May 21st, 2017

यसरी हुन्छ नेपालमा डलर तस्करी, तस्करीमा विदेशी नागरिकको संलग्नता

आरपी पौडेल । नेपालमा डलर तस्करी बढ्दो मात्रामा छ । डलर तस्करहरुले नेपाललाई संगम थलो बनाएर तस्करी गरिरहेका छन् । नेपालको सुरक्षा व्यवस्था चुस्त नभएका कारण तस्करहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नेपाली भूमी प्रयोग गरेर विदेशीहरुले नेपालबाट तस्करी गर्ने गरेको नेपाल प्रहरी अपराध महाशाखाको भनाई छ । पछिल्लो समय नेपाल घुम्न आएका बिभिन्न देशका नागरिकहरुबाट डलरको तस्करी हुने गरेको अपराध महाशाखाले जनाएको छ । विदेशी नागरिकमा पनि धेरै जसो चिनियाँ नागरिकहरु डलर तस्करीमा अगाडी देखिएका छन् । 

हालै प्रहरी अपराध महाशाखाले तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई पाँच करोड विदेशी मुद्रा सहित काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । विदेशी तस्करले अवैध रुपमा लैजाँदै गरेको करिब २१ करोड डलर नेपाल प्रहरीको अपराध महाशाखाले बरामद गरेको छ । गएको १ बर्षमा बिभिन्न स्थानबाट महाशाखाले २१ करोड अवैध डलर बरामद गरेको हो । अपराध महाशाखाको तथ्यांक अनुसार १ बर्षमा मात्रै करिब २१ करोड डलर बरामद र २१ जना विदेशी नागरिकलाई पक्राउँ गरेको छ । पक्राउँ परेका तस्करीमा संलग्न केहिलाई सम्बन्धीत दुतावासको जिम्मा लगाएर छोडिएको छ भने केहिलाई प्रहरीले मुद्धा समेत चलाएको छ । तस्करहरुले भारतका बिभिन्न  खुला सिमाना तथा चिनको केरुङ नाकालाई धेरै प्रयोग गर्दै आएका छन् । 

डलर तस्करलाई कस्तो हुन्छ कारवाही ? 
डलर तस्करमा पक्राउ परेका संलग्न विदेशी नागरिकहरुलाई प्रहरीले संगठित अपराध तथा राजश्व चुहावट सम्बन्धी कसुरमा मुद्धा चलाउन सक्ने कानूनी व्यवस्था छ । संगठित अपराध निवारण ऐन अनुसार अभियोगमा संलग्नता पुष्टि भए दफा ५ अनुसार अवैध सामान जफत, ५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था छ । त्यस्तै, दफा ८ अनुसारको कसुर देखिए थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० अनुसार अभियुक्तलाई अनुसन्धान तथा तहकिकातको सिलसिलामा तारेखमा छोड्ने, निजसँग धरौटी वा जमानी माग्ने वा बैंक जमानत माग्ने वा थुनामा राखी पुर्पक्ष गर्नसक्ने प्रावधान छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]