April 4th, 2017

एनसेल कर प्रकरण : यसरी तानिदैछन् प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिने भएका छन् । 
समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।


सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार बैठकको मिति तय गरिएको हो । ‘‘प्रधानमन्त्रीज्यूले बैठकमा नै सबै विषयमा प्रष्ट धारणा राख्छु भन्नुभएको छ । समितिले पनि आवश्यक तयारी गर्छ’ सभापति उपाध्यायले भने ।

एनसेलको पूँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।
कम्पनीका नेपाली साझेदारले १० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेपनि टेलियाले भने ४३ अर्ब रुपैयाँ पुँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ ।
उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चुडामणि शर्मालाई सो निर्देशन दिएका छन् । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]