July 6th, 2017

बैंक खाता : आबश्यकता र महत्व

नरबहादुर थापा । नेपालमा अहिले वित्तीय समावेशीताको मुद्धा चलिरहेको छ । राजनीतिक हिसाबले मूलुकमा विभिन्न आन्दोलनहरु भए । देशमा भएका आन्दोलनहरुमा सामाजिक समावेशिताका मुद्धाहरु धेरै उठे र राजनीतिक आन्दोलनले सामाजिक समावेशीताका मुद्धा सुनुवाई भएको छ । नेपालको संविधान २०७२ ले समानुपातिक व्यवस्था गरेको छ । तर यहि वित्तीय समावेशीताको मुद्धा अझै हल हुन नसकेको हो की भन्ने छ ।

वित्तीय समावेशीताको विस्तार
नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालका ४० प्रतिशत जनतामा मात्र वित्तीय पहूँच पुगेको देखाएको छ । सहकारी संस्थाहरुलाई जोड्ने हो भने ६१ प्रतिशत हुन आउने रहेछ । त्यसैले अझै पनि जुन वित्तीय समावेशीताको मुद्धा छ त्यो समाधान भएको छैन । वित्तीय समावेशीतालाई हामीले विस्तार गर्न सकिरहेका छैनौं । वित्तीय समावेशीताको मुद्धालाई समेट्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले ४ वटा कुराहरु अघि सारेको छ ।

नेपालको संविधानले जुन ३ खम्बे अर्थनीति लागू गरेको छ । ३ खम्बे अर्थनीतिमा सरकारी क्षेत्र, सहकारी क्षेत्र र निजी क्षेत्रहरु पर्छन् ।
सहकारी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा सरकारले लिएको छ यसको मूख्य उद्देश्य भनेको वित्तीय समावेशीताको मुद्धालाई सम्बोधन गर्ने नै हो । अर्को, बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गरेर गाउँ गाउँमा पठाउने कामहरु गरिरहेका छौं । वित्तीय संस्थाहरु मार्फत सहुलियत कर्जा कार्यक्रम नेपाल सरकार, नेपाल राष्ट्र बैंकले गरिरहेको छ । चौथो उपायको रुपमा हामीले अवलम्बन गरेको भनेको वित्तीय चेतनाको कार्यक्रम हो, वित्तीय जागरणको कार्यक्रम हो । अहिले नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेशनलको आयोजनामा वित्तीय साक्षरता राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । यो अभियान नै वित्तीय चेतनाको उपाय हो ।

वित्तीय समावेशीताको मुद्धालाई सम्बोधन गर्ने दुई वटा उपाय प्रमुख रुपमा रहेका छन् । एउटा वित्तीय सेवाको पहूँच, वित्तीय सेवाको आपुर्ति विस्तार गर्ने अर्को वित्तीय सेवाको माग बढाउने । नेपाल राष्ट्र बैंक, नेपाल सरकारले वित्तीय पहुँच विस्तारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वित्तीय साक्षरतामा जोड
बैंकको उपस्थितीले मात्रै वित्तीय समावेशीता हुँदैन । यसका लागि सर्वसाधारणले वित्तीय सेवाको माग गर्नुपर्छ । यो वित्तीय सेवाको माग बढाउनका लागि नेपाल राष्ट्र बैंकले वित्तीय चेतना कार्यक्रम विगत ३÷४ बर्षदेखि निरन्तर रुपमा गर्दै आएको छ । अहिले मिडिया इन्टरनेशनलले देशका विभिन्न ठाउँहरुमा गर्दै आएको वित्तीय साक्षरता अभियान पनि यसैको श्रृंखला हो । राष्ट्र बैंकले यस्ता कार्यक्रम आफैँ पनि गर्छ र अन्य संस्थाहरुसँग मिलेर पनि गरिरहेको छ । वित्तीय साक्षरताको कुरा गर्दा नेपालको वित्तीय प्रणाली कस्तो छ ? बैंक तथा वित्तीय संस्थाको अवस्था कस्तो छ ? आदिबारे पनि जानकार हुनु सबैका लागि आवश्यक छ । अहिले नेपालमा २८ वटा वाणिज्य बैंक छन् । विकास बैंकको संख्या ५२ वटा छ । वित्त कम्पनीको संख्या ३७ वटा छ भने लघुवित्तहरुको संख्या ५० वटा छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाको संख्या १६३ वटा रहेको छ । यिनीहरुको शाखा संख्या अहिले चार हजार आठ सय चौविस रहेको छ । अहिले बीमा कम्पनीहरु २७ वटा छन् । सेयर कारोबार गर्ने बिभिन्न धितोपत्र दलाल तथा कर्मचारी सञ्चय कोष लगायतका पनि छन् । नेपालमा अहिले ३४ हजार जति सहकारीहरुले पनि सेवा दिइरहेका छन् ।

बैंकिङ इतिहास
नेपालको बैंकिङ इतिहासको कुरा गर्दा मूलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेड हो । बि.स. १९९४ कार्तिक ३ गते नेपाल बैंक लिमिटेडको स्थापना भएको हो । त्यसपछि बि.सं. २०१३ सालमा केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । त्यसपछि नेपाल सरकारले नेपाल औद्योगिक विकास निगम २०१३ सालमा, राष्ट्रिय वाणिज्य बैंक बि.सं. २०२२ सालमा र कृषि विकास बैंक २०२४ सालमा स्थापना गर्यो । त्यसपछि नेपाली र विदेशीको संयुक्त लगानीमा प्राइभेट सेक्टरको पहिलो बैंकको रुपमा नविल बैंकको स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न खुला गरेपछि थुप्रै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएका थिए । ठूलो संख्यामा भएका बैंक तथा वित्तीय संस्थाहरु अहिले मर्जरका कारण घटेका छन् ।

नेपाल राष्ट्र बैंकको बारेमा
नेपाल राष्ट्र बैंक मूलुकको केन्द्रीय बैंक हो । यसको स्थापना २०१३ साल बैसाख १४ गते स्थापना भएको थियो । यसले मूलुकका विभिन्न महत्वपूर्ण कार्यहरु गर्छ । मुद्रा निष्कासन गर्ने, छाप्ने र चलनचल्ती ल्याउने काम गर्छ । यसले नेपाल सरकारको बैंकको रुपमा काम गर्छ । यसले बैंकहरुको पनि बैंकको रुपमा काम गर्छ । यसले मौद्रिक नीति तर्जुमा गर्छ । यसले नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिका पनि निर्वाह गर्छ । यसले बैंक तथा वित्तीय संस्थाको निरिक्षण र सुपरिवेक्षण पनि गर्छ । यसले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम ऋण दाताको सुविधा पनि दिन्छ । यहाँ महत्वपूर्ण कुरा के छ भने, नेपाल राष्ट्र बैंकले सर्वसाधारण जनतासँग प्रत्यक्ष रुपमा काम गर्दैन । यसले अप्रत्यक्ष रुपमा मात्रै काम गर्छ । यदि तपाईहरुसँग पैसा छ भने राष्ट्र बैंकमा खाता खोल्न पाउनुहुन्न । तपाईहरुलाई राष्ट्र बैंकले ऋण दिँदैन । यसले बैंक तथा वित्तीय संस्था मार्फत सर्वसाधारणलाई सुविधा दिन्छ । बैंकहरुमा पैसा अभाव छ भने राष्ट्र बैंकले व्यवस्था गर्छ । यदि कुनै बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई विभिन्न कारणबाट सेवा दिएन भने राष्ट्र बैंकले हस्तक्षेप गर्ने, सेवा दिन लगाउने जस्ता कार्य गर्छ । उच्च आर्थिक बृद्धि कसरी गर्न सकिन्छ, के कस्ता कार्यक्र ल्याउनुपर्छ लगायतका बिषयमा यसले नीतिगत व्यवस्था गरेर सर्वसाधारणको जीवनस्तर उकास्ने काम गर्छ ।

बैंक खाता र यसको आवश्यकता
बैंकहरुबारे कुरा गर्दा बैंकमा कसरी खाता खोल्ने लगायतका कुराहरु महत्वपूर्ण छन् । हामी सबैको बैंकमा खाता हुनु जरुरी छ । किन भन्दा हामी जो कमाइ गर्छौ, त्यो कमाएको पैसा घरमा नै राख्दा आगलागी, चोरी, डकैती तथा पैसा हुँदा अनावश्यक कुरामा खर्च हुन सक्छ । अनुत्पादक क्षेत्रमा बढी खर्च हुने हुन्छ । यसर्थ हामीले बैंकमा खाता खोलेर बैंकमै रकम जम्मा गर्नुपर्दछ । खाता खोल्नका लागि नागरिकताको प्रमाण पत्र, फोटो तथा तीन पुस्ते विवरण भर्नुपर्छ । खाता जम्मा तीन प्रकारका हुन्छन् । बचत खाता, चल्ती खाता र मुद्धति खाता । पैसा कमाउनका लागि तपाई हामीले आम्दानी बढाउने र फजुल खर्च कम गर्ने गर्नु पर्छ । फजुल खर्च कटौति गर्ने र आफ्नो आय बढाउने हो भने घर परिवार पाल्न समस्या सृजना हुँदैन । तपाई हामीले ऋण लिने हो भने बैंकमा नै जानुपर्छ । साहू महाजनबाट ऋण लिने हो घने घरबार विहिन हुनुपर्ने अवस्था आउन सक्छ । यदि तपाईले साहूमहाजनबाट कर्जा लिनु भएको छ भने उसले तपाईको घर–घँडेरी, खेतबारी तथा तपाईको सम्पतिमा आँखा लगाइरहेको हुन्छ । फजुल खर्च घटाएर बचत गर्ने हो भने तपाईको भविष्य उज्वल हुन्छ । कमाएको पैसा सेयरमा लगानी गर्न पनि सकिन्छ । नेपालको शेयर बजार हेर्ने धितोपत्र बोर्ड छ । त्यसको म पनि सदस्य छु । जलविद्युत् कम्पनी तथा अन्य बिभिन्न कम्पनी तथा बैंक वित्तीय संस्थाको पनि शेयर निष्कासन हुन्छ । शेयरमा तपाईहरुले पनि लगानी गर्न सक्नु हुन्छ ।

नेपालमा विप्रेषण
एक ठाउँबाट अर्को ठाउँमा आधिकारिक रुपमा मान्यता प्राप्त कम्पनीबाट रकम पठाउनु नै बिप्रेषण हो । हामीले मुलुक भित्र होस या बाहिरबाट रकम पठाउँदा आधिकारिक रेमिट्यान्स कम्पनी मार्फत रकम पठाउनु पर्छ । यसका लागि बैधानिक वा अवैधानिक भन्ने बिषयबारे पनि जानकार हुनु आवश्यक छ । तपाई हामी मध्ये धेरैले हुण्डी र रेमिट्यान्सबारे जानकारी पाउन सकेका छैनौँ । हुण्डीबाट पठाएको लाखौं रकम डुबेका छन् । रकम पठाउँदा आधिकारिक रेमिट्यान्सबाट पठाउँनु पर्छ । अघिल्लो बर्षमा छ सय ६५ अर्ब रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको छ । जसको योगदान नेपालको राष्ट्रिय उत्पादनमा २९ प्रतिशत रह्यो । काभ्रेको भकुण्डेवेशीमा आयोजित वित्तीय साक्षरता अभियानमा गरेको सम्बोधनमा आधारित ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]