April 15th, 2017

विलय हुँदैछन् बलिया ‘विकास बैंकहरु’ पनि 

रुपा कोइराला
एक दर्जनभन्दा बढी विकास बैंकहरु मर्जर तथा एक्विजिसनबाट आफ्नो नामै मेटाउन लागेका छन् । यसरी आफ्नो नाम नै नरहने गरी मर्जर तथा एक्विजिसनको सम्झौता गर्नेमा केही राष्ट्रिय स्तरका विकास बैंकहरु छन् भने केही क्षेत्रीय स्तरका विकास बैंकहरु छन् । 

पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई दिएको समयावधि सकिन अब तीन महिना मात्रै बाँकी छ । यसै कुरालाई ध्यानमा राख्दै केही विकास बैंकहरुले वाणिज्य बैंकमा विलय हुने सहमति गरेका छन् भने केही विकास बैंकमा नै मिल्ने भएका छन् । 

आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिएर हाल ७८ करोड ८५ लाख रुपैयाँ रहेको चुक्तापुँजीलाई एक अर्ब रुपैयाँभन्दा बढी बनाउन लागेको रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव दशौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको बैंकले हकप्रद निष्काशन खारेज गरी ग्लोबल आईएमईसँगको एक्विजिसनलाई नै अघि बढाउने निर्णय गरेको हो ।

त्यस्तै, आफैँ अढाई अर्ब चुक्तापुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कायम रहने सक्ने क्षमता भएर पनि सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरेर सबैलाई चकित पारेको छ । सिद्धार्थ र जनताबीच एक बराबर एकको स्वाप रेसियो तय भएको छ । 
काष्टमण्डप डेभलपमेन्ट बैंकले कुमारी बैंकसँग एक्विजिसन सम्झौता गरेको छ । हालै २५ प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको मुनाफाबाट २३.३७ प्रतिशत बोनस सेयर वितरण चुक्तापुँजी एक अर्ब नघाएको बैंकले आफैँ कसरत गरेर पुँजी बढाउनुको सट्टा कुमारी बैंकमा विलय हुने निर्णय गरेको छ । काष्टमण्डपसँगै कुमारीमा काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स पनि गाभिँदैछन् । 
राष्ट्रिय स्तरको सबल विकास बैंकमध्येमा गनिएको एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक बराबर ०.४१ को स्वाप रेसियोमा खरिद गर्दैछ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब रुपैयाँ नाघिसकेको छ । तरपनि बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गरेर थप सबल बन्ने योजना बनाएको छ ।  

त्यसैगरी, पुँजीवृद्धिका लागि राष्ट्र बैंकले निर्धारण गरेको म्याद सकिन ३ महिना मात्र बाँकी रहँदा मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मर्जरमा जाने सहमति गरे । आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन कसरत गरिरहेको बैंकले गत माघ ६ गते मेगा बैंकसँग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यी दुई बैंक १००ः ९५ को स्वार रेसियोमा गाभिनेछन् । 

अल्पाइन डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक सेञ्चुरी कमर्सियल बैंकमा विलय हुँदैछन् । चार वटै बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेपछि एक्विजिसन प्रक्रिया अघि बढाइने बताइएको छ । यसबाहेक, सेञ्चुरीले सगरमाथा फाइनान्सलाई पनि खरिद गर्दैछ । 

अर्को राष्ट्रियस्तरको विकास बैंक एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले खरिद गर्दैछ । सरकारको स्वामित्वमा रहेका दुई संस्थाबिचको एक्विजिसनलाई अर्थमन्त्रालयले स्वीकृति प्रदान गरी मन्त्रिपरिषदले पनि पारित गरिसकेको छ ।

वाणिज्य बैंकहरुमा विकास बैंकहरु गाभिने लहर चलिरहँदा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले भने लुम्बिनी फाइनान्ससँग आफ्नै नामै मेटिने गरी मर्जरमा जाने सम्झौता गरेको छ । गत वर्ष मात्रै भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर बनेको भिबोर सोसाईटीले मर्जरपछि लुम्बिनी डेभलपमेन्ट बैंक नाम रहने गरी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँग मर्जर सम्झौता गरेको हो । उक्त मर्जरपछि मुलुककै सबैभन्दा ठूलो विकास बैंक बन्ने बताइएको छ । 

यता, राष्ट्रिय स्तरका दुई विकास बैंकहरु यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिएर देशकै सबैभन्दा ठूलो विकास बैंक बन्दैछन् । मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । यो मर्जरपछि बन्ने बैंकको नाममा यती डेभलपमेन्ट बैंकको नाम हराउने छ । यी दुई बैंकबिच मर्जरपछि महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा महालक्ष्मीबाट चार र यतीबाट चार गरी कुल आठ सदस्य रहने व्यवस्था गरिएको छ । 

प्राइम कमर्सियल बैंक लिमिटेडसँग बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडको एक्विजिसन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । यी दुई बैंकलाई खरिद गर्नका लागि प्राइमले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी तीन संस्था एक्विजिसनमा जान लागेका हुन् । दुई विकास बैंकलाई एकवायर गरेपछि प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुग्नेछ ।

त्यसैगरी, ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्दैछ । राष्ट्रिय स्तरको ज्योति विकास बैंकले क्षेत्रीय स्तरको राप्तीभेरीलाई खरिद गरेर ज्योतिले दुई अर्ब ३५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । त्यसपछि, विकास बैंकहरुको सूचिबाट राप्तीभेरी विकास बैंकको नाम पनि हराउनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]