March 10th, 2017

४१ प्रतिशत बैंकिङ लगानी अनुत्पादक क्षेत्रमा

बैंक तथा फाइनान्स कम्पनीहरुले कुल कर्जा प्रवाहको ४१ प्रतिशत अनुत्पादक क्षेत्रमा प्रवाह गरेको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंक तथा फाइनान्सहरुले कुल १८ खर्ब २७ अर्ब आठ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकोमा सात खर्ब ५० अर्ब ६१ करोड ६९ लाख ९० हजार रुपैयाँ कर्जा अनुत्पादक क्षेत्रमा प्रवाह गरेका हुन् । 

नेपाल राष्ट्र बैंकका अनुसार, चालू आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले ओभरड्राफ्टमा तीन खर्ब ३६ अर्ब पाँच करोड २९ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, व्यक्तिगत आवासमा एक खर्ब ५९ अर्ब २६ करोड १३ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अनुत्पादक क्षेत्र मानिले रियलस्टेट अर्थात घरजग्गामा बैंकहरुको कर्जा लगानी एक खर्ब १८ अर्ब १९ करोड ५७ लाख ३० हजार रुपैयाँ रहेको छ । यता, हायर पर्चेज शीर्षकमा बैंकहरुले एक खर्ब ३६ अर्ब ३० करोड ६९ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

कुन वर्गका बैंकको लगानी कुन शीर्षकमा कति ?
अनुत्पादक क्षेत्रअन्तर्गतका यी शीर्षकमा वाणिज्य बैंकहरुले मात्रै पाँच खर्ब ९२ अर्ब ४० करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अनुत्पादक क्षेत्रमा प्रवाहित कुल कर्जाको ७८.९२ प्रतिशत हो । यी शीर्षकमध्ये, वाणिज्य बैंकहरुको सबैभन्दा धेरै लगानी ओभरड्राफ्टमा रहेको छ । यो शीर्षकमा बैंकहरुले दुई खर्ब ७७ अर्ब ७० करोड ८३ लाख ८० हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, व्यक्तिगत आवासमा एक खर्ब २२ अर्ब १८ करोड पाँच लाख २० हजार रुपैयाँ, घरजग्गामा ९२ अर्ब ५४ करोड २१ लाख ७० हजार रुपैयाँ र हायर पर्चेजमा ९९ अर्ब ९७ करोड २७ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

त्यस्तै, अनुत्पादक क्षेत्रको लगानीमा विकास बैंकहरुको हिस्सा १८.३७ प्रतिशत रहेको छ । विकास बैंकहरुले यस्तो क्षेत्रमा एक खर्ब ३७ अर्ब ९३ करोड सात लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेका हुन् । जसमध्ये, सबैभन्दा बढी लगानी ओभरड्राफ्टमा ५८ अर्ब ३४ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै, व्यक्तिगत आवासमा २९ अर्ब ८९ करोड ६० लाख ७० हजार रुपैयाँ, घरजग्गामा १९ अर्ब ८१ करोड ९९ लाख ३० हजार रुपैयाँ र हायर पर्चेजमा २९ अर्ब ८७ करोड ७० हजार रुपैयाँ कर्जा लगानी विकास बैंकहरुको रहेको छ । 

त्यसैगरी, फाइनान्स कम्पनीहरुले अनुत्पादक क्षेत्रमा २० अर्ब २८ करोड २४ लाख ७० हजार रुपैयाँ लगानी गरेका छन् । यो अनुत्पादक क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित कुल कर्जाको २.७० प्रतिशत हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार, फाइनान्स कम्पनीहरुले सबैभन्दा धेरै व्यक्तिगत आवासमा सात अर्ब १८ करोड ४७ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, घरजग्गामा छ अर्ब ६३ करोड ३६ लाख ३० हजार रुपैयाँ र हायर पर्चेजमा छ अर्ब ४६ करोड ४१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  

उत्पादनमूलक क्षेत्रमा लगानी ज्यादै न्यून
नाफाको पछि लागेर बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै गएपनि उत्पादनमूलक क्षेत्रमा भने बैंकहरुको लगानीमा उत्साहजनक सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले कुल कर्जा लगानीको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न बैंकहरुलाई बारम्बार भनिरहँदा पनि हालसम्म उत्पादनमूलक क्षेत्रमा बैंकहरुको लगानी १६.२१ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष ०७०/७१ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पहिलो पटक उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने नीति ल्याएको थियो । नीतिअनुसार कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योगमा प्रवाहित कर्जालाई उत्पादन मुलुकमा गणना गर्न सकिने प्रावधान छ । त्यसपछिका हरेक वर्षको मौद्रिक नीतिमा पनि उक्त विषय उल्लेख हुँदै आएको छ । तर, हालसम्म पनि वाणिज्य बैंकहरुले पूर्ण रुपमा सो नीतिको कार्यान्वयन गर्न सकेका छैनन् । त्यसमाथि, चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत उत्पादनमूलक क्षेत्रमध्ये, कृषि र ऊर्जामा मात्रै १५ प्रतिशत लगानी पुर्याउनुपर्ने भनिएको छ । यसअघि, यो क्षेत्रमा १२ प्रतिशत लगानी गर्नुपर्ने भनिएको थियो । उक्त निर्देशन पालनाका लागि बैंकहरूलाई ०७४ असार मसान्तसम्मको समयावधि दिइएको छ ।

उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउने बैंकलाई कारबाही गरिने
यता, राष्ट्र बैंकले भने तोकेको समयमा उत्पादनमूलक क्षेत्रमा तोकेको न्यूनतम लगानी नपुर्याउने बैंकलाई कारबाहीको दायरामा ल्याउने बताएको छ । यस बर्ष पनि तोकिएको क्षेत्रमा तोकिएको प्रतिशत लगानी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले हर्जना गर्ने राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पंडितले बताए । बैंकिङ खबरसँग कुरा गर्दै सह–प्रवक्ता पंडितले भने –‘नेपाल राष्ट्र बैंकले उत्पादनशिल क्षेत्रमा २० प्रतिशत तथा कृषि र जलश्रोतमा अनिवार्य १५ प्रतिशत लगानी गर्न बैंकहरुलाई निर्देशन दिएको छ, यो निर्देशन पालना नगर्ने बैंकहरुलाई कारबाही हुन्छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]