February 23rd, 2017

देवः विकास बैंकले थप्यो हकप्रद भर्ने म्याद, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

देवः विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन अब फागुन २७ गतेसम्म खुला हुने भएको छ । माघ ९ गतेदेखि निष्काशन भइरहेको देवःको हकप्रद फागुन १५ गते बन्द हुने भनिएकोमा एक हप्ता म्याद थप गरिएको हो । 

बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा ४४ लाख ५ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन फागुन १५ गतेसम्म खुला रहनेछ । पुस १३ गतेसम्म कायम सेयधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर एनआईबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट, देव विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय पोखरा, विराटनगर र विरगञ्ज तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखाबाट पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । 

हकप्रद निष्काशन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरेको हो । हाल देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार दुई सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने १२ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर र बोनस सेयर दुबै वितरण गरेपछि देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]