May 22nd, 2017

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपिओ जेठ १७ गतेदेखि, हेर्नुस् आवेदन दिने स्थानहरु

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर निष्काशन जेठ १७ गतेदेखि सुरु हुने भएको छ । कम्पनीले तीन करोड ६८ लाख रुपैयाँ बराबरको तीन लाख ६८ हजार एक सय ४३ कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयवासीका लागि उक्त अनुपातमा सेयर जारी गर्न लागेको हो । 

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । जनता बैंक नेपाल लिमिटेड, धुन्चे, रसुवा, प्रभु बैंक लिमिटेड, स्याप्रुबेसी, रसुवा, आइसिएफसि फाइनान्स लिमिटेड, कालिकास्थान, रसुवा, हिमालयन बैंक लिमिटेड, बेत्रावती, रसुवा र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, डाँडागाउँ, रसुवाबाट उक्त सेयरमा आवेदन दिन पाइनेछ । 

छ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । 

पहिलो चरणमा स्थानीयका लागि सेयर जारी गर्न लागेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि सात लाख ३६ हजार दुई सय ८६ कित्ता सेयर जारी गर्ने जनाएको छ । कम्पनीले हाल बैंकको लागि तिरिरहनु परेको ऋण भुक्तानी गर्न सेयर जारी गर्न लागेको हो । कम्पनीमा बैंकको ६१ करोड ५० लाख रुपैयाँ ऋण रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]