April 4th, 2017

थोरै पुँजी भएका कमजोर पाँच बीमा कम्पनीहरु

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । यसअघि बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो । जसअनुसार, निर्जिवन बीमा कम्पनीहरुले अबको १६ महिनाभित्रमा चुक्तापुँजीलाई चार गुणा बढाउनुपर्नेछ । 

हालसम्म कुनै पनि कम्पनीको चुक्तापुँजी एक अर्ब पुगेको छैन । तैपनि, कतिपय कम्पनीले सजिलै एक अर्ब पुँजी पुर्याउन सक्ने देखिन्छ । तर, कतिपय कम्पनीले भने चुक्तापुँजी पुर्याउन ठूलै कसरत गर्नुपर्ने देखिन्छ । हाल नेपालमा १७ वटा निर्जिवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । तीमध्ये।, यी पाँच कम्पनीको चुक्तापुँजी सबैभन्दा कम रहेको छ :

एभरेष्ट इन्स्योरेन्स
हाल एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले बोनस प्रस्ताव गरेको छैन । तर, १५० प्रतिशत हकप्रद सेयर जारी गरेर चालू आर्थिक वर्ष भित्रमा नै २५ करोड ३१ लाख २५ हजार रुपैयाँ पुर्याउँदैछ । आगामी आर्थिक वर्षभित्रमा कम्पनीले ७४ करोड ६८ लाख ७५ हजार रुपैयाँ चुक्तापुँजी थप गर्नुपर्ने हुन्छ । 

राष्ट्रिय बीमा कम्पनी
चालू आर्थिक वर्षको साधारणसभा नगरेको राष्ट्रिय बीमा कम्पनीले हालसम्म हकप्रद वा बोनस सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छैन । अहिले यो कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ४० हजार रुपैयाँ छ । बीमा समितिको निर्देशन बमोजिम चुक्तापुँजी पुर्याउन यो कम्पनीले अब ८७ करोड ५५ लाख ६० हजार रुपैयाँ चुक्तापुँजी थप गर्नुपर्ने हुन्छ । 

एनबि इन्स्योरेन्स
एनबि इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी २७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको कमाईबाट बोनस सेयरको घोषणा नगरेको कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ । जसपश्चात्, यसै आर्थिक वर्षमा एनबिको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्मका यो कम्पनीले ५६ करोड रुपैयाँ चुक्तापुँजी थप गर्नुपर्नेछ । 

नेपाल इन्स्योरेन्स
हाल नेपाल इन्स्योरन्सको चुक्तापुँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले हकप्रद वा बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छैन । पुँजी वृद्धिका लागि बीमा समितिले दिएको समय १६ महिनाभन्दा पनि कम छ । यो समयमा नेपाल इन्स्योरेन्सले ७१ करोड २४ लाख रुपैयाँ चुक्तापुँजी थप गर्नुपर्नेछ । 

युनाइटेड इन्स्योरेन्स
हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापुँजी ३० करोड २४ लाख रुपैयाँ छ । अबको झन्डै १६ महिनामा कम्पनीले थप ६९ करोड ७६ लाख रुपैयाँ पुँजी जुटाउनुपर्नेछ । हालसम्म कम्पनीले हकप्रद सेयर वा बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]