May 17th, 2017

पाँच वाणिज्य बैंकद्धारा निःशुल्क आस्वाको घोषणा

रोयल आचार्य – आस्वा सेवालाई साउनबाट अनिवार्य गर्ने नीति आएपछि अहिले बैंकहरु आस्वा सेवा दिन प्रतिष्पर्धा गरिरहेका छन् । सुरुमा एक सय रुपैयाँ शूल्क राखिएको आस्वा सेवा अहिले अधिकांश बैंकहरुले निशुल्क दिन थालेका छन् । धितोपत्र बोर्डले सबै बैंकहरुलाई आस्वा प्रणालीमा जान निर्देशन दिएपछि बैंकहरुले एक सय रुपैयाँमा आस्वा सेवा दिने बताएका थिए । बोर्डले पनि सुरुमा आस्वा सेवाबापत दुई सय रुपैयाँ शूल्क लिन पाउने व्यवस्था गरेकोमा सोको परिमार्जन गर्दै एक सय रुपैयाँमा आस्वा सेवा दिन निर्देशन दिएको छ । केहि महिनासम्म बैंकहरुले सय रुपैयाँमा दिँदै आएको आस्वा सेवा ५०, २५, २० र दश रुपैयाँ हुँदै अहिले निशुल्कसम्म आइपुगेको छ । 

हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरु र अधिकांश विकास बैंक र केही फाइनान्स कम्पनीसहित ५२ वटा संस्थाहरुले आस्वा सेवा प्रदान गरिसकेका छन् । गत माघदेखि ऐच्छिक रुपमा लागू गरिएको यो प्रणालीलाई नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि अनिवार्य गर्न लागेको छ । धितोपत्र बोर्डले साउनदेखि यो सेवालाई अनिवार्य व्यवस्था गर्न लागेपछि सबै बैंकहरु धमाधम आस्वा सेवा दिन लागिरहेका छन् । 

कुन–कुन बैंकले दिए नि:शुल्क आस्वा ?
खातामै रकम रोक्का गरेर बाँडफाँडपछि सेयर नपरेको रकम खातामै फुकुवा हुने प्रणाली नै आस्वा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणाली हो । यो प्रणाली अनिवार्य गरिएपछि आइपिओ तथा एफपिओ भर्दा जुन बैंकमा आफ्नो खाता छ, सोहीमार्फत भर्नुपर्दछ । हाल ७० दिनसम्म लाग्ने बाँडफाँड प्रक्रिया २० दिनमै हुने हुँदा यसले लगानीकर्तालाई फाइदा पुग्नेछ । अनलाईन आस्वा सेवा ग्राहकहरुका लागि भरपर्दो र सहज तरिकाको एउटा सेवा हो । थरीथरीका शुल्क लिँदै आस्वा सेवा दिने बताएका बैंकहरु अहिदृ निशूल्क सेवा दिने प्रतिष्पर्धामा जुटेका छन् । 

हालसम्म पाँच वटा वाणिज्य स्तरका बैंकले आस्वा सेवा निःशूल्क रुपमा दिने घोषणा गरेका छन् । 
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिँदा बैंकका ग्राहकले कुमारी बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्वा प्रणालीमार्फत सहज, सरल र सुरक्षित तरिकाले लगानी गर्न सक्ने व्यवस्था कुमारी बैंकले गरेको छ । निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने कुमारी बैंकको विश्वास छ । यो सुविधा कुमारी बैंकले ३६ वटै शाखा कार्यालयहरुबाट ग्राहकलाई निशुल्क दिने जनाएको छ । कुमारी बैंकले ग्राहकको अभिलाषा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्ने क्रममा आगामी दिनमा थप सुविधाहरू दिने योजना बनाएको छ । 

एनआइसी एसिया बैंक लिमिटेड
आस्वा एनआईसी एसिया बैंकले पनि निःशुल्क आस्वासेवा दिने भएको छ । जुनसुकै शाखाहरुबाट आस्वा सेवामार्फत सेयर आवेदन लिने गरेको बैंकले आफ्ना ग्राहकलाई बिहीबारदेखि लागू हुनेगरी आस्वा सेवा निःशुल्क गर्ने भएको हो । देशभरि फैलिएका १०७ वटै शाखाहरुबाट विना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपिओ, एफपिओ तथा म्युचुअल फण्डमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले संचालनमा ल्याएको आकर्षक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि सेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेड 
बैंक अफ काठमाण्डू लिमिटेडले पनि आस्वा सेवालाई निशूल्क गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा सोसम्बन्धी कार्य गर्ने अनुमति पाएअनुसार आस्वाको काम गर्दै आएको छ । सो प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हँुदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेपश्चात् सय रुपैयाँ प्रतिआवेदन लिइरहेकामा अब उपरान्त निःशुल्क सुविधा प्रदान गर्ने निर्णय गरेको बैंकले बताएको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले पनि अबदेखि आस्वा सेवा दिएवापत शूल्क नलिने घोषणा गरेको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्वा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्नेछन् । यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकको विश्वास रहेको छ । २०७४ जेष्ठ १ गतेदेखि बैंकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्दै आएको छ ।

सानिमा बैंक लिमिटेड
आस्वा सेवा निःशूल्क दिने घोषणा गर्ने बैंकहरुको सूचिमा सानिमा बैंक लिमिटेड पनि थपिएको छ । आस्वा प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सानिमा बैंकले गत माघ १ गतेदेखि यो सेवा प्रदान गर्दै आएको थियो । मंगलबार (जेठ २ गते)देखि भने यो सेवालाई निःशूल्क गरिएको बैंकले जानकारी दिएको छ । यो सुविधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले आफ्ना ग्राहकहरुलाई आस्वा अन्तर्गत अनलाईन सेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुले ईन्टरनेट बैंकिङ्गमार्फत उपयोग गर्न सक्नेछन् । सानिमा बैंकको देशभर हाल ४५ वटा शाखा तथा ५३ वटा एटीएम सञ्चालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]