May 18th, 2017

नेपाल धितोपत्र बोर्ड के हो ? कसरी भयो स्थापना ? हेर्नुस्, विस्तृतमा

वि.स. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको पाइन्छ । वि.स. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद बिक्रीको व्यवस्थाबाट धितोपत्र बजारको संस्थागत विकासको शुरुवात भएको हो । 

केन्द्रको भूमिका स्थापनाको उद्देश्य अनुरुप नभएको महशुस गरी नेपाल सरकारले जारी गरेका धितोपत्रहरु खरिद बिक्री गर्ने गराउने व्यवस्थाका लागि आवश्यक कानूनी व्यवस्था गर्न वि.स. २०४० सालमा धितोपत्र कारोवार ऐन जारी गरियो । वि.स. २०४६ सालपछि नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति पश्चात पुँजी बजारमा निजी क्षेत्रको प्रवेश शुरु भयो जसले गर्दा सेक्युरिटी खरिद विक्री केन्द्र आफैले बजार व्यवस्थापन र नियमनको कार्य गर्दा स्वार्थ बाझिन सक्ने विषयलाई ध्यानमा राखी वि.सं. २०४९ सालमा धितोपत्र कारोवार ऐन, २०४० लाई संशोधन गरी सरकारले धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था गरियो । 

बोर्डको स्थापना 
धितोपत्र कारोवार ऐन, २०४० को वि.स. २०४९ सालको संशोधन पश्चात सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न, देशको आर्थिक विकासमा योगदान पुर्याउन, लगानीकर्ताको हक हित संरक्षण गर्न, उद्योग धन्दाको स्वामित्वमा जनसहभागिता बढाउन, संस्थागत सुशासन कायम गर्न र धितोपत्र कारोवारलाई व्यवस्थित र नियमित गर्न नेपाल सरकारबाट वि.सं. २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना गरियो । यस बोर्डलाई अंग्रेजीमा Securities Board of Nepal (SEBON) भनिन्छ । 

वि.सं. २०६३ सालमा धितोपत्र कारोवार ऐन, २०४० खारेज गरी देशको आर्थिक विकासका लागि पुँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्रको निष्कासन, खरिद, विक्री, वितरण तथा बिनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम द्द कारवाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि वृहत उद्देश्यसहित धितोपत्र सम्वन्धी ऐन, २०६३ जारी गरियो । तत्पश्चात धितोपत्र सम्वन्धी ऐन, २०६३ बमोजिम नेपाल धितोपत्र बोर्डले स्वशासित र संगठित संस्थाको रुपमा समग्र पुँजीबजारको नियमन र सुपरिवेक्षण गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]