June 25th, 2017

नेपालमा लघुवित्त अभियान र यसका चुनौतीहरु

विष्णु ढकाल । विश्वभरि नै विपन्न तथा पिछडिएको समुदायको आर्थिक विकासको लागि लघुवित्त एक प्रभावकारी औजारकोे रुपमा परिचालित हुँदै आएको छ । नेपालको सन्दर्भमा पनि केही दशक यता लघुवित्त कार्यक्रममा ब्यापक विकास तथा विस्तार भएको छ । संस्थागत वित्तीय सेवाको पहुँच बाहिर रहेका बहुसंख्यक गरिब तथा सिमान्त समुदायलाई साना उद्यम संचालन गर्न वा जिविकोपार्जन गर्न आवश्यक मात्रामा वित्तीय सेवाहरु अझैपनि उपलव्ध हुन सकेको छैन । यस्ता समुदायलाई दिगो वित्तीय सेवा उपलव्ध गराउन लघुवित्त संस्थाहरुले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । जसको फलस्वरुप लघुवित्त संस्थाप्रति आम जनचासो बृद्धि भएको छ । अझ पछिल्लो समय पुँजी बजारमा लघुवित्त कम्पनीहरुले कायम गरेको वर्चस्व र यसप्रति देखिएको आकर्षणले लघुवित्तको चर्चालाई शिखरमा पुर्याएको छ । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुका सामू अहिलेसम्म हासिल गरेका सम्पूर्ण उपलब्धीहरुको रक्षा गर्ने तथा दिगो र प्रभावकारी लघुवित्त अभियानलाई अगाडी बढाउने ठुलो चुनौती खडा भएको छ ।      

लघुवित्त क्षेत्रमा विकृति
छोटो समयमै नेपालका लघुवित्त संस्थाहरुले गरिव तथा सिमान्तकृत जनताको आर्थिक एवं सामाजिक स्थितिमा सुधार ल्याउन गरेको प्रयास र हासिल गरेका उपलब्धीहरुलाई नै समाप्त पार्ने गरि लघुवित्त क्षेत्रमा ब्यापक विकृतीहरु देखा पर्न थालेका छन् । जसको फलस्वरुप लघुवित्त अभियानमानै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । जसको निराकरण समयमै गर्न नसक्दा यो क्षेत्र नै धारासायी बन्नेतर्फ सम्पूर्ण सरोकारवालाहरु सचेत हुनुपर्ने समय आएको छ । नेपालमा लघुवित्त कार्यक्रमलाई समाज रुपान्तरणको अभियानका रुपमा अगाडी लैजानु पर्नेमा सो सम्बन्धमा प्रायाप्त अभ्यास हुन सकेको छैन । फलस्वरुप लघुवित्त संस्था स्थापना गर्नु नै नाफा कमाउनु हो भन्ने मानसिकता विकास हुँदै गएको छ । लघुवित्तका स्थापित सिद्धान्तहरुलाई अवलम्बन नगरी छिटो नाफा कमाउने उद्देश्यका साथ लघुवित्त संस्थाहरु आउनु स्वंयम लघुवित्त संस्थाहरुकै हितमा छैन । यसले दिर्घकालमा यसक्षेत्रमा ब्यापक विकृतिहरु निम्ताउने र यो सामाजिक अभियानलाई नै बदनाम गर्नेतर्फ सबै सचेत भई, स्थापित सिद्धान्त, मान्यताहरुलाई अवलम्बन गर्दै बास्तविक गरिव तथा विपन्न वर्गहरुसम्म सेवा विस्तार गर्न एकजुट भई अगाडी बढ्न, अब ढिला गर्नु हुँदैन ।  

थोरै मान्छेका कारण बदनाम लघुवित्त
लघुवित्त कार्यक्रमले लक्षित गरिव, विपन्न वर्गलाई पुर्याएको सेवा र त्यसले पारेका सयौं सकारात्मक पाटाहरुलाई ओझेलमा पार्दै अहिले केही मान्छेहरु आफ्नो निहित स्वार्थ पूर्तिका लागि लघुवित्त क्षेत्रलाई नै बदनाम गराउन लागीपरेका छन् । त्यस्ता मान्छेहरु लघुवित्त संस्थाहरुले लिने ब्याजदरलाई लक्षित गरि लघुवित्तसंस्थाहरुलाई नव सामन्तको रुपमा चित्रण गर्न उद्धत छन् । यस्तो अवस्थामा सबै लघुवित्त संस्थाहरु यस्ता प्रवृतिहरुको सामना गर्न सचेत हुनुपर्ने अवस्था आएको छ । 

लघुवित्तले लिने व्याजबारे गलत धारणा
संसारभरीका लघुवित्त संस्थाहरुको तुलनामा नेपालका लघुवित्त संस्थाहरुले कम ब्याज लिने र प्रभावकारी रुपमा छिटो छरीतो सेवा उपलब्ध गराउने कुरा हामीले आम जनतालाई बुझाउनु जरुरी छ । हो निश्चय नै झट्ट हेर्दा लघुवित्त संस्थाहरुले लिने गरेको ब्याज परम्परागत वित्तीय संस्थाहरुले लिने गरेको ब्याजको तुलनामा बढी नै छ र यो वास्तविकता हो । यो ब्याजबाट प्राप्त हुने आम्दानी लघुवित्त संस्थाहरुले लगानीकर्तालाई प्रतिफल दिनमा मात्रै उपयोग गर्नु हुँदैन । ग्राहक सदस्यहरुको क्षमता अभिविद्धि गर्न, बजार विस्तार गर्न तथा संस्थागत सुदृढिकरण लागकाी समेत यो आम्दानीको उपयोग गर्नुपर्छ । तर, पछील्लो समयमा यस्ता आरोपलगाउने हरुलाई बल पु¥याउँदै लघुवित्त संस्थाहरुले रेकर्डमा प्रतिफल वितरण गर्ने, ग्राहक, सदस्यहरुको क्षमता अभिविद्धि गर्न उदासिन रहने, नयाँ बजार र सम्भावनाहरुको खोजी नगर्ने, प्रतिफलमा     स्थानीय ग्राहक, सदस्य समुदायलाई सहभागी नगराउने लगायतका कार्यहरुले साँच्चै लघुवित्त संस्थाहरु नव समान्तको रुपमा उदाउँदै गरेका हुन् की भन्ने भ्रम आम जनतामा पार्न गएको छ । तसर्थ यस्तो गम्भीर आरोपको खण्डन गर्न लघुवित्त संस्थाहरुले आफ्नो कार्य शैलीमा ब्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता खड्कीएको छ । जसका लागी लघुवित्त संस्थाहरुले संस्थागत रुपमै ग्राहक सदस्यहरुको क्षमता अभिविद्धि गर्ने ब्यवहारीक कार्यक्रमहरु संचालन गर्ने, नयाँ अन्वेषणहरुको सुनिश्चितता गर्ने, ग्राहक सदस्यका उत्पादनहरुलाई बजारसम्म जोड्ने दरिलो संयन्त्रको विकास गर्ने तथा सबै सदस्यहरुलाई कुनै न कुनै रुपमा संस्थागत प्रतिफलमा सहभागी गराउने कार्य समयमै गर्न आवश्यक छ । यसकालागी नियमक निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई गरेको ब्यवस्थाले केही हदसम्म यस कुरालाई सुनिश्चित गर्न खोजे पनि लघुवित्त संस्थाहरु आफैँ अग्रसर भई यो कार्यलाई तत्काल अगाडी बढाउनु लघुवित्त संस्थाको हितमा छ । अन्यथा एकदिन हामी ठुलो दुर्घटनाको नजिक पुग्नेछौं । 

अन्य थुप्रै चुनौतीलाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था
लघुवित्त वित्तीय संस्थाहरुले उल्लेखित चुनौतीहरुको अलावा आफैँले उत्पादन गरेका थुप्रै चुनौतीहरुलाई चिर्दै अगाडी बढ्नु पर्ने तितो यथार्थ विद्यमान रहेको छ । बढ्दो अस्वस्थ प्रतिस्पर्धा, नयाँ ग्राहक सदस्य र नयाँ बजारको पहिचान नगरी सिमित बजार र ग्राहकमा दोहोरोपन गर्नु, सदस्य तथा स्थानीय आवश्यकतालाई मध्यनजर नगरी आफ्नो सजिलो÷अनुकुल हुने गरी सेवा प्रदान गर्नु, दक्ष जनशक्ति उत्पादन गर्ने तथा तिनको वृत्ती विकास गर्नेतर्फ कुनै पहल नगर्नु ,कर्मचारीहरुसंग सम्बन्धित समस्याहरु समाधान गर्न नसक्नु ,स्थानिय समुदाय माझ लघुवित्त वित्तीय संस्थाको छवि केवल ऋण दिने संस्थाको रुपमा विकास हुनु, सामाजिक सम्बन्धहरु शुन्य प्रायः रहनु, सुचना प्रविधिको समुचित उपयोग गर्न नसक्नु, भौगोलिक विकटतालाई कारण देखाउँदै सुगम स्थानहरुमा मात्रै कार्यक्रम विस्तार गर्न खोज्नु, साख सुचनाको भरपर्दो संयन्त्र विकास हुन नसक्नु लगायतका थुप्रै चुनौतीहरु यस क्षेत्रमा विद्यमान रहेका छन् । 

संभावनाको ढोका उजागर गर्न चुनौतीको बाटो हुँदै अगाडी बढ्नु पर्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै आउने दिनमा लघुवित्त वित्तीय संस्थाहरुले यस्ता चुनौतीहरुलाई पन्छाउँदै दृढ इच्छा शक्ति लिएर अगाडी बढ्ने हिम्मत गर्नु पर्दछ । अनि मात्रै समग्र लघुवित्त क्षेत्र तथा यसमा आवद्ध ग्राहक सदस्यहरुसबैको हित हुने छ । अन्यथा हामी यिनै चुनौतीहरुमा अल्मलिने छौं र लघुवित्त मार्फत हासिल गर्नु पर्ने समाज रुपान्तरण अभियान संधै ओझेलमा पर्नेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]