May 23rd, 2017

चार वाणिज्य बैंकको हकप्रद सेयर खुला

रुपा कोइराला । चार वटा वाणिज्य स्तरका बैंकले विभिन्न अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् । नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडले हकप्रद सेयर जारी गरेका हुन् । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । नेपाल बैंकले १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ भने सानिमा बैंकले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा र नेपाल एसबिआई बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद जारी गरेका छन् ।

नेपाल बंगलादेश बैंकले बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख छ हजार आठ सय ८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद सेयर जेठ १० गतेसम्म निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकको सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्ज शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै उपत्यका बाहिर विराजटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँके शाखाबाट आवेदन दिन सकिनेछ । 

नेपाल बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको हकप्रद गत चैत्र २८ गते सम्मका सेयरधनीले भर्न पाउनेछन् । यो बैंकको हकप्रद सेयर निष्काशन पनि जेठ १० गते बन्द हुनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय सिटिसी महल, सुन्धारा र नेपाल बैंकको शाखा कार्यालयहरुबाट उक्त सेयरका लागि आवेदन दिन सकिने बताइएको छ । 

त्यस्तै, सानिमा बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद सेयर जेठ २१ गतेसम्म निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय, सानिमा बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाको भित्री शाखा कार्यालयहरू र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर असार १ गतेसम्म निष्काशन गर्नेछ । वैशाख २५ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन दिन सकिनेछ ।

कसको चुक्तापुँजी कति पुग्दै ?

नियामक निकायको निर्देशनबमोजिम चुक्तापुँजी बढाउनका लागि बैंकहरुले हकप्रद सेयर निष्काशनको बाटो अपनाएका हुन् । राष्ट्र बैंकको निर्देशनबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउन लागेका नेपाल बंगलादेश, नेपाल एसबिआई, सानिमा र नेपाल बैंकको चुक्तापुँजी हकप्रद निष्काशनपछि क्रमशः सात अर्ब २० करोड रुपैयाँ, छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ, छ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ र आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]