April 10th, 2017

ज्योति विकास बैंकलाई अन्तरराष्ट्रिय अवार्ड

हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकले वेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गरेको छ । यो अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । लण्डनमा २८ मार्च २०१७ मा आयोजित उक्त समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिङ क्षेत्रको उत्कृष्ट संस्था घोषित गरिएको थियो ।

त्यसै गरी सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको छ । यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । यस समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए । तिनमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए । सहभागी संस्थाहरुमा युनाइटेड बैंक अफ इन्डिया, अजिजी बैंक अफगानिस्तान, नोम्पेन्ह वाटर सप्लाई अथरिटी कम्बोडिया, युनिभर्सिटी अफ योर्क, डिवाई पाटिल युनिभर्सिटी इन्डिया, ओपन युनिभर्सिटी अफ स्वीटजरलैण्ड समेत थिए ।

हाल एक अर्ब १० करोड ४३ लाख रुपैयाँ चुक्तापुँजी रहेको ज्योति विकास बैंक एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारीमा रहेको छ । त्यस्तै, राष्ट्रिय स्तरको यस ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा दुबै बैंकहरु बीचमा समझदारी पत्र आदानप्रदान भई नेपाल राष्ट्र बैकमा सैद्धान्तिक स्वीकृतिको लागि प्रक्रिया अगाडि बढिसकेको छ । यसअघि, २०७३ श्रावणमा ज्योति विकास बैंकमा साविक झिमरुक विकास बैंक गाभिई एकीकृत कारोबार सम्पन्न भएको थियो । नेपाल राष्ट्र बैंकको जारी निर्देशन अनुसार अब चालु आ.ब.को प्रक्षेपित मुनाफा समेत गरी ज्योति विकास बैंकको चुक्तापूँजी दुई अर्ब ५० करोडभन्दा माथि पुग्ने भएको छ ।

त्यस्तै ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिएपछि निक्षेप १० अर्ब रुपैयाँ र कर्जा लगानी नौ अर्ब रुपैयाँ नाघ्ने छ । हाल यस विकास बैंकका २९ शाखाहरु, एउटा एक्सटेन्सन काउन्टर र ११ एटिएम रहेका छन् । चालु आ.ब.मा खोलिने शाखाहरु धनगढी, दाङ, सुर्खेत, झुम्का समेत र राप्तीभेरी विकास बैंकका ५ शाखाहरु समेत गरी शाखाहरुको संख्या ३९ पुग्ने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]