May 26th, 2017

साताभरमा सेयर बजार १४ अंकले घट्यो, चार दिनमा दुई अर्ब ६८ करोडको कारोबार

गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गर्यो । साताको पहिलो दुई दिन दोहोरो अंकले घटेको सेयर बजार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने खबरसँगै मंगलबारदेखि बढ्न थाल्यो । मंगलबार दोहोरो अंकको वृद्धि हासिल गरेको सेयर बजारमा बुधबार पनि ३.०१ अंकको वृद्धि देखियो । यसरी गत साताको अन्तिम दिन १६४३.८७ अंकमा बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन १६२९.५२ अंकमा छ । जसअनुसार, यो साता सेयर बजारमा १४.३५ अंकको गिरावट आएको हो ।

यो साता कारोबार रकममा पनि उतारचढाव देखियो । आइतबार ६८ करोडको कारोबार भएको बजारमा सोमबार ५२ करोड, मंगलबार ७८ करोड ६६ लाख र बुधबार साढे ६८  करोडको कारोबार भएको छ । समग्रमा यो साताभर दुई अर्ब ६८ करोड २२ लाख २५ हजार दुई सय ९४ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता दुई अर्ब ५८ करोड १५ लाख ६१ हजार नौ सय २० रुपैयाँको कारोबार भएको थियो ।

नेपाल बैंक, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतको यो साता राम्रो कारोबार भएको छ । हिमालयन डिस्टीलरी, आरएसडीसी लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् भने बरुण हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।

विहीबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ भने जेठ १५ गते नै बजेट ल्याउने तयारी भइरहेको छ । एक चरणको स्थानीय चुनाव भर्खरै सकिएको मुलुकमा जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने तयारी भइरहेको छ । पहिलो चरणको जस्तै सफलतापूर्वक दोस्रो चरणको चुनाव सम्पन्न हुने अपेक्षा गरिएको छ । राजनीतिको यस अवस्थाको बीचमा लगानीकर्ताहरु न त धेरै धेरै उत्साहित देखिएका छन्, न त धेरै निराश । बजारमा सामान्य घटबढ भइरहेको छ । दोस्रो चरणको चुनाव सम्पन्न नहुँदासम्म सेयर बजारमा यो पर्ख र हेरको क्रम नै चलिरहने अनुमान गरिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]