May 21st, 2017

कुन बीमा कम्पनीले कति कमाए ? (रिपोर्टसहित)

रुपा कोइराला । बीमा कम्पनीहरुले गत वर्षको तुलनामा यस वर्ष नाफामा उल्लेख्य वृद्धि गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ भने सूर्या लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा सबैभन्दा धेरैले बढेको छ । 

निर्जिबन बीमा कम्पनीहरुमा को अब्बल ?
निर्जिबन बीमा कम्पनीहरुको विवरण हेर्ने हो भने, एनबी इन्स्योरेन्सले खुद मुनाफामा सबैभन्दा राम्रो प्रगति गरेको छ । एनबीले यस बर्ष एक सय ८१ दशमलव आठ प्रतिशतले मूनाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको एनबीले चालू आर्थिक वर्षको सोही अवधिमा छ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

एनबीपछि युनाइटेडले सबैभन्दा बढी मूनाफा आर्जन गरेको छ । युनाइटेडले मुनाफामा एक सय १० दशमलव आठ प्रतिशतले वृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा युनाइटेडको खुद मुनाफा चार करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा युनाइटेडको मुनाफा दुई करोड ३२ लाख रुपैयाँ थियो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफामा ८५ दशमलव १८ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले पाँच करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सको मुनाफा दुई करोड ७६ लाख रुपैयाँ थियो ।

लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि खुद मुनाफामा राम्रो वृद्धि गरेको त्रैमासिक विवरण पस्केको छ । कम्पनीले खुद मुनाफामा ८४ दशमलव १२ प्रतिशतले वृद्धि गरि ११ करोड ६१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले छ करोड ३७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

यता, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद मुनाफामा ८२ दशमलव ८५ प्रतिशत बढोत्तरी गरेको छ । कम्पनीले यो अवधिमा १२ करोड ८८ लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेकोले सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि मुनाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रोत्र त्रैमासमा ओरिएण्टलले १३ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड १५ लाख रुपैयाँँ आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव २५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रुडेन्सियलले सात करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा २० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा प्रिमियरले १० करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले आठ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुनाफा १४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा तुलनामा ३४ दशमलव ९० प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले मुनाफा १० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीले खुद मुनाफामा २८ दशमलव ५० प्रतिशतले वृद्धि गरी २६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले सबै बीमा कम्पनीहरुमध्येमा सबैभन्दा धेरै नाफा कमाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ७२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएलजीले ११ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा १४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले मुनाफामा गत आर्थिक वर्षको सोही तेस्रो त्रैमासको तुलनामा १६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड सात लाख रुपैयाँ नाफा कमाएको थियो ।

हकप्रद निष्काशनको तयारीमा रहेको हिमालयन जनरल इन्स्योरेस कम्पनीले भने खुद मुनाफामा नौ दशमलब ७६ प्रतिशत मात्रै वृद्धि गरेको छ । यो अवधिमा कम्पनीले जम्मा आठ करोड पाँच लाख रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । जबकि, गत वर्षको सोही अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले सात करोड ३३ लाख रुपैयाँ कमाएको थियो । 

जीवन बीमा कम्पनीहरुको नाफामा पनि उल्लेख्य वृद्धि
निर्जिवन बीमा कम्पनीहरुको मात्र नभएर यो वर्ष जीवन बीमा कम्पनीहरुको खुद मुनाफा पनि उल्लेख्य रुपमा बढेको पाइएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा साढे सात गुणाले बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।  

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमसको तुलनामा मुनाफामा एक सय ५० प्रतिशत भन्दा बढी वृद्धि गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको गुराँसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा ७२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । 

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफामा ४७ दशमलव २१ प्रतिशतले वृद्धि गरी १७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यता, एशियन लाईफ इन्स्योरेस कम्पनी लिमिटेडको खुद मुनाफा ४५ दशमलब ६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा दुई करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

त्यस्तै, लाईफ इन्स्योरेन्स कपोरेशन नेपाल लिमिटेडको नाफा २८ दशमलव ९१ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासमा कम्पनीले ३२ करोड १४ लाख रुपैयाँँ मुनाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले मुनाफा २४ करोड ९० लाख रुपैयाँ थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सले नौ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बीमा कम्पनीहरुको मुनाफाको अवस्था हेर्दा बीमा क्षेत्र सबल बन्दै गएको देखिन्छ । त्यसमाथि, अहिले बीमा कम्पनीहरु पनि चुक्तापुँजी बढाउने दौडमा लागेका छन् । बीमा समितिले जीबन बीमा कम्पनीको चुक्तापुँजी दुई अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेसँगै कम्पनीहरु हकप्रद सेयर र बोनस सेयर जारी गरेर पुँजी बढाउन थालेका छन् । कम्पनीहरुको चुक्तापुँजी बढेसँगै बीमा क्षेत्र अझ सबल र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]