February 19th, 2017

८८ वित्त कम्पनी, खुम्चिदै दुई दर्जनमा  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी चार गुणाले बढाउन निर्देशन दिएपछि ती संस्थाहरु चुक्ता पुँजी वृद्धिको कसरतमा छन् । खासगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने व्यवस्था गरेको छ । त्यसमा वाणिज्य बैंकले अर्बमा र वित्त कम्पनीले करोडमा बढाउनु पर्नेछ । यसमा अधिकांश वाणिज्य बैंकहरु आठ अर्ब चुक्ता पुँजी नजिक देखिएका छन् भने विकास बैंकहरु पनि चुक्ता पुँजी पुर्याउने दौडधूपमै छन् । 
विकास बैंकका साथै वित्त कम्पनीहरुलाई पनि चुक्ता पुँजी पुर्याउनुपर्ने दबाब छ । राष्ट्रियस्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । 

वित्त कम्पनीका लागि प्रतिष्पर्धी बजार 
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । किनभने अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले पनि गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् । 

पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । कतिपय फाइनान्स कम्पनीहरु एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् । 
हालैमात्रै राष्ट्रिस्तरको लुम्बिनी जनरल फाइनान्स एण्ड लिजिङ कोअपरेटिभ लिमिटेडले राष्ट्रिय स्तरकै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको छ । तर यहाँ भने दुवै संस्था शक्तिशाली छन् । भिबोर सोसाइटी पनि अढाई अर्ब चुक्ता पुँजी पुर्याउँदै गरेको विकास बैंक हो भने लुम्बिनी जनरल फाइनान्स पनि चुक्ता पुँजीको हिसाबले अब्बल नै मानिन्थ्यो । 

केही महिनाअघि ललितपुरमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्स र भक्तपुरमा केन्द्रीय कार्यालय रहेको भक्तपुर फाइनान्सले पनि मर्जरमा जाने सहमति गरिसकेका छन् । अब राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको प्रतिक्षामा छन् । हाल सेन्ट्रलको चुक्ता पुँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ भने भक्तपुरको २१ करोड ८४ लाख रुपैयाँ छ । मर्जरपछि सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ६ लाख रुपैयाँ हुनेछ । यी त हालैका केही उदाहरण मात्रै हुन्, मध्यमस्तरका धेरै फाइनान्सहरु ठुला बैंकमा गाभिसकेका छन् । कतिपयले आफुजस्तै अर्को संस्थासँग मर्जरका लागि आवेदन दिएर केन्द्रीय बैंकको स्वीकृतिको अपेक्षा गरिरहेका छन् । 

८८ फाइनान्स २८ मा खुम्चिए 
तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर अहिले ती फाइनान्स घटेर २८ वटामा झरेका छन् । यीमध्ये अझै केही मर्जर वा एक्विजिसनमा जाने क्रममा छन् भने कतिपय राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेका कम्पनीहरु पनि छन् । 

दुई दर्जनमा खुम्चिदै वित्त कम्पनी 
नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम २८ वित्त कम्पनीमध्ये अझै केही घट्न सक्ने देखिएको छ । यीमध्ये आधा दर्जनको हाराहारीमा घट्न सक्ने वा दुई दर्जनको हाराहारीमा वित्त कम्पनी कायम हुन सक्ने अनुमान गरिएको ती अधिकारीले सुनाए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]