March 30th, 2017

के हो ‘बैदेशिक रोजगार बचपत्र’ ? कसरी लिने फाइदा ? (रिपोर्टसहित)

वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो । यद्यपी पाँच उपकरणको तुलनामा यस्तो बचतपत्रमा खासै धेरै मानिसहरुको आकर्षण बढ्न सकेको छैन । वैदेशिक रोजगार बचतपत्र पनि अहिलेसम्म निकै न्यूनमात्रामा निष्काशन गरिएको छ ।

सरकारले यस्तो बचतपत्र किन्नेलाई १० प्रतिशत ब्याज प्रदान गर्दछ । पछिल्लो समय वाणिज्य बैंकहरुले पनि मुद्दती निक्षेपमै १३ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा नै १३ प्रतिशत ब्याद दिइरहेका बेला केन्द्रीय बैंकले निष्काशन गर्ने बचतपत्रमा भने १० प्रतिशतकोमात्रै ब्याज तोकिनुले यसप्रतिको आकर्षणमा प्रभाव पारेको बताइन्छ ।

सो बचतपत्रमा मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नामबाट लगानी गर्न सक्नेछन् । यसमा अर्धवार्षिकरुपमा ब्याज पाइन्छ भने कुनै बेला आफुलाई चाहिएको बेला धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ । अर्को कुरा यो भनेको राष्ट्रको योजना पनि हो ।  

राष्ट्रले मागेको बचतपत्रमा पैसा जम्मा गर्दा सुरक्षित पनि हुन्छ । बैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि भने यो एकदमै राम्रो अवसर मानिन्छ ।  यो बचतपत्र सरकारको नाममा जम्मा हुन्छ र यो पैसा देश विकासमा प्रयोग गरिन्छ । एक जिम्मेवार नेपाली भएकाले देश विकासमा पनि टेवा पुर्याउन पाइने र आफुले कमाएको पैसा बचत पनि हुने भएकाले यसका फाइदाहरु निकै छन् तर पनि यसप्रति आकर्षण प्रभावकारी पाइएको छैन ।

फेरी अर्को बचतपत्र
चालू आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले पहिलो पटक गत फागुन २३ गते वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । त्यसैगरी चैत २ गतेदेखि बिक्री खुल्ला गरिएको वैदेशिक रोजगार बचतपत्र २०७८ ग’ पनि निष्काशन गरिएको छ । सो बचतपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई साँवा फिर्ता गर्नेछ । सो बचतपत्रको १० प्रतिशत ब्याज अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ भने ब्याजमा नियमानुसारको कर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । चैत २ देखि बिक्री खुल्ला भएको बचतपत्रका लागि २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो बचतपत्र यहि चैत ३० गते बाँडफाँड हुनेछ । बचतपत्र न्यूनतम ५ हजार र अधिकतम १० लाख रुपैयाँसम्म खरिद गर्न सकिने जनाइएको छ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने सुविधा छ ।

गत आर्थिक वर्षमा चैत २९, बैशाख २९ र असार २४ गते गरी तीनपटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गरिएको थियो । चैत २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ८ करोड २० लाखको बिक्री भएको थियो भने बैशाख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोडको मात्रै बिक्री भएको थियो । त्यस्तै, असार २४ गते ५० करोडको बचतपत्र निष्काशन गरिएकोमा २७ करोड ५ लाख १५ हजार रुपैयाँको मात्रै विक्री भएको थियो ।

किन बिक्दैन बचतपत्र ?
प्रवासमा रहेका धेरैजसो नेपालीलाई बचतपत्रबारे थाहै छैन । बचतपत्र कहिले जारी हुने, फाराम कहाँ पाउने, रकम कुन ठाउँबाट पठाउने, विनिमय दर कति हुने, बचतपत्रको लागि कति व्याजदर दिने लगायतका विषयमा राष्ट्र बैंकले आफ्नो साइटमा राख्ने गरेको भएपनि त्यसको प्रभाव खासै देखिएको छैन । प्रवासमा बस्ने नेपालीहरु बचतपत्रबारे थाहै नभएको बताउँछन् । बचतपत्रबारे गैरआवासीय नेपालीको सचेतना र पहुँचको अभाव मुख्य समस्या देखिएको छ । सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा उनीहरूको विश्वास प्राप्त हुन नसकेको विज्ञहरू बताउँछन् । ऋणपत्र बिक्री गर्ने एजेन्टसम्म कामदार र गैरआवासीय नेपालीले पहुँच नपाउनु अर्को समस्या भएको जानकारहरुको भनाई छ । त्यसैगरी थाहा भएकाहरु पनि बचतपत्रको पछिल्लो ब्याजमा चित्त नबुझाइरहेको अवस्था छ । किनभने बैकहरुले मुद्दती निक्षेपमै १३ प्रतिशत ब्याज दिइरहेका बेला सरकारले निष्काशन गर्ने बचतपत्रमा १० प्रतिशतको ब्याजमा सर्वसाधरण आकर्षण हुन नसकेका हुन् ।

रेमिट्यान्स कम्पनीका एजेन्ट अप्रभावकारी
बचतपत्र बेच्नका लागि अहिले नीजि रेमिट्यान्स कम्पनी र बैंकहरुले एजेण्ट लिएका छन् । उनीहरु बैदेशिक रोजगारमा रहेका नेपालीहरुको दैलोमा पुगिरहेका छन् । उनीहरु विक्रि एजेण्ट भएकाले यसको प्रचारप्रसारमा अझ वढि क्रियाशिलता देखाउँछन् भन्ने सरकारी विश्वास छ । तर पनि परिणामले यसको गतिलो प्रभाव देखाएको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]