February 24th, 2017

यी हुन्, यो साता चर्चामा रहेका आठ बैंकिङ खबरहरु 

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समाचारको केन्द्र बन्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले गाडी खरिदमा प्रदान गरिने ऋणलाई बैंकले ५० प्रतिशत मात्रै दिने नीति ल्यायो । नेपाल राष्ट्र बैंकले निजी गाडि खरिदमा कडाइ गरेको हो । मंगलवार मौद्रिक नीतिको समिक्षामा केन्द्रीय बैंकले निजी गाडी खरीद गर्दा ५० प्रतिशत भन्दा कम कर्जा दिन बैंकलाई निर्देशन दिएको छ । यसैगरी ओडी कर्जाको सीमा पनि घटाइएको छ । बैंकले ओडीमा एक करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएकोमा अब ७५ लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गरिने छ । २०७४ असार मसान्तसम्म ओडी ७५ लाख रुपैयाँमा ल्याउनेगरि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बजेटको अर्धवार्षिक समीक्षा
सरकारले प्रथम छ महिनामा लक्षित पुँजीगत खर्चको ११ प्रतिशत हाराहारीमा मात्रै भएको विवरण सार्वजनिक गर्यो । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षा गर्दै अर्थ मन्त्रालयले पुस मसान्तसम्ममा कुल बजेटको २६.१९ प्रतिशत मात्र खर्च गरेको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेकोमा छ महिनामा दुई खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । 

सेन्ट्रल र भक्तपूर फाइनान्सलाई मर्जर अनुमति
नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दियो । मर्जपछि संस्थाको नाम सेन्ट्रल फाइनान्स रहनेछ र केन्द्रीय कार्यालय ललितपुर रहने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ । 

कैलाश विकास बैंकको हकप्रद खुल्यो
कैलाश विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ कित्ता सेयरको बिक्री शुक्रबारदेखि खुला गरेको हो । बैंकको हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम लगानीकर्ताले फागुन ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाइने बताइएको छ । 

रिलायबलको हकप्रद खारेज
रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन नगरी एक्विजिसनमा जाने निर्णय गर्यो । बैंकको गत असार १७ गतेसम्पन्न दशौँ वार्षिक साधारणसभाले पारित गरेको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय आगामी साधारणसभाबाट खारेज गर्ने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा चैत्र २ गते बस्दैछ । रिलायबलले आफैँ अढाई अर्ब रुपैयाँ पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सहमति गरेपछि बैंकले हकप्रद जारी गर्ने विषयमा अन्यौल थियो । अन्ततः बैंकले हकप्रद खारेज गरेर एक्विजिसनमा जाने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

नेपाल बैंकको नयाँ कर्जा योजना
नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्यायो । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले अगाडि बढाएको दुबै कर्जाको वार्षिक ब्याज दर ७ प्रतिशत, सेवा शुल्क ०.५० प्रतिशत र दुई वर्ष पश्चात् कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने तथा कर्जा रकम भुक्तानी प्रक्रिया समान मासिक किस्तामा आधारित गरिएको जानकारी दिए । घर कर्जाको अवधि दुई वर्षदेखि २० वर्षसम्म तथा कर्जा रकम न्यूनतम रु १० लाख वा सो भन्दामाथि आवश्यकता अनुसार प्रदान गरिने नीति बैैकले लिएको छ । गाडी कर्जाको अवधि दुई वर्षदेखि ७ वर्षसम्म तथा न्यूनतम रु १० लाखदेखि अधिकतम रु एक करोडसम्म निजी प्रयोगको लागि सवारी साधन खरिद गर्न कर्जा प्रदान गरिनेछ ।

एसियाली विकास बैंकले नेपालमा लगानी थप्यो
एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ थप लगानी गर्ने घोषणा गर्यो । बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिएको हो ।

तीन संस्थालाई हकप्रद निष्काशनको अनुमति
यो साता नेपाल धितोपत्र बोर्डले तीन संस्थालाई हकप्रद निष्काशनको अनुमति दियो । बोर्डले मिसन डेभलपमेन्ट बैंकलाई शतप्रतिशत, प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत र सिटिजन्स बैंकलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

अन्य

  • नेपाल ग्रामीण विकास बैंक लिमिटेडले क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ईलाका÷शाखा कार्यालयहरुमा आवद्ध केन्द्र प्रमुखरउप–प्रमुख तथा सदस्यहरुको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गर्यो ।
  • आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा मोबाइल वित्तीय सेवा सुरु गर्ने सम्बन्धमा साझेदारी सम्पन्न भयो ।
  • वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नका लागि नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्यो ।
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवौँं वार्षिकोत्सवको अवसर पारेर ग्रीन सिटि, क्लिन सिटि भन्ने नाराका साथ बुटवलमा सरसफाई कार्यक्रम गर्यो । साथै नयाँ बसपार्कदेखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसँगको सहकार्यमा बृक्षारोपण समेत गर्यो भने उक्त बृक्षरोपणको संरक्षण गर्ने जिम्मा समेत लियो ।
  • हिमालयन बैंक लिमिटेडको नवनिर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरियो ।
  • फेवा विकास वैक लिमिटेडले हालै चितवनको सौराहामा कर्मचारी दक्षता अभिबृद्घि तालिम एवम् कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।
  • सानिमा बैंक लिमिटेडले क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गर्यो ।
  • एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको लक्ष्य तथा उपलब्धिको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्देश्यले ’अर्धवार्षिक समीक्षा गोष्ठी २०७३’ तथा धितो कर्जा सम्बन्धी दोश्रो चरणको तालिमको आयोजना गर्यो ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]