February 22nd, 2017

दोहोरो अंकले घट्यो बुधबारको सेयर बजार, २८ कम्पनीले कमाए

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै ओरालो गतिमा रहेको नेप्से परिसूचक १३.४६ अंकको गिरावटसँगै १३४४.११ अंकमा पुगेर बन्द भएको हो । बुधबार सबैभन्दा धेरै बीमा समूह ११२.६९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १४.१९, ४१.७, ०.३५, ४.१५, ३.५७ र ६.९४ अंकले घटेका छन् । उत्पादनमूलक भने स्थिर रहेको छ । 

कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । मंगलबार ६० करोडको कारोबार भएको बजारमा बुधबार ३४ करोड ५५ लाख १८ हजार आठ सय एक रुपैयाँ पुँजी परिचालन भएको हो । कुल कारोबारमध्ये, नेपाल टेलिकमको सबैभन्दा धेरै दुई करोड नौ लाख ६२ हजार पाँच सय ९५ रुपैयाँको कारोबार भएको छ । नविल बैंक प्रोमोटर, बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ भने कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको क्रमशः ९९ करोड, ९५ करोड, ९१ करोड, ८४ करोड र ७७ करोड रुपैयाँको कारोबार भएको छ । 

दिनभरिमा १३७ वटा कम्पनीको सात लाख ६४ हजार छ सय ७९ कित्ता सेयर तीन हजार सात सय ५८ पटक खरिदविक्री भएको बजारमा २८ वटा कम्पनीका सेयरधनीले अधिकतम १० प्रतिशतदेखि न्यूनतम ०.२ प्रतिशतसम्मका दरले कमाएका छन् । सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले कमाएका छन् भने सबैभन्दा कम समिट माइक्रोफाइनान्सका सेयरधनीले कमाएका छन् । महालक्ष्मी विकास बैंकका सेयरधनीले ६.८ प्रतिशतका दरले कमाएका छन् । नागबेली लघुवित्त, राप्तीभेरी विकास बैंक, रिडी हाइड्रो, सानिमा माइ हाइड्रो, स्वाबलम्बन विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स प्रोमोटर, साना किसान विकास बैंक, निर्धन उत्थान बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

माउन्ट मकालु डेभलपमेन्ट बैंकका सेयरधनीले ६.२२ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ६.१२ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड इन्स्योरेन्स, लक्ष्मी भ्यालु फण्ड, गुराँस लाइफ इन्स्योरेन्स, सेती फाइनान्स र कालिका माइक्रोक्रेडिटका सेयरधनीले क्रमशः५.८८, ५.८३, ५.७, ५.४८ र ५.४४ प्रतिशतका दरले गुमाएका छन् । सूर्या लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]