June 5th, 2017

सिद्धार्थ बैंकसँगको सम्झौता तोडेर कुमारी बैंकमा किन गए सुरेन्द्र भण्डारी ? 

रोयल आचार्य – सिद्धार्थ बैंकमा सिईओ रहेका बैंकर सुरेन्द्र भण्डारी आफ्नो कार्यकाल पूरा नहुँदै कुमारी बैंकमा गएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । सिद्धार्थ बैंकमा एक कार्यकाल सकिएपछि गत वर्षको असार महिनामा उनलाई एक कार्यकाल थप गरिएको थियो । चार वर्षका लागि भएको उक्त सहमतिको एक वर्ष नबित्दै भण्डारी सिद्धार्थ छोडेर कुमारीमा आएका छन् ।

भण्डारीले छोडेको सिद्धार्थ बैंक यही जेठ २५ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तरखरमा छ । हाल पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार पाँच सय रुपैयाँ चुक्तापुँजी रहेको बैंकको हकप्रद जारी गरेपछि चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार तीन सय रुपैयाँ पुग्नेछ ।

यता, एनसीसीसँगको मर्जर अन्तिम चरणमा पुगेर भाँडिएपछि कमजोर मानिएको कुमारी बैंकले पनि पुँजीवेृद्धिमा राम्रै फड्को मारिसकेको छ । राष्ट्रिय स्तरको विकास बैंक काष्टमण्डप डेभलपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले अन्य तीन संस्था पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई पनि खरिद गर्दैछ । गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र हालै जारी गरेको ५० प्रतिशत हकप्रद सेयरपछि कुमारीको चुक्तापुँजी छ अर्ब रुपैयाँ पुग्नेछ ।  

त्यसो त, सिद्धार्थ बैंकका सिईओ हुनुपूर्व भण्डारी कुमारी बैंकमा नै थिए । सिद्धार्थसँग चार वर्षे कार्यकालका लागि भएको सहमति विपरित कुमारी बैंकमा गएपछि बैंकर्स भण्डारीले किन सहमति तोडेछन् भन्ने अहिले चासोको बिषय बनेको छ । सिद्धार्थ बैंकको सिईओमा चार बर्षका लागि नियुक्त भएका भण्डारी १२ महिना नवित्दै अर्को बैंकमा जानु विश्वासघात भएको सिद्धार्थका एक सेयर सदस्यले बताए । सिद्धार्थ बैंकका सञ्चालकहरुसँग मनमुटाव भएपछि भण्डारी कुमारी बैंकमा गएको श्रोतले बताएको छ । सिद्धार्थका केहि सञ्चालकहरुसँग कार्यसञ्चालन तथा व्यवस्थापन बिषयमा विवाद भएपछि बैंकको सहमति तोड्दै भण्डारी कुमारी बैंकमा गएको श्रोतको दाबी छ । तर यस बिषयमा बैंकर्स भण्डारीको फरक मत छ । सिद्धार्थसँगको सहमति आफूले नतोडेको उनको भनाई छ । 

के भन्छन् त बैंकर भण्डारी ? 
सिद्धार्थ बैंकसँग सल्लाह गरेरै कुमारी बैंकमा आएको भण्डारीले बताएका छन् । बैंकिङ खबरसँग कुरा गर्दै भण्डारीले भने– ‘सिद्धार्थ बैंकका सञ्चालक तथा अन्य कोहिसँग पनि मेरो मनमुटाव भएको छैन, म सल्लाह गरेरै कुमारीमा आएको हुँ ।’ कुमारी बैंकको सिईओ भए पनि काम पर्दा सिद्धार्थमा आवातजावत भइरहने बैंकर्स भण्डारीको भनाई छ । एकै ठाउँमा बस्दा भन्दा परिवर्तन भइरहँदा नयाँ आइडियाहरु पनि सिकिने हुँदा सिद्धार्थ छाडेर कुमारीमा आएको उनले बताए । 

कुमारी बैंक मै किन जानु भयो त ? भन्ने बैंकिङ खबरको प्रश्नमा भण्डारी भन्छन्– ‘कुमारी बैंकप्रति मेरो लगाव र शुरुमा काम गरेको भएर पनि मलाई कुमारीको माया छ । यसकारण म कुमारी बैंकमा आएको हुँ ।’ अब कुमारी बैंकको व्यवस्थापन चुस्तदुरुस्त बनाएर नमूना बैंक बनाउछु, बैंकर्स भण्डारीले भने ‘मैले सक्ने सम्म बैंकलाई सफल बैंक बनाउन लागि पर्नेछु ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]