Friday , September 22 2017

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति  (आर्थिक वर्ष २०७४ को दश महिनासम्मको तथ्याङ्कमा आधारित) 

June 10, 2017

समष्टिगत आर्थिक परिदृश्य 
१. चालु आर्थिक वर्ष २०७४ को प्रथम दश महिनासम्मको उपलव्ध तथ्याङ्कलाई विश्लेषण गर्दा मुलुकको आर्थिक परिदृश्य सकारात्मक देखिन्छ । केन्द्रीय तथ्याङ्क विभागले हालसालै गरेको ६.९ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धिको अनुमानले निकट भविष्यको सकारात्मक अर्थिक वृद्धिको परिदृष्य प्रतिविम्वित गर्दछ । 
२. आगामी वर्षहरुमा पनि उच्च आर्थिक वृद्धि कायम गर्ने कार्य पुनरनिर्माण, ठूला परियोजनाहरुको कार्यान्वयन तथा उर्जा आपूर्तिको व्यवस्थापनमा निर्भर हुने देखिन्छ । 
३. पुनरनिर्माण कार्यले गति लिएसँगै निकट केही समयसम्म नेपालको व्यापार सन्तुलन चापको स्थितिमा रहने देखिन्छ । तथापि वैदेशिक सहायता र प्रत्यक्ष वैदेशिक लगानीमा हुने अपेक्षित वृद्धिले देशको शोधनान्तर स्थितिलाई बचतमा राख्न सघाउ पु्र्याउनेछ । 
४.विप्रषेण आप्रवाहको सुस्त वृद्धिले निक्षेप वृद्धिलाई समेत प्रभावित बनाएकाले आगामी दिनमा वित्तीय घर्षण कम गर्न निक्षेप र कर्जा वृद्धिको अन्तराल कम गर्दै लैजानु पर्ने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

५. २०७४ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ । २०७३ वैशाख महिनामा सो मुद्रास्फीति १० प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको छ । 

खाद्य मुद्रास्फीति 
६. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४ प्रतिशत, तरकारीको मूल्यमा १३.१ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १.९ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ४ प्रतिशत, तराईमा ३.६ प्रतिशत, हिमालमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
९. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.५ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.५ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १४ प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १३.१ प्रतिशत, १६.९ प्रतिशत र ११.८ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

११. आर्थिक बर्ष २०७४ को दश महिनासम्ममा कुल वस्तु निर्यात ९.८ प्रतिशतले वृद्धि भई रु. ६१ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २१.७ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १५ प्रतिशत, चीनतर्फ ५.६ प्रतिशत र अन्य मुलुकतर्फ ३.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, जि.आई. पाईप, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलंैचा, तयारी पोशाक, अलँैची, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१२. समीक्षा अवधिमा कुल वस्तु आयात ३४.९ प्रतिशतले बढेर रु. ८०८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४३.७ प्रतिशत, चीनबाट भएको आयात १२.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, हवाईजहाजका पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । 
१३. भन्सार नाकाका आधारमा वीरगञ्ज सुख्खा बन्दरगाहा भन्सार, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७.५ प्रतिशतले बढी रु. ७४७ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.३ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१५. आर्थिक वर्ष २०७४ को दश महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ५.८ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ४.१ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा १.६ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २६.१ प्रतिशतले बढेको थियो । कार्पेट, अलैची, पश्मिना, अम्लिसो, अदुवाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, तामाको तार, लुब्रिकेन्ट्सको लगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।

सेवा 
१६. समीक्षा अवधिमा कुल सेवा आय १७.९ प्रतिशत र कुल सेवा खर्च २०.३ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ७ अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ८ अर्ब ७७ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ४४.८ प्रतिशतले वृद्धि भई रु. ५० अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.८ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
१७. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले वृद्धि भई रु. ५६६ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १०.३ प्रतिशतले वृद्धि भई रु. ६९२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.८ प्रतिशतले बढेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
१८. अघिल्लो बर्षको दश महिनामा रु. १३४ अर्ब ३० करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा उच्च दरले बढेको वस्तु आयात तथा विप्रेषण आप्रवाहको न्यून वृद्धिका कारण रु. ७ अर्ब ५७ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको दश महिनासम्ममा रु. १६६ अर्ब ८३ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ५३ अर्ब ८४ करोडले बचतमा रहेको छ । 
१९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. ११ अर्ब ३० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ११ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ११ अर्ब ५९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६४ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२०. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट १.८ प्रतिशतले वृद्धि भई २०७४ बैशाख मसान्तमा रु. १०५८ अर्ब २८ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७४ बैशाख मसान्तमा १.२ प्रतिशतले वृद्धि भई रु. ८९७ अर्ब ७४ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ५.५ प्रतिशतले वृद्धि भई रु. १६० अर्ब ५४ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.८ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२१. आर्थिक वर्ष २०७४ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.२ महिनाको वस्तु आयात र ११.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.७ प्रतिशत, ९५.३ प्रतिशत र ४२.७ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
२२. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४७.०५ रहेकोमा २०७४ बैशाख मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ४९.०८ कायम भएको छ । त्यसैगरी, २०७३ बैशाख मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२६५.९० रहेकोमा २०७४ बैशाख मसान्तमा २.७ प्रतिशतले घटी प्रति आउन्स अमेरिकी डलर १२३१.२५ पुगेको छ । 
२३. २०७३ असार मसान्तको तुलनामा २०७४ बैशाख मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतलेअवमूल्यन भएको थियो । २०७४ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.६१ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत

२४. आर्थिक वर्ष २०७४ को दश महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५९ अर्ब ९१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ६४ अर्ब ८२ करोड रहेको थियो ।  

सरकारी खर्च 
२५. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३.७ प्रतिशतले वृद्धि भई रु. ४७८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रु. ३३३ अर्ब १४ करोड पुगेको थियो । 
२६. समीक्षा अवधिमा चालू खर्च ४३.२ प्रतिशतले बढेर रु. ३४४ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २४० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. ९० अर्ब २४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ४२ अर्ब ९९ करोड भएको थियो । 

सरकारी राजस्व 
२७. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३२.६ प्रतिशतले वृद्धि भई रु. ४६४ अर्ब ४२ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११.९ प्रतिशतले वृद्धि भई रु. ३५० अर्ब २७ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका शीर्षकहरुमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात 
२८. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ बैशाख मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २६२ अर्ब ३५ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 

२९. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको छ । 
३०. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति ( विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ५३ अर्ब ८४ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १६६ अर्ब ८३ करोडले बढेको थियो । 
३१. समीक्षा अवधिमा सञ्चित मुद्रा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाख मसान्तमा उक्त मुद्रा १२.१ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३२. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाख मसान्तमा यस्तो कर्जा २२.८ प्रतिशतले बढेको छ । 
३३. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७४ बैशाख मसान्तमा २३.७ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
३४. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६.६ प्रतिशतले बढेको छ । २०७३ बैशाख मसान्तमा यस्तो निक्षेप १९.५ प्रतिशतले बढेको थियो । २०७४ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३६.२ प्रतिशत र ४२.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ४३.७ प्रतिशत र २९.७ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १६.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १९.७ प्रतिशत र विकास बैंकहरुको २.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा २४.१ प्रतिशतले बढेको छ । २०७३ बैशाख मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको थियो । 
३६. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३.८ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १६.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.१ प्रतिशतले बढेको छ । 
३७. २०७४ बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.५ प्रतिशत र १४.२ प्रतिशत रहेको थियो । 
३८. २०७४ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जाको ४२.२ प्रतिशत ओभरड्राफ्ट, सेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फ रहेको छ । साथै यी क्षेत्रहरुमा रहेको कर्जा २०७३ बैशाखको तुलनामा २९.२ प्रतिशतले बढेको छ । 
३९. २०७४ बैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.७ प्रतिशत (रु. ४४ अर्ब १५ करोड) छ । 
४०. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १.९ प्रतिशत (रु. १ अर्ब ३८ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २७ प्रतिशतले बढेको थियो ।

पुनरकर्जा र उत्पादनशील कर्जा 
४१. उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. १२ अर्ब ८ करोड ८० लाख र निर्यात कर्जा रु. ७२ करोड ६० लाख गरी कुल रु. १२ अर्ब ८१ करोड ४० लाख पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु.४ अर्ब ५७ करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १७ करोड गरी जम्मा रु. ५ अर्ब ७४ करोड पुनरकर्जाको उपयोग भएको थियो । 
४२. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ बैशाख मसान्तसम्म कुल रु. ६७ करोड ५० लाख २५ हजार कर्जा प्रदान भएको छ । 
४३. वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७४ बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १७.३ प्रतिशत रहेको छ । 

तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४ को दश महिनासम्ममा खुला बजार कारोबारमार्फत् रु. ६१ अर्ब तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत् कुल रु. ३३ अर्ब २१ करोड र सोझै खरीद बोलकबोलमार्फत रु. २७ अर्ब ७९ करोड तरलता प्रवाह भएको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ६२ अर्ब ३९ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। 
४५. आर्थिक वर्ष २०७४ को दश महिनासम्मको अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ३५ करोड खुद खरिद गरी रु. ३५७ अर्ब ५९ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ७१ करोड खुद खरिद भई रु. ३९२ अर्ब २५ करोड खुद तरलता प्रवाह भएको थियो । 
४६. आर्थिक वर्ष २०७४ को दश महिनासम्ममा खुलाबजार कारोबारमार्फत् रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्फत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्फत् रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्फत्क्रमशः रु. २९७ अर्ब ५० करोड, रु. १७० अर्ब ९५ करोड र रु.९ अर्ब १० करोड गरी जम्मा रु. ४७७ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको थियो । 
४७. समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ३८ करोड र यूरो ११ करोड बिक्री गरी रु. ३७२ अर्ब २२ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ८० करोड र यूरो ११ करोड बिक्री गरी रु. ३०८ अर्ब ४४ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

अन्तर–बैंक कारोबार 
४८. आर्थिक वर्ष २०७४ को दश महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ८९० अर्ब ८३ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ३२१ अर्ब ८१ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ७७७ अर्ब ७२ करोड र रु. ७३ अर्ब १३ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
४९. २०७३ बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.३४ प्रतिशत रहेकोमा २०७४ बैशाखमा ०.७८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ बैशाखको ३.४४ प्रतिशतको तुलनामा २०७४ बैशाखमा २.७३ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ बैशाखको २.७५ प्रतिशतको तुलनामा २०७४ बैशाखमा ३.९२ प्रतिशत रहेको छ । 
५०. वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ बैशाखको ६.३ प्रतिशतको तुलनामा २०७४ बैशाखमा ९ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५१. वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । २०७४ बैशाख मसान्तसम्ममा कुल १३८ वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ९४ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४४ संस्था कायम रहेका छन् । 

पुँजी बजार 
५२. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ११.९ प्रतिशतले वृद्धि भई २०७४ वैशाख मसान्तमा १,६५८.६ विन्दुमा पुगेको छ । २०७३ वैशाख मसान्तमा उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले वृद्धि भई १,४८१.९ विन्दु कायम भएको थियो । २०७३ असार मसान्तमा भने नेप्से सूचकाङ्क १७१८.२ विन्दु पुगेको थियो । धितोपत्र बजारमा गरिएका विभिन्न सुधारहरु एवम् वित्तीय संस्थाहरुको पूँजी वृद्धि शेयर बजार परिसूचक वृद्धिको प्रमुख कारण हो । 
५३. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २०.५ प्रतिशतले वृद्धि भई २०७४ वैशाख मसान्तमा रु. १,९२५ अर्ब ६५ करोड पुगेको छ । बजार पूँजीकरण अघिल्लो वर्षको सोही अवधिमा ६५.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७४.१ प्रतिशत रहेको छ । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८६ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २ प्रतिशत, होटलहरूको १.५ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.३ प्रतिशत रहेको छ ।
५४. समीक्षा अवधिमा कुल शेयर कारोबार रकममा ५ प्रतिशतले ह्रास आई रु. १७ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कारोबार रकममा उल्लेख्य वृद्धि भई रु. १७ अर्ब ९९ करोड पुगेको थियो । 
५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ वैशाख मसान्तसम्ममा २१० रहेको छ । २०७३ वैशाख मसान्तमा यस्तो संख्या २३२ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १७० वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १२ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र २ वटा अन्य समूहका रहेका छन् । 
५६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.३ प्रतिशतले वृद्धि भई २०७४ वैशाख मसान्तमा रु. २७५ अर्ब ६६ करोड पुगेको छ । आर्थिक वर्ष २०७४ को दश महिनासम्ममा रु. ३ अर्ब २३ करोड बराबरको साधारण शेयर, रु. १६ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. २७ अर्ब १२ करोड बराबरको बोनस शेयर, रु. ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. ११० अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । स्रोत : नेपाल राष्ट्र बैंक


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *