April 19th, 2017

लोभलाग्दो इजरायलको कृषि व्यबसाय (हेर्नुहोस् रिपोर्टमा)

इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ । पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन् ।

कृषि क्षेत्रप्रतिको मोह 
अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । १० महिनाको तालिम अवधिभर तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् । व्यावसायिक कृषिबारे इजरायलमा गएर सीप सिक्न युवा युवतीको उत्तिकै आकर्षण बढेको साना किसान बैंक बताउँछ । इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । पहिला साना किसानका छोराछोरी भनेर दश जोड दुई अध्ययन गरेकालाई लिने गरेको इजरायलले अहिले कृषि सम्बन्धी कोर्ष गरेको हुनुपर्ने मापदण्ड बनाएको छ । अहिले काठमाडौँ विश्वविद्यालयबाट ३ हप्ताको तालिम लिएर इजरायल गएर १० महिना तालिम पश्चात नेपाल फर्केपछि पुनः एक हप्ताको तालिम लिएपछि मात्र प्रमाणपत्र (सर्टि्फिकेट) पाउँछन् ।

विश्वमै चर्चित इजरायल
कृषि प्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् तर पढेलेखेका युवाको यो क्षेत्रमा रुचि छैन । क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा आधुनिक तरिकाले गरेको व्यावसायिक खेती विश्वमै चर्चित मानिन्छ ।

कसरी पुग्छन् इजरायल
साना किसान सहकारी संस्थामा आवद्ध भएका दश जोड दुई ९प्लस २० गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । उनीहरुमध्येबाट विभिन्न चरणको छनोट गरिन्छ । अन्तर्वाता इजरायलीले नै लिन्छन् । पास भएकाले मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट पेस गरेपछि यहाँ तीन हप्ता तालिम लिएपछि मात्र इजरायल जान पाउँछन् । इजरायलमा हप्ताको एक दिन पढ्ने र पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपर्छ । इजरायलको कृषि राम्रो भएकाले उताबाट फर्केपछि, कृषिको आधुनिकिकरण, टेन्ट हाउसमा कसरी खेती गरिन्छ, मुलुकलाई कृषिको आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सीप सिक्ने अवसर मिल्छ । इजरायलबाट फर्केर आएका युवाले झापा मोरङ, मकवानपुर, धादिङ, नवलपरासी र चितवनमा व्यावसायिक कृषिमा लागेको बैंकले जनाएको छ ।इजरायलय गएकामध्ये हालसम्म चारजना उतै लुकेर बसेको बताइएको छ । भागेकालाई निगरानीमा राखी स्वदेश फर्काउने पहल भइरहेको बैंकले जनाएको छ ।

कोटा बढाउने सङ्केत 
इजरायलले भूकम्पपीडित क्षेत्रलाई प्राथमिकता दिएर कोटा बढाउने सङ्केत गरेको छ, परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो इजरायल भ्रमणले यसमा बल पुगेको बताइएको छ ।इजरायलको प्रविधि र सीपलाई नेपालमा प्रयोग गरी उत्पादन गर्ने उद्देश्यले युवालाई इजरायल पठाइएको हो । इजरायलयको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गरी यसलाई कसरी नियमित र युवालाई आकर्षित गर्नसके यो कार्यक्रम प्रभावकारी हुने जानकारहरु बताउँछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]