May 17th, 2017

यस्तो छ, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७४ को नौ महिनासम्मको तथ्याङ्कमा आधारित) 
समष्टिगत आर्थिक परिदृश्य 
१. केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४ मा देशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ६.९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । अपेक्षा गरिएभन्दा राम्रो वर्षा, पूनर्निर्माणको कार्य तथा उर्जा आपूर्तिमा भएको सुधारका कारण लक्षितभन्दा वढि आर्थिक वृद्धिदर हासिल हुने देखिएको हो । 
२. अनुकुल मौसमको कारण चालू आथिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ५.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष यो क्षेत्रको वृद्धिदर ०.०३ प्रतिशत रहेको संशोधित अनुमान छ । 
३. चालू आर्थिक वर्षमा औद्योगिक क्षेत्रको उत्पादनमा १०.९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा खासगरी अत्यावश्यक इन्धन तथा कच्चा पदार्थको सहज आपूर्ति तथा विद्युत आपूर्तिमा आएको सुधारका कारण औद्योगिक क्षेत्रको उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । गत वर्ष यो क्षेत्रको वृद्धिदर ६.३ प्रतिशतले ऋणात्मक रहेको संशोधित अनुमान छ । 
४. चालू आर्थिक वर्ष सेवा क्षेत्र ६.९ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको वृद्धिदर २.०६ प्रतिशत रहेको संशोधित अनुमान छ । 
५. गत वर्ष कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अनुपात ९६.२ प्रतिशत रहेको तुलनामा चालूआर्थिक वर्ष सो अनुपात घटी ८९.७ प्रतिशतमा कायम रहने प्रारम्भिक अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अनुपात १०.३ प्रतिशत हुने र कुल राष्ट्रिय बचत अनुपात ४३.८ प्रतिशत पुग्ने अनुमान छ । अघिल्लो वर्ष कुल राष्ट्रिय बचत अनुपात ४०.० प्रतिशत रहेको थियो । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

६. २०७३ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकोमा २०७३ चैत महिनामा केही वृद्धि भई ३.८ प्रतिशत कायम भएको छ । २०७२ चैत महिनामा सो मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण गत वर्षको तुलनामा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको छ । 

खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १०.० प्रतिशत, तरकारीको मूल्यमा ९.७ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ३.० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.३ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १३.९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.० प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.० प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.६ प्रतिशत, तराईमा ३.४ प्रतिशत, हिमालमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.० प्रतिशत, तराईमा ८.३ प्रतिशत, हिमालमा ८.० प्रतिशत र काठमाडौं उपत्यकामा ११.७ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७३ चैत महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.० प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति ३.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.७ प्रतिशत र ५.४ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ४.३ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.१ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.० प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १२.२ प्रतिशत, १८.१ प्रतिशत र ११.० प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१३. आर्थिक बर्ष २०७४ को नौ महिनासम्ममा कुल वस्तु निर्यात १२.१ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २३.४ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १५.७ प्रतिशत, चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ७.५ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु आयात ३९.७ प्रतिशतले बढेर रु. ७२६ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ५१.२ प्रतिशत, चीनबाट भएको आयात १२.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम लगायतका वस्तुहरुको आयात घटेको छ । 
१५. भन्सार नाकाका आधारमा जलेश्वर भन्सार नाका, भैरहवा भन्सार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र विराटनगर भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४२.६ प्रतिशतले बढी रु. ६७१ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४ को नौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ग्लष्त ख्बगिभ क्ष्लमभह० वार्षिक बिन्दुगत आधारमा ८.८ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ५.४ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ३.३ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २४.५ प्रतिशतले बढेको थियो । कार्पेट, अलैचीं, पश्मिना, चियाको, निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आय २०.६ प्रतिशत र कुल सेवा खर्च २१.४ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ६ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ५ अर्ब ९५ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ४५.३ प्रतिशतले वृद्धि भई रु. ४४ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६.१ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
१९. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले वृद्धि भई रु. ५११ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १० प्रतिशतले वृद्धि भई रु. ६१९ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.५ प्रतिशतले बढेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
२०. अघिल्लो बर्षको नौ महिनामा रु. १३३ अर्ब १९ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १० अर्ब ३४ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको नौ महिनासम्ममा रु. १६३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ५० अर्ब ६४ करोडले बचतमा रहेको छ । 
२१. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. १० अर्ब ४१ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ११ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. १० अर्ब ८२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब १९ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२२. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट १.७ प्रतिशतले वृद्धि भई २०७३ चैत मसान्तमा रु. १०५७ अर्ब ३८ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ चैत मसान्तमा ०.८ प्रतिशतले वृद्धि भई रु. ८९४ अर्ब १६ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ७.२ प्रतिशतले वृद्धि भई रु. १६३ अर्ब २२ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.९ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.७ प्रतिशत, ९५.४ प्रतिशत र ४२.९ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
२४. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०७२ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४३.०२ रहेकोमा २०७३ चैत मसान्तमा २८ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५५.०५ कायम भएको छ । त्यसैगरी, २०७२ चैत मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२५४.६० रहेकोमा २०७३ चैत मसान्तमा २.४ प्रतिशतले बढी प्रति आउन्स अमेरिकी डलर १२८४.१५ पुगेको छ । 

२५. २०७३ असार मसान्तको तुलनामा २०७३ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ३.५ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.५ प्रतिशतलेअवमूल्यन भएको थियो । २०७३ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०३.१० पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२६. आर्थिक वर्ष २०७४ को नौमहिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ६३ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ४७ अर्ब ६९ करोड रहेको थियो । 

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४६.६ प्रतिशतले वृद्धि भई रु. ४१९ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रु. २८६ अर्ब ५४ करोड पुगेको थियो । 
२८. समीक्षा अवधिमा चालू खर्च ४४.६ प्रतिशतले बढेर रु. ३०५ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २११ अर्ब ४४ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. ७४ अर्ब ९ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ३२ अर्ब ४४ करोड भएको थियो । 

सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ४४.४ प्रतिशतले वृद्धि भई रु. ४१८ अर्ब ९५ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ०.४ प्रतिशतले घटेर रु. २९० अर्ब १९ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका शीर्षकहरुमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात 
३०. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ चैत मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २३४ अर्ब ६६ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 

३१. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १६.२ प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५० अर्ब ६४ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १६३ अर्ब ८१ करोडले बढेको थियो । 
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा उक्त मुद्रा १६.४ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा यस्तो कर्जा २१.७ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७३ चैत मसान्तमा २४.४ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १२.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशतले बढेको छ । २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३६.६ प्रतिशत र ४०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९.४ प्रतिशत, ४२.८ प्रतिशत र २८.६ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.४ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १९.१ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरुको क्रमशः ०.१ प्रतिशत र २.८ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २५.१ प्रतिशतले बढेको छ । 

३८. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.६ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १७.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १६.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४.१ प्रतिशतले बढेको छ । 

३९. २०७३ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १३.१ प्रतिशत रहेको थियो । 
४०. २०७३ असार मसान्तको तुलनामा २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा विस्तार भएको छ । 
४१. २०७३ चैतसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.६ प्रतिशत (रु. ४२ अर्ब २१ करोड) छ । 
४२. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ३.२ प्रतिशत (रु. २ अर्ब ३२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.२ प्रतिशतले बढेको थियो । 

तरलता व्यवस्थापन 
४३. आर्थिक वर्ष २०७४ को नौ महिनासम्ममा खुला बजार कारोबारमार्फत रु. ६१ अर्ब तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत् कुल रु. ३३ अर्ब २१ करोड र सोझै खरीद बोलकबोलमार्फत रु. २७ अर्ब ७९ करोड तरलता प्रवाह भएको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ६१ अर्ब ७४ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
४४. आर्थिक वर्ष २०७४ को नौ महिनासम्मको अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ३ करोड खुद खरिद गरी रु. ३२४ अर्ब ५६ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ३० करोड खुद खरिद भई रु. ३४९ अर्ब ६६ करोड खुद तरलता प्रवाह भएको थियो । 
४५. आर्थिक वर्ष २०७४ को नौ महिनासम्ममा खुलाबजार कारोबारमार्पmत् रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्पmत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत् रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत्क्रमशः रु. २९७ अर्ब ५० करोड, रु. १६५ अर्ब ४ करोड र रु.९ अर्ब १० करोड गरी जम्मा रु. ४७१ अर्ब ६४ करोड तरलता प्रशोचन गरिएको थियो । 
४६. समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब २२ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी रु. ३५४ अर्ब ४ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र यूरो ६ करोड बिक्री गरी रु. २६८ अर्ब ३९ करोड बराबरको भा.रु. खरिद भएकोथियो । 
४७. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ९ अर्ब ७ करोड १० लाख र निर्यात कर्जा रु. ४२ करोड ४३ लाख गरी कुल रु. ९ अर्ब ४९ करोड ५३ लाख पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु. २ अर्ब ९० करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १२ करोड गरी जम्मा रु. ४ अर्ब २ करोड पुनरकर्जाको उपयोग भएको थियो । 
४८. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ चैत मसान्तसम्म कुल रु. ६१ करोड २३ लाख २५ हजार कर्जा प्रदान भएको छ । 
४९. वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १७.१ प्रतिशत रहेको छ । 

अन्तर–बैंक कारोबार 
५०. आर्थिक वर्ष २०७४ को नौ महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ७७२ अर्ब ५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. २९६ अर्ब ७८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ६४० अर्ब २४ करोड र रु. ६१ अर्ब ४७ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५१. २०७२ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.१ प्रतिशत रहेकोमा २०७३ चैतमा ०.९३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ चैतको १.५९ प्रतिशतको तुलनामा २०७३ चैतमा ०.७५ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ चैतको १.५२ प्रतिशतको तुलनामा २०७३ चैतमा ७.२७ प्रतिशत रहेको छ । 
५२. २०७३ चैतमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा यस्तो ब्याजदर अन्तर ६.१ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ चैतको ६.३ प्रतिशतको तुलनामा २०७३ चैतमा ८.६ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५३. वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । २०७३ चैत मसान्तसम्ममा कुल १३६ वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ९२ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४४ संस्था कायम रहेका छन् । 

पुँजी बजार 
५४. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २२.२ प्रतिशतले वृद्धि भई २०७३ चैत मसान्तमा १,६९७.१ विन्दुमा पुगेको छ । २०७२ चैत मसान्तमा उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले वृद्धि भई १,३८८.६ विन्दु कायम भएको थियो । धितोपत्र बजारमा गरिएका विभिन्न सुधारहरु एवम् वित्तीय संस्थाहरुको पूँजी वृद्धि शेयर बजार परिसूचक वृद्धिको प्रमुख कारण हुन् । 
५५. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ३०.४ प्रतिशतले वृद्धि भई २०७३ चैत मसान्तमा रु. १,९५१ अर्ब १५ करोड पुगेको छ । बजार पूँजीकरण अघिल्लो वर्षको सोही अवधिमा ५३.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग २०७३ चैत मसान्तको बजार पूँजीकरणको अनुपात ७५.१ प्रतिशत रहेको छ । बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरू (बीमा कम्पनीहरु सहित) को अंश ८६.७ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ३.६ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.० प्रतिशत, होटलहरूको १.५ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.१ प्रतिशत रहेको छ । 
५६. समीक्षा अवधिमा कुल शेयर कारोबार रकम १०७.२ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कारोबार रकममा २७३.१ प्रतिशतले वृद्धि भई रु. १४ अर्ब १३ करोड पुगेको थियो । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७३ चैत मसान्तसम्ममा २१० रहेको छ । २०७२ चैत मसान्तमा यस्तो संख्या २३१ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको संख्या १६९ रहेको छ । यस बाहेका १८ वटा उत्पादन र प्रशोधन उद्योग, १२ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४२.३ प्रतिशतले वृद्धि भई २०७३ चैत मसान्तमा रु. २६९ अर्ब ७५ करोड पुगेको छ । आर्थिक वर्ष २०७४ को नौ महिनासम्ममा रु. २ अर्ब २ करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर, रु. २१ अर्ब ५६ करोड बराबरको बोनस शेयर, रु ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. १०१ अर्ब ७९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]