April 21st, 2017

ढुकुटी खेल्दै हुनुहुन्छ ? गैरकानूनी अपराधमा फस्नुहोला (हेर्नुहोस् विवरण)

ढुकुटी नेपालमा गैरकानूनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो । सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन् । सबैभन्दा राम्रो २० जनाको समूह हुने खेलाडीहरु बताउँछन् । दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्व्निर्धारीत प्रक्रियाबाट छानिएको खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ ।

समूहअनुसार ढुकुटी खेल्ने आआफ्नै नियम हुन्छन् । कसैले गोलाप्रथा गर्छन्, केही पैसा छोड्छन् । कुनैमा नम्बर सिस्टम पनि चलेको पाइन्छ । गोलाप्रथा ढुकुटीको प्रचलित नियम हो । यसमा जसलाई ’बधाई’ लेखिएको गोला पर्छ, त्यो पटकको ढुकुटी उसैले खान्छ । अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ, उसैले ढुकुटी खान्छ । यो नियममा जति छोडेर पनि खान पाउने तथा किस्ताअनुसार न्यूनतम वा अधिकतम यति छोड्नैपर्ने भनेर पूर्वसहमति गरिएको हुन्छ । तेस्रो, सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ, उसैले ढुकुटी खान्छ ।

ढुकुटी चलाउने ’घोप्पा’
ढुकुटी सञ्चालन गर्ने व्यक्तिलाई ’घोप्पा’ भनिन्छ । उसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ । जोखिम बहन गर्ने मुख्य व्यक्ति ऊ नै हुन्छ । सञ्चालकले ढुकुटीको पहिलो किस्ता आफैँ राख्छ । जोखिम बहन गरेबापत सञ्चालकले कमिसन पाउनुका साथै खाजा खर्चको रकम बचत गर्न सक्छ । प्रायः जति रूपैयाँको ढुकुटी खेलिएको हुन्छ, त्यसको एक प्रतिशत खाजा खर्च तोकिएको हुन्छ । ढुकुटीमा संकलन हुने रकमअनुसार ढुकुटी खेल्ने स्थान तय गरिएको हुन्छ । महँगा होटलदेखि चल्तीका रेस्टुरेन्टमा हुने खेलमा मदिरा खाएर मोजमस्ती गरेपछि शुरु हुन्छ, खल्ती रित्याउने र ढुकुटी भर्ने काम ।

ढुकुटीको सुरुवात
ढुकुटीको शुरुवात थकाली समुदायबाट भएको मानिन्छ । आफ्नो समुदायको गरीब सदस्यलाई आर्थिक सहायता उपलब्ध गराउन नजीकका दाजुभाइ तथा इष्टमित्रले रकम संकलन गरी दिने प्रचलन थकाली समुदायमा अहिले पनि छ । यसरी प्राप्त रकमबाट व्यापार व्यवसाय गरी पछि बिस्तारै तिर्दै जाने गरिन्छ । काठमाडौँका माडवारी समुदायमा ढुकुटी खेल्ने गरिएको पाइन्छ । ४० वर्षअघि सहरी क्षेत्रमा व्यवसायिक रुपमा ढुकुटी खेल्न थालिएको इतिहास पाइन्छ । थकाली समुदायमा खेलिने ढुकुटीमा पालैपालो पैसा खाने नियम छैन । व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गर्न पैसाको आवश्यकता परिरहेको व्यक्तिलाई आफन्तजन मिलेर दामासाही रकम संकलन गरी पैसा दिने गरिन्छ । सहकारी वा अन्य वित्तिय संस्था नहुँदा यो समुदायले आर्थिक समृद्धिका लागि सहकारीका रूपमा ढुकुटीलाई प्रयोग गर्ने गरेको थियो । 

जोखिमपूर्ण खेल
एउटा समुदायले सामाजिक उद्देश्य लिएर सुरु गरेको ढुकुटीले आज अवैध धन्धाको रुप लिइरहेको छ । ढुकुटीको नाममा समूहको ठूलो रकम रकम कुम्ल्याएर हिड्ने प्रचलन बढेपछि यसप्रति निगरानी बढाइएको छ । नेपालमा ढुकुटीले कानुनी मान्यता पाएको छैन । 

आपसी समझदारीमा खेलिने यो खेल विभिन्न नियमअनुसार खेलिन्छ । पहिलो नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्ने हुन्छ, जुन ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमा दामासाहीले बाँडिन्छ । अन्तिममा ढुकुटी खानेलाई फाइदा हुने भए पनि अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा रकम डुब्ने जोखिम पनि उत्तिकै हुन्छ ।

प्रतिशत छोडेर खाने ढुकुटीमा भने अगाडिकै किस्तामा खानेहरूले प्रतिस्पर्धामा धेरै रकम छोडेर ढुकुटी खान्छन्, जुन रकमलाई उच्चतम आम्दानी हुने क्षेत्रमा लगानी गर्न नसके घाटा हुन्छ । छोडेर खाने ढुकुटीमा भने छोडेर जति रकम खाएको छ, प्रत्येक सदस्यमा त्यो रकम भाग लगाएर एकमुष्ट संकलन गरिन्छ । ठूलो रकमको ढुकुटीमा चेक वा बढीमा सात दिनभित्र नगद दिनुपर्ने नियम लगाइएको हुन्छ ।

कति रकमको ढुकुटी खेल्ने भन्ने कुरा खेलाडीको रकम निकाल्न सक्ने क्षमतामा निर्भर गर्छ । ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ । आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउँछन् । ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्छ । कुनै पनि लिखित कानुनी आधार नहुने भएकाले विश्वासमा अलिकता संकट आउनेबित्तिकै करोडौँ रकम डुब्ने खतरा हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]