April 10th, 2016

उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैँकहरुलाई आह्वान

chintamani siwakotiनेपाल राष्ट्र बैँकका अधिकारीहरुले बैँक तथा वित्तिय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न आह्वान गरेका छन् । राष्ट्र बैँक सिद्धार्थनगरको आयोजनामा भैरहवामा सम्पन्न जोखिम व्यवस्थापनका दृष्टिकोणले विकास बैँकहरु विषयक एक दिने गोष्ठीमा अधिकारीहरुले उत्पादनशील क्षेत्रको लगानीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले घरजग्गा, गाडी जस्ता गैरउत्पादनशील क्षेत्रमा लगानी बढ्दा वित्तिय संस्था छिटो संकटमा पर्न सक्ने भन्दै वित्तिय लगानीको सुरक्षाका लागि उत्पादनशील क्षेत्र उचित रहेको औँल्याए । उनले गैरकानुनी ढंगबाट भित्रिएको लगानी बैँकिङ क्षेत्रमा प्रवेश गर्न नदिन बैँक तथा वित्तिय संस्थालाई विशेष सचेत रहन समेत लआग्रह गरे । ऐन, नियम र निर्देशनविपरित कार्य गर्ने परिपाटीको अन्त्यका लागि संस्थागत सुशासनको क्षेत्रमा सुुधार ल्याउन राष्ट्र बैँक अझ कठोर हुने उनको भनाई थियो । 

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैँकका विकास बैँक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विकास बैँकमा मानव संशाधन जोखिम कम गर्न प्रतिष्पर्धाको आधारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भन्दै योग्य र दक्ष कर्मचारी चयन गर्नुपर्नेमा जोड दिए । 

त्यसैगरी, विकास बैँक सुपरिवेक्षण विभागका निर्देशक रमण नेपालले बैँक तथा वित्तिय संस्थाहरु र सहकारी फरक अवधारणा रहेको र सहकारी तथा बैँकिङ क्षेत्रका जोखिमहरु पनि फरक भएको स्पष्ट पारे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]