किलोमिटर सुरुङ खन्नमात्र करिब साढे १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त आयोजनाका लागि सुरुङ खन्नु नै सर्वाधिक जटिल र महँगो मानिएको छ ।

भेरी बबई आयोजना निर्माणमा टिबिएम
राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाइएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम)को प्रयोग गरिने भएको छ । सिँचाइ र जलविद्युत् उत्पादन कार्य सँगसँगै निर्माण गरिने नेपालको एकमात्र यस बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर लामो सुरुङ अत्याधुनिक टनेल बोरिङ मेसिनबाट निर्माण गर्ने तयारी आयोजनाले गरेको छ । 

मेलम्ची आयोजनापछिको दोस्रो लामो सुरुङ रहने यस आयोजनाको सुरुङ निर्माणमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबाट प्रतिमहिना चार सय ५० मिटर सुरुङ खन्न सकिन्छ । अहिले नेपालमा प्रचलित ड्रिल एन्ड ब्लास्ट प्रविधि (सुरुङमा प्वाल पारी विस्फोट गर्ने)बाट दैनिक एकदेखि डेढ मिटरमात्र सुरुङ निर्माण गर्न सकिन्छ ।
आगामी भदौबाट निर्माण कार्य सुरु हुने यस आयोजनामा नेपाल सरकारको १६ अर्ब रुपैयाँ लगानी हुने र सुरुङ निर्माणका लागि मात्र १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाले चुरे क्षेत्रमा निर्माण गरिने १२ किमि लामो सुरुङमार्फत भेरी नदीको पानी प्रतिसेकेन्ड ४० हजार लिटरका दरले बबई नदीमा खसाल्ने र त्यसबाट सिँचाइका साथै नियमित रूपमा ४८ मेगावाट विद्युतसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सुरुङ निर्माणका क्रममा उपलब्ध हुने बाँधको हेडको सदुपयोग गर्दै ४८ मेगावाट विद्युत्समेत उत्पादन हुने हुँदा यो आयोजनाको निर्माणले कृषि उत्पादनमा वृद्धिका साथै विद्युत् भार कटौती कम गर्न मद्दत गर्ने आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । आयोजनाले तत्काल १८ हजार ५०० हेक्टर र दीर्घकालीन रूपमा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध गराउने लक्ष्य राखेको छ । टिबिएम सफल भए तोकेकै अवधिमा आयोजनाको लक्षित काम सकिने बताइएको छ । मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ मा उक्त आयोजना सक्ने लक्ष्य लिएको  छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]