March 1st, 2017

खानेपानी तथा सरसफाइमा एडीबीले सवा अर्ब ऋण दिने

एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन हुने भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । 

कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा, सर्लाही, दोलखा, नुवाकोट, रौतहट, चितवन, नवलपरासी, कपिलवस्तु, कास्की, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, बझाङ, डडेलधुरा र कञ्चनपुरमा सञ्चालन हुनेछ । 
 
विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३० प्रतिशत जनश्रमदान र ७० प्रतिशत एसियाली विकास बैँकको सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले भने, “मुख्य सहर र राजमार्गका  बजारमा यो कार्यक्रम सञ्चालन हुनेछ ।”
 
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई आधारभूत खानेपानी पुर्याउने उद्देश्यका लागि दातृ संस्थामार्फत ऋण लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

पहाडी क्षेत्रका बासिन्दाका लागि खोलाबाट मोटरले पानी तान्ने तथा तराईका बासिन्दाका लागि डिप ट्युवेलको व्यवस्था गरिएको बताए। हाल ८५ प्रतिशत जनताले खानेपानीको उपयोग गरिरहेका छन् । सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई आधारभूत खानेपानी पुर्याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री खड्काले बताए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]