April 14th, 2017

२०७३ सालको अन्तिम साता नेप्से परिसूचक ४६ अंकले बढ्यो, कारोबारमा पनि वृद्धि  

२०७३ सालको अन्तिम साता सेयर बजार सन्तोषजनक नै रह्यो । साताको पहिलो दिन सामान्य बढेर सोमबार र मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक अन्तिम दुई दिन घटेर बन्द भयो । समग्रमा भने साताभरमा नेप्से परिसूचक बढेको छ । गत साताको अन्तिम दिन १६५१.०४ अंकमा पुगेर बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन १६९७.१३ अंकमा पुगेको छ । यस आधारमा हेर्दा, यो साता नेप्से परिसूचक ४६.०९ अंकले बढेको छ । 

यो साता कारोबार रकम पनि उत्साहजनक नै देखिएको छ । पहिलो दिन एक अर्ब २१ करोडको कारोबार भएको बजारमा दोस्रो दिन एक अर्ब ६२ करोडको कारोबार भयो भने मंगलबार एक अर्ब ९० करोडको कारोबार भयो । त्यस्तै, बुधबार र विहीबार क्रमशः दुई अर्ब सात करोड र एक अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । समग्रमा, यो साताभर नेपाल स्टक एक्सचेन्जमा आठ अर्ब ३० करोड २३ लाख ३३ हजार आठ सय ४४ रुपैयाँ पुँजी परिचालन भएको छ । 

यो साता एनसीसी बैंकको ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसबाहेक, नेपाल बैंक, गुराँस लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स लगायतको धेरै कारोबार भएको छ । गोर्खाज फाइनान्स, कालिमा माइक्राक्रेडिट, ग्रीन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले कमाएका छन् भने रिलायन्स फाइनान्स, एनबि इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]