May 12th, 2017

दुई अर्बबढी नाफा कमाउने चार मजबुद बैंकहरु

सुष्मा थापा-

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ वटा बैंकले अर्बमाथि नाफा कमाए । जसमध्ये, चार वटा बैंकको नाफा दुई अर्बभन्दा बढी बढी छ । दुई खर्बभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वमा दुई वटा बैंक छन् भने बाँकी दुई बैंक निजीस्तरबाट सञ्चालित छन् । समग्रमा, तेस्रो त्रैमासमा नै दुई अर्बभन्दा बढी नाफा कमाएका बैंकहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :

नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब पाँच करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब १८ करोड रुपैयाँ चुक्तापुँजी भएको नबिल बैंकले जगेडाकोषमा आठ अर्ब नौ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले तीन दशमलव ३० प्रतिशतले वृद्धि गरी एक खर्ब १७ अर्ब पाँच करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २८ प्रतिशत बढाएर ९० अर्ब ५५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ४२ प्रतिशतले बढेर चार अर्ब आठ करोड १८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ३५ दशमलव २२ प्रतिशतले बढेर चार अर्ब १० करोड नौ लाख रुपैयाँ रहेको छ । यो अवधिमा पाँच लाख रुपैयाँ खराब खर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड तीन लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २७ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ८७ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय ३१ दशमलव ८६ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्र्जा शुन्य दशमलव ५४ प्रतिशतले घटेर शुन्य ९५ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पतिमा शुन्य दशमलव ०९ प्रतिशतले बढेर १२ दशमलव ८४ प्रतिशत पुगेको छ ।

नेपाल बैंक लिमिटेड
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ६४ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ७६ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा जम्मा एक दशमलव २१ प्रतिशतले वृद्धि गरी ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २५ दशमलव ४२ प्रतिशत बढाएर ७४ अर्ब २० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा ४० दशमलव ११ प्रतिशतले बढेर चार अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ८० दशमलव १८ प्रतिशतले बढेर दुई अर्ब २० करोड छ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३० करोड ४७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड १६ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशतले घटेर दुई दशमलब ८५ प्रतिशत कायम भएको छ भने पुँजीकोषको अनुपात तीन दशमलव ९७ प्रतिशतले बढेर १३ दशमलब ५२ प्रतिशत पुगेको छ । चैत्र मसान्तसम्ममा नेपाल बैंंकको प्रतिसेयर आम्दानी ४४ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात नौ दशमलव २३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ११ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८३ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जगेडाकोषमा नौ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले छ दशमलव ३७ प्रतिशतले वृद्धि गरी एक खर्ब १९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २० दशमलव ८२ प्रतिशत बढाएर बैंकले कर्जामा एक खर्ब एक अर्ब ९४ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ८१ प्रतिशतले बढेर तीन अर्ब ४७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४१ दशमलव ९७ प्रतिशतले बढेर तीन अर्ब ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा २० करोड ५४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४३ करोड ५७ लाख रुपैयाँ राखेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३६ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २२ दशमलव १० गुणा र प्रतिसेयर नेटवर्थ दुई सय १३ दशमलव ८६ रुपैयाँ रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव १४ प्रतिशतले घटेर शुन्य ७४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पतिमा २ दशमलव ३४ प्रतिशतले घटेर १३ दशमलव ७८ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]