February 20th, 2017

मजबुत बन्दै बैंकहरु : खराब कर्जामा सुधार, अधिकांस बैंकहरु जोखिम मुक्त

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा वाणिज्य बैंकहरु सबल बन्दै गएको पाइएको छ । बैंकहरुले खराब कर्जा अनुपात उल्लेख्य रुपमा घटाएका छन् भने प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढाएका छन् । पहिलो ६ महिनामै अधिक र न्यून तरलताको समस्यामा परेका बैंकहरूले प्रतिसेयर आम्दानी अघिल्लो वर्षभन्दा बढाएका छन् । यता, गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा बैंकहरुको खराबकर्जा औसत शून्य दशमलव २९ प्रतिशतले घटेको छ । ०७२ पुसमा एक दशमलव ९४ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जा गत पुसमा एक दशमलव ६४ प्रतिशतमा झरेको हो ।


२६ बैंकको प्रतिसेयर आम्दानी मापदण्ड अनुरुप
प्रतिसेयर आम्दानीका हिसाबले हेर्दा पनि सबै बैंकहरु सबल रहेको देखिन्छ । चालू आथिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकले प्रतिसेयर आम्दानीमा वृद्धि हासिल गरेका छन् । समग्रमा बैंहरूको नाफा बढेको र बैंकहरुले कर्जा प्रवाहमा विस्तार गरेकाले प्रतिसेयर आम्दानी बढेको हो । कुनै पनि सूचीकृत कम्पनीको प्रतिसेयर आम्दानी जति धेरै भयो उति राम्रो मानिन्छ । तर, धितोपत्र बजारमा सूचिकृत कम्पनीको हकमा प्रतिसेयर न्यूनतम १५ देखि २० रुपैयाँ हुनुपर्छ । यो न्यूनतम प्रतिसेयर आम्दानीको मापदण्ड २५ वटा बैंकले पार गरेका छन् । सिभिल बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र जनता बैंक भने यो मापदण्ड पार नगर्ने बैंकमा परेका छन् । चालू आर्थिक वर्षको पहिलो छ महिनाको विवरण अनुसार, यी बैंकहरुको प्रतिसेयर आम्दानी क्रमशः सात रुपैयाँ ३२ पैसा, नौ रुपैयाँ २४ पैसा, १२ रुपैयाँ १४ पैसा र १३ रुपैयाँ ९९ पैसा रहेको छ । जसअनुसार, यी ४ बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिफल पाउने सम्भावना न्यून हुन्छ । यी बैंकको सेयरमा लगानी गर्दा जोखिम धेरै हुन्छ । 
यसबाहेक, एनसीसी बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । बाँकी सबै बैंकहरुको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा माथि रहेको छ । सबैभन्दा धेरै प्रतिफल दिने क्षमता हुने बैंक नेपाल बैंक रहेको छ, जसको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा रहेको छ । नविल बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंक सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने पाँच बैंकभित्र परेका छन् । यी बैंकहरुको प्रतिसेयर आम्दानी क्रमशः ५६ रुपैयाँ ६९ पैसा, ४२ रुपैयाँ ९३ पैसा, ३९ रुपैयाँ ४८ पैसा र ३९ रुपैयाँ सात पैसा रहेको छ ।  
बैंक अफ काठमाण्डू लुम्बिनीको प्रतिसेयर अम्दानी २१ रुपैयाँ ३७ पैसा छ भने प्राइम कमर्सियल बैंकको २२ रुपैयाँ ५१ पैसा, सिटिजन्स बैंकको २२ रुपैयाँ ८१ पैसा, सनराइज बैंकको २३ रुपैयाँ, सानिमा बैंकको २३ रुपैयाँ ६५ पैसा, एनआईसी एसिया बैंकको २४ रुपैयाँ आठ पैसा, माछापूछ्रे बैंकको २४ रुपैयाँ ६६ पैसा र ग्लोबल आईएमई बैंकको २५ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा छ भने नेपाल बंगलादेश बैंकको २७ रुपैयाँ, सिद्धार्थ बैंकको २७ रुपैयाँ ७४ पैसा, कुमारी बैंकको २७ रुपैयाँ ९५ पैसा, एनएमबि बैंकको २८ रुपैयाँ ३१ पैसा, राष्ट्रिय वाणिज्य बैंकको २८ रुपैयाँ ७५ पैसा र कृषि विकास बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४९ पैसा रहेको छ । त्यसैगरी, हिमालयन बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १५ पैसा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ३६ रुपैयाँ ४१ पैसा र प्रभु बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ८२ पैसा रहेको छ ।
 
सबै बैंकको खराब कर्जा पाँच प्रतिशत मुनि
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ वटा बैंकहरु खराब कर्जा घटाउन सफल भएका छन् । एभरेस्ट बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, एनमएमबि बैंक, सिभिल बैंक, एनसीसी बैंकको र जनता बैंकबाहेक सबै बैंकहरुको खराब कर्जा घटेको हो । निजी बैंकहरूको तुलनामा धेरै खराब कर्जा राख्दै आएका सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकहरूको खराब कर्जा पनि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घटिरहेको छ ।
उक्त अवधिमा सानिमा बैंकको खराब कर्जा सबैभन्दा कम छ । यो बैंकको खराब कर्जा ०.०१ प्रतिशत मात्र छ । ०७२ पुसमा यस्तो कर्जा ०.०५ प्रतिशत थियो । बैंकले यो अवधिमा २२ लाख १७ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । यस्तै नेपाल एसबीआई बैंकले खराबकर्जा अनुपातलाई ०.१७ बाट घटाएर ०.१२ प्रतिशतमा झारेको छ । दुई करोड ६८ लाख ३६ हजार रुपैयाँ चालू आर्थिक वर्षको छ महिनामा बैंकले दुई करोड ६८ लाख ३६ हजार रुपैयाँ खराबकर्जा उठाएको थियो । त्यस्तै, सबैभन्दा कम खराबकर्जा हुने पाँच बैंकहरुको सूचिमा स्टान्डर्ड चार्टर्ड बैंक, माछापूछ्रे बैंक र सेञ्चुरी कमर्सियल बैंक अटाएका छन् । यीमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.२६ प्रतिशत र माछापूछ्रे बैंकको ०.३५ प्रतिशत रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको खराब कर्जा शुन्य दशमलव १९ प्रतिशतले घटेर शुन्य दशमलव ४७ प्रतिशत कायम भएको छ । 
मेगा बैंकको खराब कर्जा शुन्य दशमलव ४४ प्रतिशतले घटेर शुन्य दशमलव ६७ प्रतिशत कायम भएको छ । यो अवधिमा मेगाले पाँच करोड रुपैयाँ खराब कर्जा उठाएको छ । एभरेष्ट बैंकको खराबकर्जा शुन्य दशमलव ०३ प्रतिशतले बढेर शुन्य दशमलव ७० प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा पनि ०.७० प्रतिशत रहेको छ । एनआईसी एसिया बैंकको खराब कर्जा शून्य दशमलव ७२ प्रतिशत रहेको छ । नविल बैंकको खराब कर्जा शून्य दशमलव ९० प्रतिशत रहेको छ । यता, हिमालयन बैंक निष्कृय कर्जा ३.१६ प्रतिशतबाट ०.९४ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.०८ प्रतिशत रहेको नेपाल बंगलादेश बैंकको खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.९९ प्रतिशतमा झरेको छ ।
कुमारी बैंकको खराब कर्जा १.१४ प्रतिशत रहेको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको खराब कर्जा दुई दशमलव ४२ प्रतिशतले घटेर एक दशमलव ५१ प्रतिशत कायम भएको छ । सनराइज बैंकको खराब कर्जा भने शुन्य दशमलव नौ प्रतिशतले घटेर एक दशमलव ४० प्रतिशत कायम भएको छ । सिटिजन्स बैंकको एक दशमलव ३२ प्रतिशत रहेको छ । लक्ष्मी बैंकको खराबकर्जा १.३१ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको खराब कर्जा शुन्य दशमलव ०९ प्रतिशतले बढेर १.५० प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा पनि शुन्य दशमलव ०३ प्रतिशतले घटेर एक दशमलव ७१ प्रतिशतमा कायम भएको छ । त्यस्तै, एनएमबी बैंकको खराब कर्जा शुन्य दशमलव २२ प्रतिशतले बढेर एक दशमलव ८९ प्रतिशत पुगेको छ । प्राइम कमर्सियल बैंकको यस्तो कर्जा एक दशमलव ३६ प्रतिशत रहेको छ । यसबाहेक, जनता बैंकको खराब कर्जा एक दशमलव १९ प्रतिशतले बढेर दुई दशमलव ५७ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.४० प्रतिशतबाट २.७५ प्रतिशतमा झरेको छ । प्रभु बैंकले गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ । एनसीसी बैंकको खराब कर्जा एक दशमलव ३० प्रतिशतबाट बढेर चार दशमलव ८४ प्रतिशत पुगेको छ । सिभिल बैंकको खराब कर्जा दुई दशमलव ३१ प्रतिशतले बढेर चार दशमलव ४५ प्रतिशत पुगेको छ । कृषि विकास बैंकको खराब कर्जा ५.३६ प्रतिशतबाट ३.८२ प्रतिशतमा झरेको छ । नेपाल बैंकको खराब कर्जा ३.८५ प्रतिशतबाट २.८५ प्रतिशतमा झरेको छ । 


सबै बैंकहरु जोखिममुक्त
यो विवरण अनुसार, सबै बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गरेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई अधिकतम ५ प्रतिशतसम्म खराब कर्जा जोखिममुक्त मानिन्छ । यो अन्तर्राष्ट्रिय रुपमै रहेको मान्यता हो । जसअनुसार, खराबकर्जाका हिसाबले कुनै पनि बैंकहरु जोखिमयुक्त छैनन् । सबै बैंकले खरबकर्जा पाँच प्रतिशतभन्दा कम विन्दुमा कायम गरेका छन् । बैंकहरूले विगतबाट पाठ सिक्दै संयमित तरिकाले लगानी गर्न थालेका छन् भने नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्दै लगेको छ । फलस्वरुप, बैंकहरु बलिया हुँदै गइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]