February 27th, 2017

ग्रामीण क्षेत्र र विदेश जाने नेपालीमा सेवा केन्द्रित गर्न बीमा संस्थानलाई अर्थमन्त्रीको सुझाव

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । बीमा संस्थान ५० औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण जयन्ती स्मारकको आइतबार अनावरण गर्दै उनले सरकारी स्वामित्वमा सञ्चालित बीमा संस्थानले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका साथै विदेश जाने नेपालीमा पनि केन्द्रित गर्नुपर्ने बताए । 

संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उनले बक्यौता लेखा परीक्षण यथाशक्य छिटो गर्न निर्देशन दिए । संस्थानको पुँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउनुपर्ने उनको सुझाव छ । 

संस्थान सञ्चालक समितिका अध्यक्ष खेमराज खरेलले पर्याप्तमात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए । 

संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले सरकारको उदार एवम् खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकूल समयसापेक्ष प्रतिष्पर्धात्मक बिमा बजारका चुनौतीको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफूलाई उभ्याइसकेको बताए । 

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट रु १५ अर्ब लगानी गरेकोे छ । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]