March 29th, 2017

कृषकको आयस्तर वृद्धि गर्न सक्षम र कञ्चन डेभलपमेन्ट बैंकबीच भयो यस्तो सम्झौता

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार (चैत्र १६ गते) एक औपचारिक कार्यक्रमका बीच बीउ उत्पादक कृषकहरूलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत उनीहरूको आयस्तर वृद्धि गर्ने कार्यका लागि सम्झौता भएको हो । उक्त कार्यक्रममा सक्षमका टोली प्रमुख बलजित भोहरा, नेपाल राष्ट्र बैंक धनगढीका उप–निर्देशक बिनोद लेखक, जिल्ला कृषि विकास कार्यालय धनगढीका वरिष्ठ कृषि अधिकृत यज्ञ राज जोशी र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीको उपस्थिति रहेको थियो । 

सक्षमको सहायताले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा अपि हिमालयसँग सम्बद्ध बीउ उत्पादक कृषकहरूलाई उनीहरूको आवश्यकता अनुरूपका वित्तीय उत्पादन तथा सेवाहरू प्रदान गर्न मद्दत पुग्नेछ । उक्त सहायताले अपि हिमालयलाई कृषकहरूको क्षमता विकास लगायतका विभिन्न थप सेवाहरू प्रदान गर्न मद्दत गर्नेछ जसले अन्ततः बीउको मूल्य श्रृंखलालाई सबल बनाउने काम गर्ने विश्वास लिइएको छ ।

परियोजनाको प्रभावमाथि प्रकाश पार्दै कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जैशीले भने, “हाम्रो बैंकले कैलाली, कञ्चनपुर र डडेल्धुराका १०,००० भन्दा बढी बीउ उत्पादक कृषकहरूलाई ऋण तथा अन्य वित्तीय सेवाहरू प्रदान गर्नेछ । अपि हिमालयबाट कृषकहरूले प्राप्त गर्ने वित्तीय पहुँच र अन्य मूल्य अभिवृद्धिका सेवाहरूले उनीहरूले आयस्तर ४०% भन्दा बढीले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।” 

त्यसैगरी, सक्षमको टोली प्रमुख बोहराले भने, “गुणस्तरीय बीउ तथा अन्य निवेशको अभाव नेपालका कृषकहरूले सामना गर्ने एउटा प्रमुख चुनौती हो । त्यसमाथि, कृषकहरूको आवश्यकता अनुकुल हुनेगरीका वित्तीय उत्पादन तथा सेवाहरूको पनि अभाव रहेको छ । थोरै वित्तीय संस्थाहरूले मात्र साधारणतया कृषकहरूलाई वित्तीय सेवाहरू, विशेषगरि ऋणसेवा प्रदान गर्ने गरेका छन् । तसर्थ यस साझेदारीमार्फत हामीले कृषकहरूले सामना गर्ने ती समस्याहरूको सम्बोधन गर्ने लक्ष्य लिएका छौं । कृषकहरूले आफ्ना आवश्यकता अनुरूपको वित्तीय सेवाहरूमात्र नभएर बीउको मूल्य श्रृंखलालाई कसरी सबल बनाउने भनेर परिष्कृत प्राविधिक सीप र ज्ञान पनि प्राप्त गर्न सक्नेछन् । यसले अन्ततः दीर्घकालमा उनीहरूको फसलको मात्रा र आय अभिवृद्धि गर्न मद्दत गर्नेछ ।”

सक्षम यूकेएडद्वारा वित्तपोषित वित्तीय पहुँचसम्बन्धी कार्यक्रम हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]