April 3rd, 2017

भारतीय कागजी नोटको सुरक्षा व्यवस्था परिवर्तन गरिँदै

भारतले जाली नोट नियन्त्रण गर्न निश्चित समयभित्र ठूला कागजी नोटको सुरक्षा व्यवस्थाहरू परिवर्तन गर्ने योजना बनाइरहेको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले अन्तरराष्ट्रिय मापदण्डअनुरूप हरेक ३–४ वर्षमा कागजी नोटका सुरक्षा व्यवस्थामा परिवर्तन गर्न लागेको हो । यस विषयमा गृह मन्त्रालय र अर्थ मन्त्रालयका उच्च सरकारी अधिकारीहरूबीच छलफल समेत भएको बताइएको छ । 

विश्वका अधिकांश विकसित देशले हरेक ३–४ वर्षमा कागजी नोटमा रहेका सुरक्षा व्यवस्था बदलिरहने गरेकोतर्फ औंल्याउँदै भारतमा पनि यस्तै कदम चाल्न आवश्यक रहेको भन्दै गृह मन्त्रालयका अधिकारीले यस कदमको बचाउ गरेका छन् । सन् २००० मा प्रचलनमा आएका १ हजार भारूको नोटमा खासै ठूलो परिवर्तन गरिएन । उता, सन् १९८७ मा निष्कासन गरिएको ५ सय भारूको नोटमा १ दशकभन्दा पहिला केही परिवर्तन गरिएको थियो । नोभेम्बर ८ मा ५ सय र १ हजार भारूको नोट खारेज गर्ने निर्णय गरिएयता जारी गरिएका २ हजार र ५ सय भारूको नोटमा पुराना नोटमा भए जस्तै सुरक्षा व्यवस्था छ ।

जाली नोट तस्करहरूले २ हजार भारूको नोटमा रहेका १७ मध्ये ११ ओटा सुरक्षा व्यवस्थाको नक्कल गरेको केही समयअघि जफत गरिएका नोटमाथि गरिएको अनुसन्धानले देखाएको छ । पारदर्शी हिस्सा, जलचिह्न, अशोका पिल्लरको प्रतीक, ‘रू. २०००’ अक्षर, आरबीआई गभर्नरको हस्ताक्षर भएको प्रत्याभूतिको अंशलगायतका विशेषताको पूरै नक्कल उतार्न तस्करहरू सफल भएको बताइएको छ । यद्यपि, नक्कली नोटको छपाइ र कागजको गुणस्तर भने नराम्रो रहेको बताइएको छ । रासस/पीटीआई


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]