May 8th, 2017

‘पुनर्बीमा मार्फत विदेशी मुद्रा भित्राएका छौँ’ : नेपाल पुनर्बीमा कम्पनीका सिइओ भण्डारीसँगको अन्तरवार्ता


नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी हुन् । ९ बर्ष राष्ट्रिय बीमा संस्थान तथा २६ बर्ष नेशनल लाइफ इन्स्योरेन्समा सेकेण्ड म्यानको रुपमा काम गरेका भण्डारी २०७२ साल साउन महिनादेखि नेपालको एक मात्र पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । नेपालमा पुनर्बीमाको अवधारणा सन् २००४ बाट आकस्मिक बीमा पुलको अवधारणाबाट सुरुवात भएको हो । देशमा आतंककारी गतिविधिबाट सृजित जतिपनि जोखिमहरुलाई कम गर्न नेपालमा सञ्चालित १७ वटै निर्जीवन बीमा कम्पनीहरु तथा नेपाल सरकारको संयुक्त साझेदारीमा नेपाल पुनर्बीमाको पुल खडा भएको थियो । विस्तारै त्यही पुललाई २०७१ साल कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा परिमार्जन गरियो । बीमा समितिको तत्थ्यांक अनुसार नेपालबाट झण्डै दुई अर्ब ७० करोड रुपैयाँ पुनर्बीमा शुल्क विदेशमा गएको छ । त्यसलाई विस्तारै घटाउनको लागि नेपाल पुनर्बीमा कम्पनीको हात महत्वपूर्ण हुन्छ । चालु आर्थिक बर्षभित्र मात्रै पनि ठूलो मात्रामा पुनर्बीमा मार्फत विदेशिने रकम रोकिएको छ । यो पुनर्बीमा कम्पनीकै परिणाम हो । यसै सन्दर्भमा नेपाल पुनर्बीमा कम्पनीका सीईको भण्डारीसँग बैंकिङ खबर डट कमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंक यहाँ प्रस्तुत गरिन्छ :

नेपाल पुनर्बीमा कम्पनीको स्थापना कसरी भयो ?
जसरी, अमेरिकामा ट्वीन टावर ध्वस्त भएपछि नयाँ रिस्कको प्रारम्भ भयो, नेपालमा पनि जतिबेला सशस्त्र युद्ध भयो र ठूलो द्वन्द्ध चर्कियो । नेपालमा द्वन्द्ध चर्किएपछि ठूला ठूला क्षतिहरु भए । नेपालमा भएको द्वन्द्ध र ठूला क्षतिहरु पछि विदेशी पुनर्बीमा कम्पनीहरुले टेरोरिजम रिस्क एक्सेप्ट गर्न मानेनन् । विदेशी बीमा कम्पनीहरुले नस्वीकारे पछि नेपालमा पनि पुनर्बीमा कम्पनीको आवश्यकता महशुस भयो । विदेशी पुनर्बीमा कम्पनीले बीमा गर्न नमाने पनि यहाँको विजनेश त गर्नु पर्याे । त्यसमाथि बैंकहरुले पनि बीमा नगरीकन फाइनान्स नगर्ने भनेपछि नेपाल सरकारले एउटा पुल खडा गर्यो । जसमा नेपाल सरकारको पाँच करोड अनि १७ वटा निर्जिवन बीमा कम्पनीको ३५÷३५ लाखको दरले जम्मा ११ करोडको रुपमा एउटा आकस्मिक बीमा कोष खडा भयो । सोही कोषलाई वि.सं. २०७१ कार्तिक २० गते पाँच अर्ब चुक्तापुँजी भएको नेपाल पुनर्बीमा कम्पनीको रुपमा विकसित गरियो । त्यसमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत, १७ वटा निर्जिवन बीमा कम्पनीहरुको ३८ दशमलव ३९ प्रतिशत र वित्तीय संस्थाको गर्दा १८ दशमलव ०६ प्रतिशत लगानी रहेको छ ।

कम्पनीको वर्तमान वित्तीय अवस्था कस्तो छ ?
जब नेपालमा पुनर्बीमा कम्पनी स्थापना भयो पहिले आकस्मिक बीमा कोष टेरोरिजम पूल मात्र थियो । र टेरोरिजम अन्तर्गतको जोखिम मात्रै बहन गथ्र्यो । अहिले कम्पनीले त्यति मात्रै नभएर अन्य व्यवसाय पनि गर्न शुरु गरेको छ । समग्रमा नेपाल पुनर्बीमा कम्पनीको अहिलेको वित्तीय अवस्था राम्रो छ ।

नेपालका सबै बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनीमै पुनर्बीमा गर्छन त ?
सबै बीमा कम्पनीहरुले बीमा गरिसके पछि त्यसको पुनर्बीमा गर्नु पर्ने हुन्छ । नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा गरेका पनि छन् । तर, कुनै ५ प्रतिशत त कुनैले १० प्रतिशत मात्रै नेपालमा गर्ने गरेका छन् । बाँकी कारोबार उनीहरुले विदेशी पुनर्बिमा कम्पनीमा गर्छन् ।  बीमाको नेचर नै त्यहि हो ।

नेपाल पुनर्बीमा कम्पनीका हालका चुनौतिहरु के–के हुन् ?
नेपाल पुनर्बीमा कम्पनीका हालका चुनौति भनेको १ नम्बरमा विदेशी पुनर्बीमा कम्पनीहरु नै हुन् । विदेशी पुनर्बीमा कम्पनीको नेपालमा जग बसिसकेको छ । अब त्यो जग हल्लाउन गाह्रो छ । हामी नयाँ छौँ । त्यसैले, पहिले नै जग बसाइसकेका कम्पनीले जस्तै सेवा सुविधा अहिले नै दिन सक्दैनौँ ।
अर्को कुरा, अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने भारत, बंगलादेश, भुटान लगायतका देशमा पुनर्बीमा कम्पनीको स्थापना हुँदा सरकारले कडा नीति ल्याउछ । जिआइसिसि भुटानको कुरा गर्ने हो भने पनि त्यहाँ कम्तिमा पनि २० प्रतिशत त्यो कम्पनीमा पुनर्बीमा गर्नुपर्छ भन्ने प्रावधान रहेको थियो । बंगलादेशमा अझ ५० प्रतिशत छ । अन्य देशहरु जहाँ पुनर्बीमा कम्पनी खोलिएका छन् त्यहाँ त्यो प्रावधान छ । तर, नेपालमा त्यो प्रावधान छैन ।

नेपालका करिब ९२ प्रतिशत जनता अझै बीमाको पहुँचभन्दा बाहिर छन् । अनि नेपालका बीमा कम्पनीहरुले विदेशी कम्पनीसँग बढी पुनर्बीमा गर्छन् । यसले नेपाल पुनर्बीमा कम्पनीलाई कत्तिको असहज भएको छ ?
असहज त हुन्छ नै । बर्षौँदेखि व्यवसाय गर्दै आएका कम्पनीहरुको व्यवसाय हामीले खोस्न सक्दैनौँ । बीमा कम्पनीहरु पनि यसको प्रोमोटर भएकाले चाहिँ अहिलेदेखि विस्तारै जाउँ भनेर सपोर्ट पनि गरिरहनुभएको छ । लगानीकर्ता पनि आफैँ र व्यवसाय दिने पनि आफैँ भएकाले विस्तारै विस्तारै बीमा कम्पनीहरुले लगानी बढाउँछन् भन्ने मलाई लाग्छ ।

नियामक निकाय बीमा समितिको कत्तिको सहयोग पाउनु भएको छ ?
बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई आवश्यकता अनुसार सहयोग गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको स्थापनाका लागि पनि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले महत्वपूर्ण सहयोग गरेको थियो । अहिले पनि हामीलाई आवश्यकता अनुसार सहयोग गरि नै रहेको छ । र आगामी दिनहरुमा पनि सहयोग गर्छ भन्ने मैले विश्वास लिएको छु । बीमा समितिले हामीलाई अरु विदेशी पुनर्बीमा कम्पनी जस्तै सहयोग गर्छ भन्ने अपेक्षा गरेका छौँ ।

विदेशी पुनर्बीमा कम्पनीको जस्तै विजनेस बनाउन नेपाल पुनर्बीमा कम्पनीका लागि बीमा समितिले के गर्नु पर्ला ?
नियामक निकाय बीमा समिति, नेपाल सरकार, अर्थ मन्त्रालय लगायतले नेपाल पुनर्बीमा कम्पनीलाई स्थापित गर्न निश्चित मापदण्ड तोकेर कम्तीमा यति प्रतिशतको व्यवसाय स्वदेशी बीमा कम्पनी बाटै गर्नु पर्छ भनेर निति बनाइदिनु पर्छ । यस्तो प्रकारको नीति बनाएको अवस्थामा पक्कै पनि नेपालमा पुनर्बीमा सफल हुन्छ । यो नीति भएपछि विदेशी पुनर्बीमा कम्पनी जस्तै स्वदेशी पुनर्बीमा कम्पनी पनि फष्टाउछ । साथमा पुनर्बीमा मार्फत बिदेशमा जुन बैदेशिक मुद्रा जाँदैछ, त्यो पनि कम हुन्छ ।

चालु आर्थिक बर्षमा पुनर्बीमा मार्फत विदेशिने कति रकम रोकियो त ?
अहिले हामीले साढे ३ अर्बको व्यवसाय गर्छौँ भने साढे तीन अर्बमा हामीले पनि त पुनर्बीमा गर्नु पर्छ नि । हामी शतप्रतिशत रिस्क लिन त सक्दैनौँ । त्यो वापत हामीले नोमिनल प्रिमियमको रुपमा ३०÷३५ करोड मात्रै तिरे पछि यो ३०÷३५ करोडबाट तीन अर्ब विदेश जाने रकम यहाँ रोक्न सफल भएका छौँ । चालु आर्थिक बर्षको अहिलेसम्म हामीले एक अर्र्ब ५० करोड रकम जति बिदेशिनबाट रोकेका छौँ । त्यति मात्रै होइन हामीले पुनर्बीमा मार्फत विदेशी मुद्रा पनि भित्राएका छौँ । बंगलादेश, भुटान, केन्या, युएई, माल्दिभ्स, श्रीलंका, अफगानिस्थान लगायतका ११ वटा देशका २६ वटा बीमा कम्पनीहरुसँग हामीले बीमा व्यवसाय गरिरहेका छौँ । हामीले सबैभन्दा बढी बंगलादेशका बीमा कम्पनीहरुसँग बीमा व्यवसाय गरिरहेका छौँ । हामीले बीमा कम्पनीको मात्र होइन पुनर्बीमा कम्पनीको पनि बीमा गरेका छौं । केन्याको एउटा रि–इन्स्योरेन्स कम्पनी छ हामीले त्यसको पनि बीमा गरेका छौँ । अर्को जिआईसि भुटान रि त्यहाँको पनि हामीले बीमा गरेका छौँ । अन्य कम्पनीहरु जसले अरुको पुनजर्बीमा गर्ने गर्छन् हामीले तिनीहरुको पनि बीमा गरेका छौँ । अहिले हाम्रो क्षमताको आधारमा ३५ करोड रकम हामीले बिदेशमा पठाउछौँ । १५ करोड चाहि हामीले बिदेशबाट भित्राउछौँ । अहिले बिदेशमा जाने भनेको त २० करोड रुपैयाँ मात्रै हो ।

पुनर्बीमा कम्पनीको बीमा गर्नका लागि के छ स्विकृति लिनु पर्ने प्रावधान ?
पुनर्बीमा कम्पनीको बीमा गर्नका लागि हामीले नियामक निकाय बीमा समितिबाट स्विकृति लिनु पर्ने आवश्यकता पर्दैन । तर उहाँहरुले पत्याउनु चाहिँ पर्छ । उहाँहरुले विश्वास गर्नुभयो भने स्वीकृति नै चाहिँ लिइरहनुपर्दैन ।

नेपाल पुनर्बीमा कम्पनीको आगामी योजना के–के छन् ?
नयाँ आर्थिक बर्ष आउँदैछ नयाँ आर्थिक बर्षमा हाम्रो क्षमतालाई अझ अभिवृद्धि गर्दै लैजाने योजना बनाएका छौँ । स्वदेशी बीमा कम्पनीहरुसँग त छँदै छ विदेशी बीमा कम्पनीहरुसँग पनि बढी भन्दा बढी बीमा व्यवसाय गर्ने हाम्रो साचाई हो । त्यसको लागि हामीले कम्पनी रेटिङ गर्नुपर्ने हुन्छ । पुनर्बीमा कम्पनी रेटिङ गर्दा खास गरी दुई वटा कम्पनीले गर्छ एउटा ‘एएम बेस’ र अर्को ‘स्टाण्डर्ड एण्ड पोर’ हुन्छ । ‘स्टाण्डर्ड एण्ड पोर’ मा कन्ट्रोल रेटिङ हुनुपर्छ । हामी पनि त्यो रेटिङ गर्ने प्रोसेसमा छौँ । त्यो रेटिङ भए पछि हाम्रो पनि एउटा लिमिट स्टाण्डर्ड हुन्छ । त्यो लिमिट स्टाण्डर्ड भइसके पछि हामीलाई अझ बढी विदेशी कम्पनीहरुले विश्वास गर्छन् र  हाम्रो व्यवसाय वृद्धि हुन्छ । हाम्रो आगामी योजना भनेको स्वदेशी अथवा विदेशी बीमा कम्पनीहरुसँग मिलेर बढी भन्दा बढी व्यवसाय संकलन गर्ने नै हो ।

बीमामा नागरिकको पहूँच ज्यादै न्यून छ, बीमाको पहुँच वृद्धि गर्नका लागि के गर्नुपर्ला ?
वास्तवमै नेपालमा बीमाको पहुँच ज्यादै न्युन छ । बीमाको पहुँच बढाउनका लागि कुनै एक क्षेत्र मात्रै लागेर हुँदैन । विभिन्न क्षेत्रबाट लाग्नुपर्ने हुन्छ । जस्तो तपाईँ पत्रकार । तपार्इँ पनि पत्रकारिताको क्षेत्रबाट लाग्नुपर्छ । सम्बन्धित बीमा कम्पनी पनि लाग्नु पर्छ, नियामक निकाय बीमा समिति पनि लाग्नु पर्छ, नेपाल सरकार पनि लाग्नु पर्छ । पछिल्लो समय सबै क्षेत्रबाट बीमाको पहुँचमा बृद्धि हुँदै आएको छ । जस्तो स्वास्थ्य बीमा तथा कृषि बीमामा आकर्षण बढ्दो छ । सरकारले नै पशु बीमा, बाली बीमा लगायत गर्नुपर्छ भनेको छ । सबै जनताको पहुँचमा बीमा पुर्याउनका लागि स्पष्ट खाकासहित योजना बनाउनुपर्छ ।

नेपालको अर्थतन्त्रमा पुनर्बीमा कम्पनीको भूमिका बारे विश्लेषण गरिदिनोस न ।
बीमा भन्ने वित्तीकै अर्थतन्त्रमा एउटा ठूलो भूमिका खेल्ने संस्था भन्ने बुझ्दा हुन्छ । बीमा कम्पनीले सानो सानो रकम जम्मा गरेर बनाएको ठूलो पुँजीलाई बैंक तथा वित्तीय संस्थाहरुको माध्यमबाट गरिएको लगानीले उद्योगहरुको विकास हुन्छ । त्यस्तै यो पुनर्बीमा कम्पनीको पनि अर्थतन्त्रमा महत्वपूर्ण भूमिका छ । अहिले हाम्रो लक्ष्य साढे तीन अर्ब रुपैयाँको छ । यो साढे तीन अर्ब रुपैयाँ हामीले बैंकहरुमा नै लगानी गछौँ । त्यो रकम बैंकहरुले अन्य उद्योगी व्यवसायीहरुलाई कर्जा दिन्छ । हामीले गरेको त्यो लगानीले नेपालको राष्ट्रिय अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्छ ।

अन्तमा, राजनीतिक अस्थिरताले बीमा क्षेत्रलाई कत्तिको प्रभाव पार्छ ?
नेपालको राजनीतिक अस्थिरताले बीमा क्षेत्रमा खासै असर गर्दैन । बरु सपोर्ट चाहिँ ,हुन्छ । किनभने जहाँ जोखिम हुन्छ, त्यहाँ बीमा पुग्नु पर्छ । विभिन्न समयमा नेपालमा आन्दोलन, तोडफोड हुने गरेका छन् । हुन त यस्ता घटनाले सरकारलाई नकरात्मक असर पर्छ । तर, जहाँ जोखिम हुन्छ त्यहाँ बीमा व्यवसाय बढ्छ । शत प्रतिशत त भन्न मिल्दैन । केहि हदसम्म राजनीतिक अस्थिरताले बीमा व्यवसायलाई फाइदा हुन्छ । यसमा मैले तोडफोड गर, क्षति गर बीमाले पैसा तिरिदिहाल्छ भन्न खोजेको चाहि होइन । जोखिमसँग सम्बन्धित भएकाले बीमा क्षेत्रलाई सपोर्ट चाहिँ हुन्छ ।  

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]