May 28th, 2017

सहकारीको लगानीमा चिया प्रशोधन कारखाना, कृषकले पाउन थाले राम्रो मूल्य 

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले छ करोड रुपैयाँको लागतमा कारखाना स्थापना गरेको हो ।

उक्त कारखाना सहकारीस्तरको नेपालकै सबैभन्दा ठूलो अर्थोडक्स चिया कारखाना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताए । “कारखाना निर्माणका लागि टी बोर्डबाट रु ७५ लाख र सहकारी विभागबाट रु छ लाख प्राप्त भएको छ” – अध्यक्ष सुवेदीले भने । 

किसानले उत्पादन गरेको हरियो चियापत्ती कारखानामा बिक्री गर्छन् । तर कारखाना सञ्चालकले यो र त्यो बहाना देखाउँदै किसानलाई लागतअनुसारको हरियो पत्तीको मूल्य दिएका छैनन् । सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ । सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम रु छ हजार प्रतिक्विन्टल पाएका थिए । तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल रु १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीको भनाइ छ । 

किसानले चिया उत्पादन गर्छन् तर उनीहरूको पहुँचमा कारखाना हुँदैन । किसानको थोरैमात्र पुँजीले कारखाना बनाउन सक्दैनन् । कारखाना बनाइहाले पनि गुणस्तरीय तयारी चिया नबन्दा बजारमा बिक्री नहुन सक्छ । त्यो समस्यासँग जुध्न नसक्नु र समस्याको समाधान नखोज्दा किसानले चियाको उचित मूल्य पाउन नसकेको कन्यामका चिया किसान रेवतीरमण पौडेलले बताए । पौडेल भन्छन् – “चियाखेती मात्र गर्ने तर प्रशोधन गर्न अरूलाई दिने गर्दा मूल्य नपाइएको हो ।” किसान आबद्ध भएको इलामेली सहकारी संस्थाले स्थापना गरेको कारखानाले अहिले धमाधम हरियोपत्ती प्रशोधन गरिरहेको छ । 

हरियो चियाको मूल्य कम पाइरहेको अवस्थामा दैनिक करिब पाँच हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको कारखानाबाट कृषकले राम्रो मूल्य पाउन थालेका छन् । यसअघि किसानले पत्तीको मूल्य बढीमा प्रतिकिलो रु ६० सम्म मात्र पाउँदै थिए । सहकारीले कृषकलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु एक सय दिन थालेपछि कारखानामा पत्तीको चापसमेत बढेको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]