April 23rd, 2017

वैदेशिक रोजगारीको विवरण बुझाउँदैनन् मेनपावर कम्पनीहरु

मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीको विवरण बुझाउन आनाकानी गरेका छन् । सरकारले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेपछि मेनपावर कम्पनीलाई कामदार पठाउँदा लिएको शुल्क र आर्थिक कारोबारको विवरण बुझाउन पत्राचार गरेकामा मेनपावर कम्पनीहरूले विभिन्न बाहना बनाएर विवरण बुझाउन अस्वीकार गरेका हुन् ।

वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटमा खाडीमुलुक र मलेसिया गएका कामदारको विवरण एक साताभित्र उपलब्ध गराउन गत चैत्र १ गते निर्देशन दिएको थियो । यद्यपि, हालसम्म एक सय १० वटा कम्पनीले मात्र विवरण बुझाएका छन् । हाल देशभर इजाजत प्राप्त सात सय ५४ मेनपावर कम्पनी सञ्चालनमा छन् । एक साताको समयमा थोरै कम्पनीले मात्र विवरण बुझाएपनि विभागले थप १५ दिनको समय दिएको छ । यता, मेनपावर कम्पनीहरु भने विवरण नबुझाउनका लागि दबाब सिर्जना गर्नतर्फ जुटेका छन् ।  

सरकारले आर्थिक कारोबारलाई पारदर्शी बनाउन प्रवद्र्धन खर्च तथा सेवा शुल्कसम्बन्धी विवरणअन्तर्गत शून्य लागत, १० हजार रुपैयाँ लिएको विवरण, हालसम्म कामदारबाट उठाएको पैसाको विवरण, रकम जम्मा भएको बैंक भौचर बुझाउन निर्देशन दिएको छ । त्यस्तै, हवाई टिकटबापत रोजगारदाताबाट पैसा लिएको भए प्राप्त पैसाकोे विवरण, सो पैसा प्राप्त गर्न सेवा लिएको बैंक वा रेमिट्यान्स कम्पनीको समेत नाम उल्लेख गर्न समेत निर्देशन दिएको छ ।

सरकारले खाडीमुलुक र मलेसिया जाने कामदारका लागि ०७२ साल असार २१ गतेदेखि फ्री भिसा फ्री टिकटको निर्णय लागू गरेको थियो । सरकारी निर्णयविपरीत कामदारसँग रकम असुल गर्ने म्यानपावर कम्पनीलाई संगठित अपराध ऐन अनुसार कारबाही गरिने भन्दै कामदारसँग रकम असुल गर्ने कम्पनीको विवरण प्रहरीले २ महिनादेखि संकलन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]