March 22nd, 2017

थप ६ भूकम्प प्रतिरोधी घरको डिजाइन सार्वजनिक हुँदै, झन्डै तीन लाखमा बन्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमूना डिजाइन तयार गरेको छ । डिजाइनअनुसार कम्तीमा रू. दुई लाख ९२ हजारको  लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले पाँचओटा र जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताए ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा मङ्गलवार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमूना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो । डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेण्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् ।

सहरी विकास मन्त्रालयले यसअघि १७ ओटा घरको नमूना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमूनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमूनामध्ये पीडितले आफूलाई मन परेको नमूना छानेर घर बनाउन सक्नेछन् ।  समितिको बैठकले जोखीमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रू. दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]