March 20th, 2017

दुई ठूला विकास बैंक एकआपसमा गाभिँदै

नेपालका दुई ठूला विकास बैंकहरु एकआपसमा गाभिने भएका छन् । आफैँ अढाई अर्ब चुक्तापुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कायम रहन सक्षम यती डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकासक बैंक लिमिटेड मर्जरमा जान लागेका छन् । काठमाडौँको थापाथलीमा केन्द्रीय कार्यालय रहेको यती र दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मीबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भइसकेको छ । 

हाल यती डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको छ । बैंकले ५० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेर दुई अर्बभन्दा बढी चुक्तापुँजी पुर्याउने प्रक्रिया समेत थालेको थियो । गत माघ २७ गते बैंकले हकप्रद निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन समेत दिएको थियो । यता, महालक्ष्मी बैंक, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकासको बैंकको चुक्तापुँजी सवा एक अर्ब रुपैयाँ छ । केही कसरतपछि यो बैंकले पनि असार मसान्तसम्मका अढाइ अर्ब चुक्तापुँजी पुर्याउन सक्ने अनुमान लगाइएको थियो । यद्यपि, सबैको अनुमानको विपरीत गएर यी बैंकहरुले मर्जर प्रक्रिया अघि बढाएका छन् । 

मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ भने निक्षेप २३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि महालक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिने बैंकको शाखा संख्या ६५ तथा ग्राहक संख्या तीन लाख ४५ हजार पुग्नेछ । यससँगै, महालक्ष्मी विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुने बताइएको छ । 

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा महालक्ष्मीबाट चार र यतीबाट चार गरी कुल आठ सदस्य रहने व्यवस्था गरिएको छ । सम्पत्ति दायित्व मूल्यांकनपश्चात् आउने प्रतिवेदनलाई आधार बनाई सेयर स्वाप अनुपात निर्धारण गर्ने सहमति भएको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]