February 24th, 2017

कुमारी बैंकले फेरि २० प्रतिशत हकप्रद जारी गर्ने, यसरी पुग्दैछ आठ अर्ब चुक्तापुँजी

कुमारी बैंक लिमिटेडले फेरि २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सञ्चालक समितिको सोही बैठकले साधारण सभाको मिति समेत तय गरेको छ । बैंकले आगामी चैत्र ९ गतेका लागि साधारणसभा डाकेको छ । जसका लागि फागुन २० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

उक्त साधारणसभाले हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्काशनका लागि कुमारीले धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल कुमारी बैंकको चुक्तापुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । 

यसबाहेक, कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ । त्यसपछि बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नजिक पुर्याउनेछ । चालू आर्थिक वर्षमा हुने कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी पुर्याउनेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]