May 1st, 2017

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ३७ करोड लगानी गर्ने, बैंकहरुबाट प्रस्ताव आह्वान

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब ३७ करोड ८४ लाख ७९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले आफ्ना विभिन्न कोषमा रहेको उक्त रकम २०७४ जेठ १ गतेदेखि २०७५ वैशाख ३१ गतेसम्मका लागि एक वर्षे मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमा एक अर्ब १० करोड २७ लाख ८५ हजार रुपैयाँ, ‘ख’ वर्गका वित्तीय संस्थामा २० करोड ६७ लाख ७१ हजार रुपैयाँ र ‘ग’ वर्गका संस्थामा छ करोड ८९ लाख २३ हजार रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न चाहेको छ । 

मुद्दती निक्षेपका रूपमा रकम लिन चाहेको रकम खुलाई वैशाख १९ गते दिउँसो ३ बजेभित्र दरखास्त बुझाउन बैंक तथा फाइनान्स कम्पनीहरुलाई अनुरोध गरिएको छ । तोकिए अनुसारको शिलबन्दी दरभाउपत्रसम्बन्धी फाराम भरी कुल लगानीयोग्य रकममध्ये मुद्दती निक्षेपका रूपमा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई दर्ता गर्न आह्वान गरिएको छ । 

कस्ता बैंकले लिन पाउँछन् रकम ?
रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र न्यूनतम पूँजीकोष कायम रहेको हुनुपर्ने छ । निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएका र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेका बैङ्कहरू पनि त्यसमा सहभागी हुन पाउनेछन् । लगानीयोग्य हुन तोकिएका संस्थाको कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैङ्कले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको तथा अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियल इस्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुनुपर्ने छ ।

जरीवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक भएका वित्तीय संस्थाहरू यसमा सहभागी हुन पाउने छैनन् । शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महीना पूरा भएको हुनुपर्ने छ भने सहभागी हुन बैङ्कहरूले सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको र समस्याग्रस्त घोषणा भएकोमा फुकुवा भइसकेको ६ महीना अवधि पूरा भएका बैङ्क तथा वित्तीय संस्थाहरू भने यस लगानीमा सहभागी हुनसक्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]