March 29th, 2017

लघुवित्तको उपस्थितिले यसरी चम्कियो चौधरी दम्पतिको जीवन

कैलाली चौमाला गाविसकी विदेशी चौधरी एक मध्यम वर्गीय परिवारमा जन्मिएकी महिला हुन् । त्यति धेरै सम्पन्नशाली नभएपनि उनीहरुलाई खान लाउन त्यति ठूलो समस्या थिएन । कालान्तरमा विदेशी चौधरीको विवाह भयो । उनी विवाह गरेर भित्रिएको घर पनि सामान्य आर्थिक अवस्था भएको घरपरिवार नै थियो । र उनी त्यस घरमा घरकी जेठी बुहारीका रुपमा भित्रिएकी थिईन् । आफु पनि एसएलसी पास गरेको र उनका श्रीमान जुगीलाल चौधरीले पनि आइए पास गरेकाले दुवैजनाले कुनै जागिर गरेर जीवन निर्वाह गर्ने विदेशीको विचार थियो । तर विडम्बना उनीहरुले जीवन पाल्न सक्ने खालको रोजगारी पाएनन् । दुवैजनालाई चिन्ताले सताउन थाल्यो, एकदिन दुईदिन गर्दै अब सन्तान हुन्छन् । ती सन्तानलाई कसरी पढाउने, हुर्काउने, उचित शिक्षादिक्षा दिने । अब उनीहरुलाई बेरोजगारी हुनुको पीडाले सताउन थाल्यो । जीवन अत्यन्तै कठीन र जटील लाग्न थाल्यो ।

दिन प्रतिदिन अब उनीहरुलाई एउटै चिन्ताले विथोलिरह्यो कि अब जीवनयापन कसरी अघि बढाउने होला ? त्यहि बेला नै विदेशीले सुनिन्, ‘गाउँमा निर्धन उत्थान बैंक नामको एउटा लघुवित्त संस्था आइपुगेको छ । त्यो संस्थाले कुनै पनि उत्पादनमूलक व्यवसाय गर्नका लागि विनाधितो ऋण पनि दिन्छ ।’ बैंकबाट पैसा लिँदा घरजग्गा वा त्यस्तै किसिमको धितो राख्नुपर्ने कुरा सुनेका उनीहरुलाई अचम्म लाग्यो, ‘बिना धितो पनि ऋण पाइन्छ र ?’ उनीहरुले घरसल्लाह गरे । सुरुमा त उनीहरुलाई ऋण लिएर गर्ने व्यवसायमा घाटा लाग्यो भने  तिर्न नसकिने पो हो कि भन्ने डर पनि लाग्यो । तर विदेशीका श्रीमानले जुगिलालले आँट गर्नुपर्छ भन्ने सल्लाह दिए ।

त्यसपछि उनीहरुको गाउँमा निर्धन उत्थान बैंकको समूह बनाइयो । त्यसमा विदेशी पनि अँटाइन् । उनीहरुले समूह बनाएर लघुवित्तसँगको कारोबार सुरु गरे । विदेशीलाई संस्थाको त्यस्तो कार्यप्रणाली अति नै मन पर्यो र उनी समूहमा बसि नै रहिन्, अरुलाई पनि समूहमा बस्नका लागि उत्साहित गर्न लागिन् । त्यसपछि विदेशी र उनका श्रीमानले गाउँमामुखि बाख्रापालन गर्ने सोच बनाए । त्यसैले उनीहरुले निर्धन उत्थान बैंकबाट सुरुमा २० हजार रुपैयाँ लिएर मुखि बाख्रापालन सुरु पनि गरे । डराउँदै व्यवसाय थालेका उनीहरुलाई सुरुको आम्दानीले केहि उत्साहित बनायो । घाटा लाग्ने पो हो कि भन्ने डरकाबीच उनीहरुले बैंकको ऋण तिरेर पनि केही फाइदा हात पारे । पछि उनीहरुले बंगुर पनि पाल्न थाले । त्यसपछि उनीहरुले ४० हजार लिए । त्यसलाई पनि सोही व्यवसायमा खर्च गरे । फेरी नाफा नै भयो । यसरी क्रमशः ५०, ६० हजार, १ लाख गर्दै ऋण लिएका उनीहरुले आजभोलि धितो राखेर समेत ५ लाखसम्म लिएर व्यवसायिक रुपमा बंगुर पालन गरिरहेका छन् । त्यतिमा होइन उनीहरुले व्यवसायिक रुपमा तरकारी र माछा पालन पनि गरिरहेका छन् ।

धनगडीमा नगरपालीकास्थित धनगडी गाउँमा अहिले उनीहरुले करिब १० कठ्ठा जमीनमा व्यवसायिक रुपमा बंगुर पालनका साथै तरकारी खेती र माछा पालन पनि गरिरहेका छन् । हाल उनीहरुसँग सँग ३८ वटा बंगुर छ । ती बंगुरका पाठापाठी समेत जोड्दा एक सयभन्दा बढी हुन्छ । कतिपय बंगुर भने ब्याउनेक्रममा छन् । पाठा बंगुर पनि प्रतिगोटा ३५ सयमा विक्री हुन्छ । लेन्डेस, डिउरोप, पाख्रीवास र एक्सायर जातका बंगुर उनीहरुले पालिरहेका छन्  ।

हिजो गरीबी र बेरोजगारी हुनुको पीडाले प्रताडित यो दम्पतिले अहिले आफै मालिक बनेर घरमै बसी बसी महिनाको ५० हजार चोखो आम्दानी गरिरहेको छ । ‘केही गर्छु भन्ने हिम्मत आफैमा जगाउने हो भने हाम्रै माटोमा रहेछ नि पैसा छ, विदेशीका श्रीमान जुगिलाल भन्छन्, मेरी श्रीमति पनि हिम्मतवाली थिइन् र हामी यो अवस्थामा आइपुग्यौँ ।’ ‘जागीर खोज्दा खोज्दै हैरान भैसकेका थियौँ । जीवनदेखि नै दिक्क लागिसकेको थियो ।’ विदेशीले भनिन्, ‘२० हजार ऋण लिएर सुरु गरेको व्यवसाय अहिले लाखौँमा परिणत भएको छ ।’ अहिले उनीहरुलाई विगतमा जागिर नपाउँदाको पीडा कथाजस्तै लाग्छ । किनभने अहिले उनीहरु रोजगारमात्र भएका छैनन्, अरुलाई जागिर दिने पनि भएका छन् । ‘यसको सबै श्रेय निर्धन उत्थान बैंकलाई दिन चाहान्छु’, विदेशीले भनिन्, ‘जीवनमा अप्ठेरो परेका बेला कुनै काम गर्नका लागि हौसला र सहयोग दिनेलाई विर्सन नसकिदो रहेछ ।’ 

अहिले विदेशीकी एकमात्र छोरी धनगढीको नाम चलेको एक्सिस विद्याश्रममा कक्षा ४ मा पढ्दैछिन् । छोरीलाई राम्रो स्कुलमा पढाउन पाएकोमा र राम्रोसँग लाउन खान दिन सकेको उनीहरु खुशी छन् । बंगुर पालनका लागि त्यति धेरै समय पनि दिनुनपर्ने जुगिलाल बताउँछन् । विहान र बेलुका दान पानी खान दियो र खोर सफा गरे पुगीहाल्ने उनले बताए । उनका अनुसार प्रति वयस्क बंगुरले दैनिक प्रतिकिलो २८ रुपैयाँ पर्ने २ किलो दाना खान्छ । भर्खर जन्मेका बच्चालाई भने खटेर नै स्यार गर्नुपर्ने विदेशिले बताइन् । ‘चिसोका कारण छेरेर मर्न सक्छन्’, उनले भनिन् ‘त्यसैले चिसोबाट जोगाउनुपर्ने हुन्छ ।’ आगामी चैतको लागि एउटा संस्थाबाट ९० वटा बंगुरका बच्चाको अर्डर आएको उनीहरुले बताए । ‘व्यवसाय गर्न सक्ने हो भने कसैसँग पनि हात पसार्नु नपर्ने रहेछ’ ।  जुगिलाल भन्छन्,  हाथ थाप्न पर्दो रहेन छ । उनीहरुले बाख्रापालन व्यवसाय पनि छाडेका छैनन् । अहिले कुचैनिमा पालन पनि गरिरहेका छन् ।

उनीहरुकै बेला देखि सुरु भएको निर्धन उत्थान बैंकको समूहमा पनि अहिले ३० जना सदस्यले कर्जा बचतको कारोवार गरिरहेका छन् । त्यतिबेला केही मानिसहरुबाट सुरु भएको निर्धन उत्थान बैंकको विभिन्न समूहमा अहिले समुहमा करीब १२२८५९४ लगानीमा रहेको कर्जा रकम रहेको निर्धन उत्थान बैक, अत्तरीयाका शाखा प्रमुख बुद्धि प्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार बचत पनि सदस्यहरुको व्यक्तिगत बचत तर्फ ५४०७०९ रुपैयाँ छ भने समुहतर्फ २६११९ रुपैयाँ रहेको छ । समृद्धि बचततर्फ ३९५०० रुपैयाँ जम्मा भईसकेको उनले जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]