March 30th, 2017

काठमाडौं बाहिर पनि सुरु भयो सेयर कारोबार

नेपालगञ्ज, बनेपा र विर्तामोडमा चैत्र १३ गतेदेखि सेयर कारोबार सुरु भएको छ । आइतवार उपत्यका बाहिर सेवा दिने ब्रोकरमा कालिका सेक्यूरिटिज (नं ४६), क्रिष्टल कन्चनजङ्गा (नं ५०), भिजन सेक्यूरिटिज (नं ३४), आर्यतारा सेक्यूरिटिज (नं ५७), श्रीहरि सेक्यूरिटिज (नं ५६) र सानी सेक्यूरिटिज (नं ४२) रहेका छन् । यीमध्ये ब्रोकर नं ४६ ले नेपालगञ्ज, ५० ले विराटनगर,३४ ले बनेपा, ५७ ले विर्तामोड र ४२ ले नारायणगढमा ब्रोकर सेवा सुरु गरेको बताइएको छ । नारायणघाट, बुटवल र विराटनगरमा यस अघि नै केही ब्रोकरले शाखा विस्तार गरेपनि नेपालगञ्ज, बनेपा र विर्तामोडमा भने पहिलो पटक आफ्नो शाखाबाट सेयर खरीदविक्री गर्न पाएका हुन् । रिमोट वर्क स्टेशन (आरडब्लुएस) विस्तारका लागि तोकिएको सबै शर्तहरु पूरा गरेपछि नेप्सेले ब्रोकर नं. ४२, ३४ र ५६ लाई चैत ९ गते अनुमति दिएको थियो ।

पहिलोपटक राजधानी बाहिर विस्तार भएको सेयर कारोबार सेवामा सर्वसाधारण सेयरर लगानीकर्ताको उत्साहजनक सहभागिता छ । कारोबार सुरु गरेको पहिलो दिनमा नै छ स्थानबाट एक करोड २१ लाख ४३ हजार रुपैंयाको सेयर किनेबच भएको थियो । उपत्यकाबाहिर सेवा विस्तार भएसँगै नेप्सेमा सेयर कारोबारको चाप बढेको छ । राजधानीवासी मात्र नभएर मुलुकका अन्य स्थानका सर्वसाधारण पनि सेयर कारोबारमा सरिक हुनाले छरिएर रहेका ससाना पुँजीहरु पनि सेयर कारोबारको दायरामा आउने अपेक्षा गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]