April 12th, 2017

‘विपन्न बर्गमाथि लघुवित्तको योगदान ठुलो छ’ (समीट माइक्रोफाइनान्सका सिइओसँगको अन्तरवार्ता)

देवेन्द्र बहादुर बस्नेत समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक कम्पनीको रुपमा वि.सं. २०६५ मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई  २०६६ साल जेष्ठ ६ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक १० जिल्लालाई कार्यक्षेत्र बनाएर संचालित संस्था हो । यस संस्थाले नेपालको पूर्वी भेगका १० जिल्लाहरु क्रमशः झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, सप्तरी, सिराहा र उदयपूरमा गरी हाल २९ वटा शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिँदै आएको छ । समाजमा अग्रणी भूमिका निर्वाह गर्ने ब्यक्तिहरु, उद्योगपति, ब्यापारी, वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरुको संलग्नतामा बिशेष गरेर ग्रामीण क्षेत्रमा बसोवास गर्ने, बैकिङ्ग सुविधाबाट बञ्चित विपन्न वर्गका लागि सेवा दिँदै आएको यस संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न सीपमुलक तालिमहरु समेत प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा २९ वटा शाखा रहेको यस संस्थाको गतिविधि तथा आगामी योजनालगायतका बिषयमा यसै लघुवित्तका सीईओ बस्नेतसँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

समीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकको पछिल्लो वित्तीय अवस्थाबारे बताइदिनोस न ।
यस संस्थाको पछिल्लो वित्तीय अवस्था एकदमै राम्रो छ । नेपाल राष्ट्र बैंकले तोकेको ‘घ’ वर्गको वित्तीय संस्थामा हुनुपर्ने मापदण्डहरु हाम्रो संस्थाले पूरा गरेको छ । हाम्रो अधिकृत पुँजी २० करोड रुपैयाँ छ भने जारी पुँजी पाँच करोड रुपैयाँ छ । त्यसैगरी चुक्तापुँजी पाँच करोड रुपैयाँ (सर्वसाधारणमा समेत बाँकी रहेको ३० प्रतिशत सेयर जारी गरिसकिएको)छ ।

शाखा सञ्जालको अवस्था के छ ?
समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक १० जिल्ला कार्यक्षेत्र भएको माइक्रोफाइनान्स हो । हामीले १० जिल्लामध्ये ८ वटामा जिल्लामा शाखाहरु विस्तार गरिसकेका छौँ । सिरहा र सप्तरी जिल्ला हाम्रो कार्यक्षेत्र भए पनि ती जिल्लामा शाखा खोल्न बाँकी छ । यस संस्थाले हाल २९ वटा शाखा सञ्जालहरुबाट सेवा दिइरहेका छौँ ।

थप शाखा विस्तार गर्ने योजना पनि होला नि ?
अवश्य पनि छ । हामीले हाम्रो कार्यक्षेत्र अनुसार सिरहा, सप्तरी र मोरङ्ग लगायतका जिल्लाहरुमा शाखा खोल्ने निर्णय गरिसकेका छौँ । यहि चैत महिनाभित्रै हामीले सिरहामा १, सप्तरीमा १, मोरङ्गमा २ र इलाममा १ शाखा उद्घाटन गर्ने योजना बनाएका छौँ ।

लघुवित्तहरुको ब्याजदर धेरै महंगो भयो, लघुवित्तहरुले जनतालाई झुक्याएर चर्को ब्याज असुल्छन्, भन्ने पनि सुनिन्छ । वास्तविकता के हो ?
यो आधारहीन आरोप मात्रै हो । लघुवित्तहरुले झुक्याएर चर्को ब्याज लिन्छन् भन्ने कुनै आधार छैन । हामीले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई प्रत्येक महिनाको प्रगति विवरण पेश गर्ने गर्दछौँ । हरेक ३÷३ महिनामा हामीले संस्थाको वित्तीय विवरण सार्वजनिक गर्ने गरेका छौँ भने अब कसरी हामीले झुक्याएर चर्को ब्याज असुल्छौँ ? यो सरासर गलत आरोप हो । यसलाई म आधारहीन कुराको संज्ञा दिन चाहान्छु ।

तपाईँहरुको ब्याजदरको अवस्था चाहिँ के छ ?
कर्जा लगानी गर्दा हामीले १८ प्रतिशत व्याजदरमा लगानी गर्ने गरेका छौँ । हामीले बचतको ब्याज चाहिँ ११ प्रतिशतसम्म दिने गरेका छौँ ।

कर्जा कतिदेखि कतिसम्म दिने व्यवस्था गर्नुभएको छ ?
हामीले बिना धितो ३ लाख रुपैयाँसम्म कर्जा दिने गरेका छौँ भने धितो राखेर ७ लाख रुपैयाँसम्म कर्जा दिन्छौँ ।  
कर्जा डुब्ने खतरा हुन्छ कि हुँदैन ?
माइक्रोफाईनान्सका सेवाग्राही भनेका ठूला बैंकहरुबाट सेवा नपाएका ग्रामिण भेगका अधिकांश विपन्न परिवारका सदस्य हुन्छन् । ग्रामिण भेगका कतिपय विपन्न व्यक्तिहरु आर्थिक अभावका कारण चाहेर पनि आफूले सोचेको व्यवसायिक कुनै कार्य गर्न सकेका हुँदैनन् । उनीहरुलाई हामीले दिएको कर्जाले धेरै सहयोग गरेको हुन्छ । यसकारण उनीहरुमा कर्जा लिएपछि तिर्नुपर्छ भन्ने भावना हुन्छ । कर्जा डुब्ने खतरा त्यति हुँदैन ।

यस लघुवित्तबाट कति ग्राहकले सेवा पाईरहेका छन् ?
समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकबाट अहिले ३० हजार सदस्यहरुले प्रत्यक्ष सेवा पाइरहेका छन् ।

ग्राहक सदस्यहरुलाई कर्जा बाहेक अन्य केहि सेवा सुविधा पनि दिनुहुन्छ कि ?
समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक सदस्यहरुलाई कर्जा बाहेक अन्य सेवा सुविधाहरु पनि दिने गरेको छ । सदस्य महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम तथा गोष्ठीहरुमा सहभागी गराउने गरेका छौँ । बैंकबाट थप उपलब्ध सेवाहरु समुहमा आवद्ध महिलाहरुवाट निक्षेप स्वीकार्ने, समुहमा आवद्ध महिलाहरुलाई सामुहिक जमानतमा विनाधितो वा धितोमा कर्जा प्रवाह गर्ने, विप्रेषणको सेवा, राहत सुविधा लगायत छन् ।

नेपालको आर्थिक समृद्धमा लघुवित्तको भूमिका कस्तो छ ?
हामीले ग्रामिण भेगका विपन्न वर्गलाई लक्षित गरेर सेवा दिइरहेका हुन्छौँ । माइक्रोफाइनान्सका सेवाग्राही भनेका ठूला बैंकहरुबाट सेवा नपाएका ग्रामिण भेगका अधिकांश विपन्न परिवारका सदस्य हुन्छन् । ग्रामिण भेगका कतिपय विपन्न व्यक्तिहरु आर्थिक अभावका कारण चाहेर पनि आफूले सोचेको व्यवसायिक कुनै कार्य गर्न सकेका हुँदैनन् । लघुवित्तहरुले तिनीहरुलाई आत्मनिर्भर बनाएको छ । लेखपढ गर्न नजान्नेलाई साक्षर बनाएको छ । अहिले नेपालको गरिबीको प्रतिशत ४५ बाट झरेर करिब २१ प्रतिशतमा आएको छ । बिशेष गरेर नेपालकोको गरिबी घटाउन लघुवित्तहरुको महत्वपूर्ण योगदान छ । त्यसैले आर्थिक समृद्धिमा पनि लघुवित्त कार्यक्रम र लघुवित्तीय संस्थाहरुको भूमिका तथा योगदानलाई उच्च मान्न सकिन्छ ।
 
समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कुन क्षेत्रमा लगानी गरेको छ ?
समीट माइक्रोफाइनान्सले सबैभन्दा बढी व्यापार, व्यवसाय र कृषिमा लगानी गरेको छ । अधिकांश ग्राहक सदस्यहरु सानो लगानीमा व्यवसाय सुरु गर्न र व्यवसायिक कृषि तर्फ बढी आकर्षित हुनुभएको छ । व्यापार, व्यवसाय र कृषि पेशका लागि नै कर्जा माग बढी हुने हुँदा यसै शिर्षकमा हामीले बढी लगानी गरेका छौँ ।

अनुत्पादक क्षेत्रमा कत्तिको लगानी गर्नुभएको छ ?
हामीले बिशेष गरेर उत्पादनशील क्षेत्रमा नै लगानी गर्ने गरेका छौँ । अनुत्पादक क्षेत्रमा धेरै माग हुने भनेको हाउजिङ लोन हो । समीट माइक्रोफाइनान्समा हाउजिङ लोन दिने व्यवस्था गरिएको छैन ।
 
लघुवित्तहरुको छुट्टै नियामक निकाय हुनुपर्छ भनेर पनि कुरा उठिरहेको छ । यस बिषयमा तपाईँको धारणा के छ ?
अहिले नेपालमा ‘क’ वर्गको वाणिज्य बैंक देखि ‘घ’ वर्गको लघुवित्तहरु सबैलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने गरेको छ । अझ लघुवित्तको लागि त छुट्टै लघुवित्त सुपरिवेक्षण विभाग नै छ । सो विभागले लघुवित्त संस्थालाई नियमन गर्दै आएको छ । यसकारण अर्को नियामक निकायको आवश्यक छैन ।

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको पुँजीबृद्धिको योजनाबारे बताइदिनोस न ।
हामीले पुँजी वृद्धिको लागि आठौं बार्षिक साधारसभाबाट १ः१ को अनुपातमा सेयर जारी गर्ने निर्णय गरेका छौँ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको पुँजी वृद्धिका लागि थप अन्य योजना पनि बनाइरहेका छौँ ।

अन्तमा, वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई कसरी स्वदेशमै परिचालन गरेर आत्मनिर्भर बनाउन सकिएला ? तपाईँको सुझाव के छ ?
वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई स्वदेशमै परिचान गरेर आत्मनिर्भर अवश्य पनि बनाउन सकिन्छ । तर, यसमा नेपाल सरकारले बिशेष ध्यान दिनु आवश्यक हुन्छ । नेपाली युवाहरु रहरले होइन बाध्यताले बैदेशिक रोजगारीको बाटो रोजिरहेका छन् । यदि नेपालमा युवाहरुका लागि रोजगारीको प्रशस्त अवसरहरु हुने थिए भने सायदै युवाहरु बैदेशिक रोजगारीको बाटो अपनाउँथे । तसर्थ, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि उद्यमशीलताको विकास गर्नु जरुरी छ । नेपाल कृषि प्रधान मुलुक हो । नेपालमा कृषि व्यवसाय सम्बन्धी धेरै सम्भावनाहरु छन् । नेपालमा व्यवसायिक कृषि जस्तै बाख्रापालन, कुखुरापालन, गाईपालन, व्यवसायिक तरकारी खेती, व्यवसायिक धान खेती लगायतका कृषि कार्य गरेर पनि नेपालमा आत्मनिर्भर हुन सक्ने अवस्था छ । तर, यसमा राज्य पक्षले बिशेष ध्यान दिनु भने अत्यन्तै आवश्यक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]