May 22nd, 2017

‘एक व्यक्ति-एक खाता’ व्यवस्था कार्यान्वयन हुँदै

सुष्मा थापा । बैंक तथा वित्तीय संस्थाले एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा आउन थालेको छ । नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिका नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता नखोल्न निर्देशन दिएको थियो । यो व्यवस्थापछि बैंकहरूले एउटा व्यक्तिको नाममा बचत तथा चल्ती खाता एउटा/एउटा मात्र खोल्न पाउने भएका थिए । पहिलेदेखि नै एकभन्दा बढी खाता भएकालाई एउटा खाता बन्द गराउन समेत निर्देशन दिइएको थियो ।

नबिल बैंक लिमिटेडले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटामात्र राख्न सूचना जारी गर्दै राष्ट्र बैंकको नयाँ व्यवस्थाको कार्यान्वयनको थालनी गरेको छ । बैंकले बचत, चल्ती वा कल खाता भएका सेवाग्राहीले यी खातामध्ये एउटा मात्र सञ्चालन गरिदिन आग्रह गरेको छ । यसका लागि बैंकले ३५ दिनको समयावधि दिएको छ । सूचना सार्वजनिक भएको ३५ दिनभित्र पनि एक भन्दा बढी खाता भएकाले बन्द गर्न निवेदन नदिएमा उनीहरुको खाता रोक्का गरिने बैंकले उल्लेख गरेको छ । मुद्दति खाता भएका ग्राहकको हकमा भने यो नियम लागू नहुने बताइएको छ । यसको मतलब, बचत र मुद्दति खाता छ भने दुवै चलाउन पाइनेछ । 

यसअघि बैंकहरूले खाताको संख्या बढाउन एउटै व्यक्तिको नाममा धेरै खाता खोल्दै आएका थिए । यसैगरी ऋण कारोबार गर्दा शाखा नै पिच्छे खाता खोल्न बाध्य गराउँदै आएका थिए । बैंकहरूले ग्राहकको संख्या बढी देखाउनका लागि समेत खाता संख्या बढाउँदै आएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक वित्तीय संस्थामा सर्वसाधारणको एक करोड ५० लाख खाता छन् । 

यसैगरी एउटै व्यक्तिलाई एकभन्दा बढी प्रकरणको डेबिट वा क्रेडिट कार्ड पनि जारी गर्न नपाइने निर्देशिका समेत राष्ट्र बैंकले जारी गरेको छ । यस अघि एउटै प्रकृतिको धेरै खाता खोलेको र कार्ड जारी गरेको भए नयाँ व्यवस्थाअनुसार समायोजन गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]