May 19th, 2017

नेपाल एसबिआई बैंकको हकप्रद आगामी आइतबारदेखि, थाहा पाइराख्नुस् आवेदन दिने ठाउँहरु

नेपाल एसबिआई बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी आइतबार (जेठ ७ गते)देखि सुरु हुने भएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन दिन सकिनेछ ।

गतवर्षको मुनाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस वितरण गरेको बैंकले केही समय अगाडि एफपिओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । हाल बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक सेयर ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]