May 21st, 2017

१० वर्षमा पूर्णिमा विकास बैंक, यसरी मनायो वार्षिकोत्सव

जिल्ला सदरमुकाम भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडले १० औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक कार्यको आयोजना गरेको छ । साथै बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो सेवा समेत विस्तार गरेको छ । 

बैंकले सेवा बिस्तार अन्र्तगत आइतबार भलबारी शाखामा ए.टि.एम सेवा शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निधानचन्द्र श्रेष्ठले सो ए.टि.एम सेवा उद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । यस अगाडी बैंकले रुपन्देही जिल्लाको ग्रामिण क्षेत्र धकधईमा पनि ए.टि.एम सेवा संचालनमा ल्याएको थियो ।

बार्षिक उत्सव अन्र्तगत बैंकले आइतबार भैरहवामा रक्तदान कार्यक्रमको आयोजना समेत गर्यो । नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष तथा प्रध्यापक सुदरसन प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा सामाजिक कार्यकर्ता गरि २२ जनाले रक्तदान गरे । 

वार्षिकोत्सवकै अवसर पारेर विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेको बैंकले जानकारी दिएको छ । साथमा बैंकले भैरहवादेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म शान्ति पदयात्रा कार्यक्रम समेत सम्पन्न गरेको छ । 

पूर्णिमा विकास बैंकले हालसम्म तीन जिल्लामा गरी आठ वटा शाखा विस्तार गरेको छ । हाल बैंकको अधिकृत पुँजी ५० करोड रुपैयाँ र चुक्तापुँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले आठ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । हकप्रद निष्काशनसम्बन्धी अन्य आवश्यक प्रक्रिया तीव्र रुपमा चलिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले जानकारी दिए ।

ग्राहकको मागअनुसार कृषि, बैदेशिक रोजगार, विपन्न बर्ग कर्जा प्रवाह गर्दै आईरहेको बैंकले जिल्लाका ग्रामिण भेगमा रहेको जनतालाई समेत बैंकिङ्ग कारोबारमा जोड्ने रणनिति लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]