July 6th, 2017

विदेशी लगानीकर्तालाई उपराष्ट्रपतिको आह्वान : नेपालमा लगानी गरेर मुनाफा लैजानुहोस्

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान आह्वान गरे। 

नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण, दीर्घकालीन सहयोग आदानप्रदानबाट आर्थिक रुपान्तरणका लागि प्राकृतिक स्रोतको उपयोग गर्ने एक अवसरका रुपमा बिआरआईलाई लिइएको उनले स्पष्ट पारे। 

उपराष्ट्रपति पुनले सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेकामा चिनियाँ सरकारलाई धन्यवाद दिए। उनले यो अभियानलाई सफल बनाउन चिनियाँ जनतालाई नेपाल भ्रमणमा जान उत्प्रेरणा दिन पनि चिनियाँ सरकारसँग आग्रह गरे। 

सबै साझेदारहरुको एकीकृत प्रयासबाट बिआरआईका सम्भाव्यताहरुलाई मूर्त रुप दिन नेपाल प्रतिबद्ध रहेको विश्वास पनि उनले दिलाए। आज बिहान गान्सु अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा उपराष्ट्रपति पुनले गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङसँगै नेपाल कक्षको उद्घाटन गरेका बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। व्यापार मेलामा १३ नेपाली व्यापारिक कम्पनीले १६ वटा बिक्री कक्ष सञ्चालन गरेका छन्। मेलामा ३६ राष्ट्र र दुई अन्तरसरकारी सङ्गठनले भाग लिइरहेका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]