February 19th, 2017

चार वित्तीय संस्थाको एक करोड ८१ लाख कित्ता हकप्रद सेयर आउँदै

कैलाश विकास बैंकले शुक्रबार अर्थात फागुन ६ गतेदेखि चैत्र १० गतेसम्मका लागि २० प्रतिशत हकप्रद सेयरको निष्काशन खुला गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने उक्त सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकको सबै शाखा कार्यालयबाट हप्रद भर्न पाइने र बैंकको पाँच कित्ता सेयर हुनेले एक क्रित्ता सेयर पाउने बताइएको छ । 

कैलाश विकास बैंकबाहेक चार वटा बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अन्तिम तयारीमा लागेका छन् । भार्गव विकास बैंक, डिप्रोक्स लघुवित्त, नेरुडे लघुवित्त र कुमारी बैंकले कुल एक करोड ८१ लाख ७१ दशमलव एक कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । चार वटै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाइसकेका छन् । हेरौँ, कुन संस्थाको कति हकप्रद सेयर कहिले आउँदैछ :

भार्गव विकास बैंक
भार्गव विकास बैंकले आागामी फागुन २४ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर आगामी ११ गतेसम्म कायम सेयरधनीका लागि जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

डिप्रोक्स लघुवित्त विकास बैंक
डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ । बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

नेरुडे लघुवित्त विकास बैंक
नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । नेरुडेले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरका नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट हकप्रद र बोनस दुबै प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर र बोनस सेयर वितरण गरिसकेपछि नेरुडे लघुवित्तको चुक्तापुँजी ३० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कुमारी बैंक
कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]