February 19th, 2017

बहसमा ‘तरलता संकट’ : विज्ञ भन्छन् – ‘बैंकिङ कर्जा आक्रामक भयो’

बैंक तथा वित्तीय संस्थाले अन्धाधुन्ध रुपमा कर्जा प्रवाह गरेकाले लगानीयोग्य पुँजीको अभाव भएको विज्ञहरुले बताएका छन् । इन्स्टिच्ुट फर स्टार्टेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)द्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले ऋणको माग आउनेवित्तीकै बैंकहरुले विचारै नगरी लगानी गरेकाले लगानीयोग्य पुँजीको अभाव भएको बताएका हुन् । यस विषयमा राष्ट्र बैंकले पनि समयमा नसोचेको विज्ञहरुको आरोप छ । 

लगानी आक्रामक भयो, विश्वम्भर प्याकुरेल अर्थशास्त्री
राष्ट्र बैंकको पुँजीवृद्धिको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले आक्रमक ढंगले लगानी विस्तार गरेकाले लगानीयोग्य रकम अभाव भएको हो । बैंकहरुले यसरी कर्जा लगानी गरिरहँदा पनि राष्ट्र बैंकले त्यसलाई प्राथमिकता दिएन । यसकारण अहिलेको अवस्था आयो । यसको संकेत बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई तीन महिनाअघि नै दिइसकेका थिए । तर, राष्ट्र बैंकले ढिलो मात्र सुक्ष्म अध्ययन सुरु गर्यो । यसबाहेक, पछिल्ला वर्षहरुमा सरकारी निकाय (अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक लगायत) हरुबीचमा राम्रो समन्वय हुन नसक्दा पनि आर्थिक विकासमा बाधा सृजना भएको छ ।

लक्ष्यभन्दा बढी बैंकिङ कर्जा प्रवाह र सरकारी खर्च हुन नसक्नु मुख्य कारण, गोविन्द नेपाल, अर्थशास्त्री
बैंक तथा वित्तीय संस्थाले लक्ष्यभन्दा बढी कर्जा प्रवाह गरेको र अपेक्षित रुपमा सरकारी खर्च हुन नसेको कारण वित्तीय प्रणालीमा तरलता अभाव सृजना भएको हो । सरकारी निकायमा उच्च तहमा बसेका व्यक्तिहरु नै जवाफदेही हुन नसक्दा सरकारी खर्च बढ्न सकेको छैन । त्यस्तै, बजेट निर्माणमा समेत राजनीति हाबी हुने गरेकाले पनि सरकारी खर्च बढ्न नसकेको देखिन्छ । पछिल्ला वर्षहरुमा बहुवर्षीय आयोजनाहरुमा पैसा थुपार्ने प्रवृत्ति बढिरहेको छ ।

उच्च दरको कर्जा प्रवाह नै तरलता संकटको कारण, मदनकुमार दाहाल, अर्थशास्त्री
बैंकहरुले उच्च दरले कर्जा विस्तार गरेकाले तरलता अभाव भएको हो । तरलता अभावसँगै ऋण्को व्याजदर धेरै माथि पुगिसकेको छ । यसले गर्दा लगानी निरुत्साहित हुन सक्छ । त्यसैले, समयमा नै सचेत बन्नुपर्ने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]